+
+

बधशालाको अव्यवस्थाले भान्सामा गुणस्तरहीन मासु, सहरमा भैंसी आतंक

अमृत चिमरिया अमृत चिमरिया
२०८० भदौ ९ गते १७:२४

९ भदौ, काठमाडौं । बुधवार काठमाडौंको व्यस्त बुद्धनगर सडकमा कुनै हिंसात्मक जनावरले होइन, घरपालुवा भैंसीले आतंक मच्चायो । प्रहरीको अनुमानअनुसार काट्न ठिक्क पारेको भैँसी फुत्केर सडकमा आइपुगेपछि आक्रमणको डरले सहरबासीहरुमा त्रास फैलियो । प्रहरीले माइकिङ गर्दै सर्वसाधारणलाई सचेत बनाउनु परेको थियो ।

राजधानी उपत्यकामा एकै दिनमा मासुका लागि हजारौं भैंसी, खसीबोका, सुँगुर-बंगुरको बध गरिन्छ । तर, सरकारले तोकेको मापदण्डअनुरुपको एउटा पनि बधशाला नहुँदा राजधानीकै जनता कम गुणस्तरको मासु खपत गर्न बाध्य मात्रै छैनन्, बेलाबेलामा यस्ता आतंक पनि फैलने गरेको छ ।

यसअघि ०७१ साल मंसिरमा बुद्धनगरमा रहेको हृयाम्स अस्पतालभित्र यसैगरी भैँसी प्रवेश गरेर आतंक मच्चाएपछि प्रहरीले गोली हानेर मारेको थियो । २०७५ फागुनमा काठमाडौं चन्द्रागिरिको मच्छेगाउँमा एउटा राँगोले आक्रमण गर्दा एक व्यक्तिको मृत्यु भएको थियो । उक्त राँगोलाई लखेट्दै दहचोक पुर्‍याएर प्रहरीले गोली हानेर मारेको थियो । यसैगरी २०७६ असोजमा काठमाडौंको न्युरोडमा र २०७९ साउनमा चन्द्रागिरि नगरपालिकाकै गोदामचौरमा आतंक मच्चाएका राँगाहरुलाई प्रहरीले गोली हानेर मारेको थियो ।

काठमाडौं उपत्यकामा दैनिक ४ लाख वटा कुखुराको मासु बिक्री हुन्छ । त्यसपछि करिब ७ सय राँगाभैंसी काटिने गरेका छन् । खसीबोका १ हजारसम्म खपत हुने काठमाडौंमा ५ सयभन्दा धेरै सुँगुर-बंगुर खपत हुन्छ । तर, ती पशुको बध गर्न हुने काठमाडौंमा गतिलो बधशाला भने कतै पनि छैन ।

देशभरि कानुनी रुपमा मापदण्डअनुसार बधशाला नै नरहेको कृषि तथा पशुपन्छी मन्त्रालयका सहायक प्रवक्ता डा. तपेन्द्र विष्ट बताउँछन् । काठमाडौं र ललितपुर महानगरपालिकामा केही बधशाला सञ्चालनमा छन् तर तिनीहरु अहिलेसम्म दर्ता दुवै महानगरले जानकारी दिएका छन् ।

टेकुको ह्युमत बधशालामा निर्माण गर्न काठमाडौं महानगरले सहयोग गरे पनि पशु बधशाला तथा मासु जाँच ऐन २०५५ अनुसारको मापदण्ड पूरा नभएकाले दर्ता हुन नसकेको महानगरका कृषि तथा पशुपक्षी विभाग प्रमुख डा. अवधेशकुमार झाले बताए ।

महानगरले सहयोग गरेको ह्युमत बधशालामा शुक्रबार बिहान अनलाइनखबर पुग्दा १५ वटा भैंसीको बध भइसकेको थियो । जिउँदा भैंसीकै अगाडि हम्मरले टाउकोमा हानेर मारेपछि काटिएको थियो । ‘हामीले मार्ने शैली नै यही हो । पशु मार्ने नयाँ शैली आएको छैन, टाउकोमा हम्मरले हानेर नै मार्ने हो, त्यसपछि काट्छौं,’ पशु बध गर्ने कार्यमा संलग्न एक कामदारले भने ।

पशुबध गर्ने शैलीमात्रै होइन, मासु व्यवस्थापनको पनि अत्यन्तै भद्रगोल देखिन्थ्यो । मासु काटेर पसल-पसलमा पठाइसकेपछि टुक्र्याउने ठाउँ पानीले पखाले पनि हड्डी, छाला, रगत यत्रतत्र देखिन्थ्यो । धेरै पशु बध गरिने भीमसेनस्थानका बधस्थलहरुको अवस्था झनै दर्दनाक रहेको महानगरका अधिकारीहरु बताउँछन् ।

नेपाल माछामासु व्यवसायी संघका केन्द्रीय अध्यक्ष रमेश खड्गीले आफ्नै निजी घर-आंगन, कम्पाउण्ड, खाली जमिनमा पशुको काटमार गर्न बाध्य भएको बताए । ‘सरकारी तवरबाट कुनै पनि ठाउँ तोकिएको छैन, आफ्नो किसिमले परम्परागत ढंगले काटमार गर्दा कहिलेकाहीँ पशु फुत्केर सडकमा आउने गरेका छन्,’ खड्गी भन्छन् ।

राँगा, भैंसी, खसी-बोका, बंगुर, कुखुराको मासु बेच्ने पसलको संख्या काठमाडौंमा २ हजार ५ सयभन्दा धेरै भएको खड्गीको भनाइ छ । ‘हामीले पशुपक्षी मन्त्रालय, काठमाडौं महानगरलगायत स्थानीय तहहरुलाई बारम्बार बधशाला बनाउनुपर्ने विषयमा झक्झक्याइरहेका छौं, बरु हामी पनि लगानी गर्न तयार छौं भन्दा सरकारले सम्बोधन गरेको छैन,’ खड्गीले गुनासो गरे ।

सरकारले तरकारी बजारलाई चाहिँ जग्गा दिने, पशुपक्षी काटमार गर्न चाहिँ स्थान नदिने दोहोरो मापदण्ड अपनाएको उनको भनाइ छ । ‘हामीलाई राज्यले नै विभेद गरेको छ,’ उनले भने । काठमाडौंमा नयाँ मेयर बालेन्द्र साह (बालेन)आइसकेपछि भेट्न जाँदा भेट्नै नपाएको उनले बताए ।

व्यवस्थित बधशाला नहुँदा पशुपक्षीलाई यातना दिएर मार्ने पुरानो शैलीमा पनि सुधार हुन नसकेको खड्गीले स्वीकार गरे ।

काठमाडौं महानगरपालिकाले व्यवस्थित बधशाला नहुँदा पशु बध गर्ने स्थानहरुमा ‘महाबिजोग’ रहेको बताउँछन् । कानुनी रुपमा दर्ताबिना नै मासु सप्लायर्सहरुले पसलहरुमा मासु पुर्‍याइरहेको महानगरले जनाएको छ । ‘पशु बधशाला तथा मासु जाँच ऐन २०५५ मा ऐन बन्यो, ०५७ मा नियमावली आयो तर अहिलेसम्म कार्यान्वयन भएको छैन,’ कृषि तथा पशुपक्षी महाशाखा प्रमुख डा. झाले भन्छन् ।

तर, बधशाला निर्माण गर्नुपर्ने दायित्व रहेको महानगरले अहिलेसम्म त्यसको पहल नै गरेको छैन । काठमाडौं महानगरभरि केन्द्रीकृत रुपमा बधशाला सञ्चालन गर्ने स्थान नै नपुग्ने डा. झा बताउँछन् । ‘पशु बध र मासु जाँचको लागि बनेको ऐन अनुसार अहिले निजी तवरबाट सञ्चालन भइरहेको बधशालाहरुको मापदन्ड नै पुग्दैन, तर तिनलाई हटाइहाल्न सक्ने स्थिति पनि छैन,’ उनले भने ।

महानगरपालिकाले १९ नम्बर वडाको विष्णुमति करिडोर छेउछाउका बधशालाहरु सुधार गर्ने योजना बनाएको उनले बताए । ‘त्यही क्षेत्रमा व्यवसायीले चलाएका १५ वटा भन्दा धेरै ठूला बधशाला छन्, ४० भन्दा धेरै साना कोठे बधशालाहरु रहेका छन्, तर एउटा पनि बधशाला भनेर दर्ता छैन पहिले त्यहाँ ऐन कार्यान्वयन गर्ने प्रयास गर्छौं’ उनी भन्छन् ‘तर यो काम कठिन हो, सोचेअनुसार काठमाडौंमा बधशाला व्यवस्थापन गर्न सजिलो छैन । ‘

ललितपुरमा पनि छैन बधशाला

काठमाडौं जस्तै ललितपुर महानगरपालिकामा पनि बधशाला छैन । व्यवसायीहरुले चलाएका केही बधस्थलहरु रहेका छन् । तर सबै गैरकानुनी रुपमा चलिरहेको पशुपक्षी विकास महाशाखाका प्रमुख डा. अमर राय बताउँछन् ।

ललितपुरमा पनि ऐनको मापदण्डअनुरुप बधशाला सञ्चालन गर्न गाह्रो रहेको उनको भनाइ छ । कानून लागु गर्ने हो भने ललितपुरमा निजी तवरमा चलिरहेका सबै बधशाला बन्द हुने डा. रायले बताए । ‘त्यसको मारमा उपभोक्ता नै पर्छन्, त्यसकारण महानगरले कडा कदम चाल्न सकेको छैन,’ उनले भने ।

महानगरले बधस्थलहरुलाई दर्ता गर्न आउन आह्वान गरेकोमा अहिलेसम्म कुनै पनि नआएको उनले बताए । चालु आवमा ललितपुर महानगरपालिकाले १५ लाख रुपैयाँ बधस्थल सुधारका लागि बजेट छुट्याएको छ ।

केही वर्षअगाडि संघीय सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले काठमाडौं उपत्यकामा एकीकृत बधशाला निर्माण गर्ने योजना ल्याएको थियो । ५-६ वर्ष अगाडि देखि एकीकृत बधशालाको प्रसंग आएपनि कार्यान्वयन नभएको मन्त्रालयका सहप्रवक्ता डा. तपेन्द्र विष्टले बताए ।

‘काठमाडौं उपत्यकामा बनाउने कुरा अघिल्ला वर्षहरुमा चलेको थियो, यो पटक बजेटमा उक्त कार्यक्रम नै छैन,’ उनले । मापदण्ड र काुननअनुसार देशभरि कतै पनि बधशाला नभएको उनले बताए ।

संसद्ले २५ वर्षअघि नै पशु बधशाला र मासु जाँच ऐन २०५५ बनाएको थियो । त्यस्तै, नियमावली २०५७ मा बनेको थियो । तर, अहिलेसम्म पनि ती कार्यान्वयन हुन सकेका छैनन् ।

पशु बधशाला र मासु जाँच नियमावली २०५७ अनुसार पशु बधशालाको मापदण्ड

(क) वध गर्न ल्याइएका पशुहरुको स्वास्थ्य परीक्षण गर्नु अघि र स्वास्थ्य परीक्षण गरी वध गर्न योग्य पशु राख्ने छुट्टा छुट्टै स्थानको व्यवस्था भएको,

(ख) विरामी पशु राख्ने अलग्ग स्थानको व्यवस्था भएको,

(ग) वध गर्नुभन्दा अघि पशुको स्वास्थ्य परीक्षण (एन्टिमोर्टम एक्जामिनेशन) गर्नको लागि आवश्यक स्थानको व्यवस्था भएको,

(घ) वध गर्नु भन्दा अघि वेहोस बनाउने (स्टनीङ्ग), वध गरेपछि रगत निर्थोर्ने -ब्लिडिङ्ग), छाला काड्ने, खुइल्याउने, मासु सफा गर्ने तथा आन्द्रा भुंडी तह लगाउने र सफा गर्ने छुट्टै स्थानको व्यवस्था भएको,

(ङ) पशु वध गरिसकेपछि मासु परीक्षण -पोष्टमार्टम एक्जामिनेशन) गर्ने र मानिसले उपभोग गर्न अयोग्य मासु (कन्डेड मिट) तह लगाउने स्थानको व्यवस्था भएको,

(च) आवश्यक मात्रमा चिसो तथा तातो पानीको व्यवस्था गरिएको,

(छ) वध गर्न ल्याइएका पशु बाहेक अन्य कुनै पनि पशु प्रवेश गर्न नसक्ने गरी निर्माण गरिएको,

(ज) पशु वधशालाभित्र काम गर्ने कोठाहरुमा आवश्यक मात्रमा प्रकाश र स्वच्छ हावा आउने गरी व्यवस्था मिलाइएको,

(झ) पशुको स्वास्थ्य परीक्षण गर्ने स्थान, वध गरिने स्थान, मासु परीक्षण गर्ने स्थानको भूई सजिलैसँग सफा गर्न सकिने, पक्की, पानी नसोस्ने र ढल निकासको समुचित व्यवस्था मिलाएको,

(ञ) पशु वधशालामा आˆनो पशुको वध गरेको हेर्न चाहनेका लागि पशु वध गरिने स्थानमा प्रवेश नगरीकन यस्तो कार्य हेर्न सकिने व्यवस्था मिलाइएको,

(ट) मासु सुरक्षितसाथ राख्नको लागि अवश्यक शीत भन्डारको व्यवस्था भएको,

(ठ) बध गरिने पशु ओसार पसार गर्न प्रयोग गरिने सवारी साधन राखिने स्थान पक्की, सजिलैसँग सफा गर्न सकिने र वधशाला भन्दा अलग्ग निर्माण गरिएको,

(ड) पशु वध गरिने स्थानमा,

(१) टेवुलको सतह खिया नलाग्ने भएको,

(२) मासु झुण्डयाउन प्रयोग हुने रेल (मिट रेल्स) ग्याल्भेनाइज्ड नगरिएको,

(३) अचानो बाहेक अन्य वेञ्च र टेवुलको सतहमा काठ प्रयोग नगरिएको,

(४) वध गरिएको पशु झुण्डयाउन आवश्यक पर्ने घिर्नी (पुल्ली), अंकुश (हुक) तथा डोरीको व्यवस्था गरिएको,

(५) प्रयोग गरिने हतियार, औजार तथा उपकरण खिया नलाग्ने किसिमको भै निर्मलीकरण

(स्टेरिलाइजेशन) गर्ने सुविधा भएको ।

(ढ) पशु वध गरिने स्थानमा देहायका सामग्रीहरु प्रयोग गनै पाइने छैन : – (१) तामा र सो मिसिएको ढलौट तथा क्यामियम प्रयोग गरिएको हतियार तथा उपकरणकहरु,

(२) पालिस वा इनामेल लगाइएका भाँडा, हतियार तथा उपकरणहरु,

(३) शिशा (लिड) युक्त भाडा तथा उपकरपणहरु ।

(ण) देहायका पशु वध गर्ने स्थान छुट्टा छुट्टै हुनु पर्नेछ :-

(१) भेडा / बाखा / च्याङ्ग्रा

(२) रांगो / भैसी

३ बुंगुर/सुंगर

(४) पंक्षी जाती

(२) पशु वधशालाभित्र प्रवेश गर्ने व्यक्तिले व्यवस्थापनद्वारा निर्धारित पहिरन
र जुत्ता (रबर बुट) लगाएर मात्र प्रवेश गर्नु पर्नेछ ।

(३) क्षयरोग, छाला सम्बन्धी रोग तथा अन्य संक्रामक रोग लागेको व्यक्तिलाई पशु बधशालाभित्र प्रवेश गर्न वा कार्य गर्न दिइने छैन ।

(४) पशु वधशालामा पशु वध गर्ने कार्य समाप्त भएको आठ घण्टाभित्र वध गरिएको पशुको मल, मुत्र, रगत, भुत्ला जस्ता खेरजाने भाग तथा फोहर मैला उपयुक्त तरीकाले हटाउने, नष्ट गर्ने वा तह लगाउने कार्य गर्नु पर्नेछ ।

(५) पशु वधशालामा वध गरिने प्रत्येक पशुलाई पहिचान गर्न सक्ने गरी पहिचान चिन्ह दिनु पर्नेछ ।

(६) पशु वधशालाभित्र प्रयोग भएका कपडा, हतियार वा औजार क्षयरोगको शंका गरिएको पशुको मासुमा प्रयोग भएकोमा आधा घण्टासम्म लुगा धुने सोडा राखिएको पानीमा उमालेर मात्र पुनः प्रयोगमा ल्याउनु पर्नेछ ।

(७) वध गरिएको पशुको कुनै पनि अंग र झिल्ली जस्तो पदार्थ (सेरस मेम्ब्रेन) मासु निरीक्षकले निरीक्षण नगरेसम्म शरीरबाट छुट्याउन पाइने छैन ।

(८) वध गरिएको पशुको मासुमा देखिएको कुनै रोगको पहिचन वा चिन्ह मासु निरीक्षकको आदेश बिना पानीले धोएर, पुछेर, खुर्केर वा अन्य कुनै तरिकाबाट हटाउन पाइने छैन ।

(९) पशु वधशालाभित्र काम गर्ने व्यक्तिको प्रत्येक छ / छ महिनामा स्वास्थ्य परीक्षण गराई निरोगिताको प्रमाणपत्र मासु सुपरीवेक्षक समक्ष पेश गर्नु पर्नेछ ।

तस्वीरः आर्यन धिमाल/अनलाइनखबर

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?