
९ भदौ, काठमाडौं । राष्ट्रिय जनमोर्चाले धरान लगायत पूर्वका केही जिल्लामा सामाजिक सद्भाव कायम राख्न दमनको सहारा नलिन आग्रह गरेको छ ।
अध्यक्ष चित्रबहादुर केसीले शनिबार एक विज्ञप्ति जारी गरी समाजिक सद्भाव कायम राख्न प्रशासन वा दमनको सहारा नलिन र आपसी सम्झाई बुझाई र संवादको माध्यमबाट समस्या समाधान गर्न आग्रह गरेको हो ।
‘…ती जिल्लाका विभिन्न धर्मावलम्बी तथा जातजातिका स्थानीय बासिन्दाहरुले आपसी सामाजिक सद्भाव कायम राख्न र त्यसलाई बिथोलिन नदिन अपिल गर्दछौँ’ केसीले विज्ञप्तिमा भनेका छन्, ‘सरकारलाई पनि सामाजिक सद्भाव कायम राख्न प्रशासन वा दमनको साहारा नलिन आपसी सम्झाई बुझाई सम्वादको माध्यमद्वारा समस्यालाई समाधान गर्न जोड दिन्छौँ ।’
बहुधर्म, बहुभाषा तथा बहुसंस्कृति भएको मुलुकमा यिनीहरु बीचको आपसी एकताले नै राष्ट्रिय एकता र अखण्डताको रक्षा गर्न सकिने राष्ट्रिय जनमोर्चाले बताएको छ ।
तर केही साम्राज्यवादी शक्तिहरुले नेपालमा जातजातिका बीच द्वन्द्व र अन्तरविरोध पैदा गराएर एक आपसमा लडाएर सार्वभौमसत्ता र अखण्डतालाई कमजोर पार्न षड्यन्त्र गरेको अध्यक्ष केसीले विज्ञप्तिमा जनाएका छन् । ‘त्यसप्रति हामी सबैले गम्भीरतापूर्वक ध्यान दिएर नेपाललाई विखण्डनको दिशामा लैजाने साम्राज्यवादी षड्यन्त्रका विरुद्ध सतर्क हुनपर्नेमा जोड दिन्छौँ’, विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया 4