
दक्षिणकोरियामा ड्रामा तथा फिल्महरूमा देखाइए जसरी हिउँदमा प्रायः सबै क्षेत्रहरूमा मज्जाले हिउँ पर्छ। गर्मीयाममा भने प्रचुर मात्रामा गर्मी हुने गर्छ। स्कुल, कलेज, विश्वविद्यालय, अफिस तथा कम्पनीहरूले जुलाईको अन्त्यदेखि अगस्टको पहिलो या दोस्रो हप्ताबीच पारेर गर्मी बिदा दिने गर्छन्।
गर्मी छल्नको निमित्त समुद्रको किनारा जाने, पहाड चढ्न जाने, विभिन्न वाटरपार्क तथा अम्युजमेन्ट पार्कहरूमा पानी खेल्न जाने चलन छ। यसै सेरोफेरोमा गर्मी बिदाको अवसर पारेर उत्तरकोरिया र दक्षिणकोरियाको सिमाना हेर्न जाने विचारले हाम्रो कम्पनीको सानो समूहले तयारी गर्यो। हामी कोरियन भाषामा फुग्हान भनिने उत्तरकोरिया चियाउन दक्षिणकोरियाको उत्तरी प्रान्त खाङ्वन्दोतिर लम्कियौं।
सिङ्गो कोरियन प्रायद्वीपलाई लगभग–लगभग बीचैमा पारेर उत्तर र दक्षिणकोरियाको सीमा खिचिएको छ। यसलाई डीएमजी अर्थात् डिमिलिटराइज्ड जोन भनिन्छ। जसले दुई देशबीच बफर जोनको रूपमा काम गर्ने गर्दछ।
लगभग २५० किलोमिटर लामो तथा चार किलोमिटर चौडा उक्त सीमाक्षेत्र अवलोकन गर्न सकिने दक्षिणकोरियाका केही सीमित स्थलहरूमध्ये उत्तरी प्रान्त खाङ्वन्दोको छर्वनमा रहेको छर्वन पिस अब्जर्भेटरी पनि एक हो। यो राजधानी सउलबाट उत्तरतिर करिब डेढ/दुई घन्टाको दूरीमा अवस्थित रहेको छ। हामी ठूलो उत्साह र थोरै संशय सहित लाग्यौं उत्तरतिर।
मोहम्मद युनुससँग हात मिलाउँदा
विश्व शान्तिको कामना गर्दै मानवताको सन्देश दिने अभिप्रायस्वरूप उत्तर–दक्षिणको सीमा क्षेत्रमा द वर्ल्ड पिस बेल पार्क बनाइएको रहेछ। सीधै दुई कोरियाको सिमाना हेर्नुपूर्व त्यसको अवलोकन गर्ने रहर जाग्यो।
पहाडको भित्तामा निर्मित उक्त शान्ति बगैंचा तलदेखि नै सुन्दर देखिंदोरहेछ। नागबेली बाटो फनफनी घुम्दै हामी त्यहाँसम्म पुग्यौं। एउटा विशाल घण्टी आकर्षणको केन्द्रको रूपमा निर्माण गरिएको रहेछ। केही साथीहरू ठट्टा गर्दै थिए, ‘रवि लामिछाने दाइले यो घण्टी देख्थे भने कति खुसी हुँदा हुन्।’
त्यहाँ विश्व शान्तिको निमित्त भूमिका खेलेका नोबेल शान्ति पुरस्कार विजेताका तस्वीरहरू लहरै राखिएको रहेछ। साथै, हात मिलाउन मिल्ने गरी कृत्रिम हातहरू बनाइएका रहेछन्। मैले पनि सुप्रसिद्ध बंगलादेशी सामाजिक अर्थशास्त्री मोहम्मद युनुससँग हात मिलाउँदै एक तास फोटो खिचेँ, खिचिक्क।
शान्ति बाँधको रोचक कथा
सीमा क्षेत्रमा निर्मित ‘फ्यङ्ह्वा-ए देम’ भनिने पिस ड्यामको चर्चा पहिलेदेखि नै सुन्दै आएका थियौं। त्यहीं पुगेर हेर्दा निकै गजबको अनुभूति भयो। शान्तिको सन्देश बोकेको यस शान्ति बाँधको कथा झनै रोचक रहेछ। उत्तरकोरिया हुँदै दक्षिणतिर बग्ने फुग्हान नदीमा उत्तरकोरियाले सन् १९८६ देखि २००३ सम्म समय खर्चेर ईम्नाम ड्यामको निर्माण गर्यो। यो ड्याम अत्यन्तै विशाल भएकोले दक्षिणकोरियाको निमित्त प्राकृतिक प्रकोपको हिसाबले मात्र नभई सामरिक हिसाबले समेत खतरापूर्ण थियो।
उत्तरकोरियाले उक्त ड्याम खोलिदिएर ‘पानी आक्रमण’ गर्यो भने दक्षिणकोरियाको राजधानी सउलमा ठूलो बाढी पस्ने खतरा थियो। त्यसैले यस चुनौतीको सामना गर्न दक्षिणकोरियाले पनि सन् १९८६ मै प्रतिरोधात्मक ड्यामको निर्माण सुरु गर्यो।
सन् २००५ मा निर्माण सम्पन्न भएको त्यही ड्यामलाई नै पिस ड्याम भनिन्छ। कथंकदाचित उत्तरकोरियाले उसको ड्याम खोलिदियो भने पानी बग्दै आएर दक्षिणकोरियाको पिस ड्याममा जम्मा हुन्छ र पानी नियन्त्रणमा लिन सकिन्छ।
मलाई भने हाम्रै गाउँघरमा पाइने धनजिते र गुमानेको कथा जस्तै कुनै यथार्थपरक चलचित्र हेरे जस्तै अनुभूति भयो, जहाँ माथिल्लो पाटो खेत हुने कुनै छिमेकीले तल्लोपाटो खेत हुने अर्को छिमेकीको खेतमा मध्यराति गएर भल पसाइदिन्छ।
दूरबिनले देखिएको उत्तरकोरिया
अन्तत: हाम्रो मुख्य गन्तव्यमा पुग्यौं। यता दक्षिणकोरियापट्टि हामी उभिएका थियौं। बीचमा काँडेतारका अग्ला–अग्ला बार थिए। उतापट्टि उत्तरकोरियाका हरिया फाँटहरू, खेतीपाती र वनजंगलहरू देखिन्थे।
भुइँबाट हेरेको चित्त नबुझेपछि हामीहरू छर्वन पिस अब्जर्भेटरी भनिने अग्लो टावरमाथि चढ्यौं। त्यहाँ दूरबिनको व्यवस्था गरिएको रहेछ। मैले पनि एउटा दूरबिन समाएँ। दूरबिनको फोकस मिलाउनु पनि आफैंमा एउटा ढंग नै रहेछ। केही समय त त्यही ढंग मिलाउनै लाग्यो।
बल्लतल्ल दृश्यहरू धमिलोबाट सङ्लो स्पष्ट हुँदै गए। हतियारधारी उत्तर कोरियन सैनिकहरू स–साना देखिए। रुखको सिंयालमुनि केही किसानहरू खेतीको काम गर्दै गरेका देखिए। सायद घाँस फाँड्दै थिए। चल्मलाइरहेका थिए।
निकै पर छिटपुट घरहरू देखिन्थे। सायद ती सैनिकहरूका आवास हुँदा हुन्। केही ठाउँमा उनीहरूका झन्डा फहराइरहेका देखिन्थे। मुख्यतया दूर–दूरसम्म काँडेतारका बार नै देखिन्थे।
उत्तरकोरियाको सिमानामा उभिएर हेर्दा जम्मा देख्न सकिने भनेको केही जना हतियारधारी सैनिक, चल्मलाइरहेका केही मान्छे, केही थान झन्डा, रुखबिरुवा, काँडेतारका लामा लामा छेकबार र स–साना सेल्टरहरू, बस् त्यति थिए।
मैले गुनासो पोखें। सँगै गएको साथीले नराम्ररी झपारे, ‘के तँलाई तेरो दूरबिनमा स्वयम् किम जोंग उन आएर लुङ्गी डान्स, लुङ्गी डान्स भन्दै नाच्दिनु पर्यो ?’
मुखभरीको जवाफ पाएपछि चुप लागें।
बडो उत्साही मन लिएर सीमा अवलोकन गर्न आएको मान्छे फर्कने बेलामा भने मन अमिलो भएर आयो। मैले देखें छेवैमा उभिएका कोरियनहरूका रसाइरहेका आँखा। एकै जाति, एउटै भाषा आफ्नै देश यसरी दुई भागमा विभक्त भएको देखेर तिनका मन नराम्ररी कुँडिएको हुनुपर्छ।
मैले देखें, माथि बादलको लामो एक शृङ्खला जसको आधा भाग उत्तरपट्टिको आकाशमा थियो र अर्को आधा भाग दक्षिणपट्टिको आकाशमा। यो बादल कुन देशको होला ? मन खिन्न भएर आयो।
भगवानसँग यही प्रार्थना गरें कि मेरो देश नेपाल युग–युगान्तरसम्म अखण्ड र सार्वभौम रहिरहोस्। अवलोकन गर्न बनाइएको कुनै अग्लो भवनबाट आफ्नै देशको बाँकी भूभाग दूरबिनले हेर्नुपर्ने दिन कहिल्यै नआओस्।
आफ्नै भूमिमा आफू एकातिर उभिएर अर्कातिर बाँचिरहेका आफन्तहरूलाई रमिते मानेर हेर्नुपर्ने त्यस्तो कुनै युग बिन्ती कहिल्यै नआओस्।
(खोटाङका राई अहिले दक्षिणकोरियामा कार्यरत छन्।)
प्रतिक्रिया 4