+
+

सत्ता गठबन्धनले बारम्बार संविधान उल्लंघन गरिरहेको छ : झलनाथ खनाल

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ९ गते १७:५१

९ भदौ, काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले सत्ता गठबन्धनले बारम्बार संविधान विपरीत काम गरेको टिप्पणी गरेका छन् ।

शनिबार काठमाडौंमा पार्टी स्थापना दिवसको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधानको रक्षा गर्ने भन्ने गठबन्धनले नै बारम्बार संविधान मिचेको बताएका हुन् ।

‘हामी संविधानको रक्षा गर्ने भन्छौं, तर संविधानको रक्षा गर्ने हाम्रो जो गठबन्धन छ, त्यही गठबन्धनले नै संविधानको एकपछि अर्को उल्लंघन गरिरहेको छ भनेर सर्वोच्च अदालतले फैसला दिइरहेको छ, कोशीमा मात्रै दुईचोटी संविधानको उल्लंघन भयो भनेर सर्वोच्च अदालतले फैसला दिइरहेको छ’, उनले भने ।

कोशीमा सभामुखको समर्थनमा मुख्यमन्त्री नियुक्त हुँदा ११ साउनमा सर्वोच्च अदालतले उद्धव थापाको पद खारेज गरिदिएको थियो । त्यसपछि सभामुखलाई राजीनामा गराएर उनकोसमेत समर्थन लिएर पुनः मुख्यमन्त्री भएका थापाले विश्वासको मत लिँदा प्रदेशसभाको अध्यक्षता गर्ने व्यक्तिको समेत मत लिएका थिए ।

मुख्यमन्त्रीले पुनः संविधान उल्लंघन गरेको भन्दै एमालेले दिएको रिटमा बिहीबार सर्वोच्च अदालतले सभाध्यक्षको मत लिनु संविधानसम्मत भन्न नमिल्ने आदेश गरेको थियो ।

एकीकृत समाजवादीका नेतासमेत रहेका खनालले यो विषयमा पार्टीले स्पष्ट धारणा राख्नुपर्ने बताए ।

‘हाम्रो पार्टीले कस्तो धारणा राखिरहेको छ, हाम्रो पार्टी क्लियर हुनुपर्छ, हामी गठबन्धनको नाउँमा उनीहरुले गरेका गलत कामको शिकार हुनुहुँदैन । हाम्रो पार्टीले आफ्नो स्वतन्त्रतालाई कायम राखेर अगाडि बढ्नुपर्छ’, उनले भने ।

खनालले पार्टी स्थापनाको तीन वर्ष पनि नपुगेको र सबैभन्दा ठूलो पार्टी बन्ने सम्भावना रहेको भन्दै नीतिगत विषयमा अहिलेदेखि प्रष्ट हुँदै जानुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?