
९ भदौ, काठमाडौं । नेकपा एमालेले सार्वजनिक लेखा समितिको सभापतिमा ऋषिकेश पोखरेललाई उम्मेदवार बनाउने भएको छ ।
संसदीय समितिहरुको सभापति चयन भोलि हुनेछ । प्रमुख दलहरुबीच भएको भागवण्डाअनुसार प्रमुख प्रतिपक्षी नेकपा एमालेले तीन वटा समिति बनाउनेछ ।
त्यसमध्ये लेखा समितिमा मोरङ २ बाट प्रत्यक्ष निर्वाचित पोखरेललाई उम्मेदवार बनाउने एमालेको तयारी छ । लेखा समिति सभापतिमा सचिव योगेश भट्टराई र पूर्वमन्त्री गोकुल बास्कोटा पनि आकांक्षी थिए । तर अध्यक्ष ओलीले यसअघि अवसर नपाएका पोखरेललाई बनाउने बताएका छन् ।
महिला बालबालिका तथा सामाजिक मामिला समितिको सभापतिमा भने एमालेले किरण साहलाई उम्मेदवार बनाउने भएको छ ।
रौतहट २ बाट स्वतन्त्र जितेका उनले एमाले प्रवेश गरेका थिए । स्रोतका अनुसार उनलाई राज्यमन्त्री बनाउने आश्वासनसहित पार्टी प्रवेश गराइएको थियो । तर एमाले आफैं सरकारबाट बाहिरिएपछि उनलाई संसदीय समितिको सभापति बनाउन लागिएको हो ।
एमालेको भागमा परेको राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको सभापतिको टुंगो भने लागेको छैन ।
प्रतिक्रिया 4