
मञ्जुश्रीले चोभारको डाँडा काटेर बस्ती बसालेको काठमाडौं (अमरावती) त्यतिबेला कति सुन्दर थियो होला । त्यो उर्वर भूमिमा काँचो इँट्टाले निर्मित भवनहरु कति शोभायमान थिए होलान् । कञ्चन सफा बागमतीले सिञ्चित यो भूगोलमा विष्णुमतीका चञ्चल भेल शहरको फेरो लगाउँथ्यो होला । त्यो घना मृगस्थली जंगल, त्यो शालीनदी कति मोहक थियो होला ।
एकादेशको कथा जस्तै लाग्थ्यो हामीलाई जब प्राचीन काठमाडौंको बखान सुनिन्थ्यो । किनभने जतिबेला मैले यो शहरमा पाइला टेकें, त्यसबेला त काठमाडौंको रुपरंग फेरिएको थियो ।
तर सुन्दर नै थियो शहर
मलाई याद छ, पहिलो पटक म २०४२ सालमा आमाको स्नेहको बर्को समाउँदै काठमाडौं नगरीमा प्रवेश गरेको । मैतिदेवीमा भुपेन्द्र दाइ (जेठा मामाको छोरा)को कोठामा केही दिन बसेर काठमाडौंको मुख्य-मुख्य थलो फन्को मारेको धमिलो सम्झना छ मलाई ।
बिहानै मैतिदेवीको दर्शन गर्न कोठाबाट निस्कँदा खेतका गह्राहरुबाट पशुपतिनाथको मन्दिर चिहाउन सकिन्थ्यो । त्यसबेला बागमती सफा थियो र आफ्नै लयमा बगिरहेको थियो । भिडभाड र कोलाहाल अहिले जस्तो थिएन ।
२०४५ सालमा एसएलसी परीक्षाको नतिजा प्रकाशित भएसँगै उच्च शिक्षाको अभिलाषाले फेरि काठमाडौं नगरतिर नै डोहोर्यायो मलाई । संयोगै भन्नुपर्छ २०४२ सालमा पहिलो पटक काठमाडौं छिर्दा बसेको मैतिदेवीमा नै मेरो बसाइ तय भयो ।

मैतिदेवीबाट म पढ्ने कलेज (नेपाल ल क्याम्पस) भएको भृकुटीमण्डप, प्रदर्शनीमार्गसम्म पुग्न डिल्लीबजारको भित्रीबाटो कालिकास्थान हुँदै पुतलीसडक निस्किएर हिंड्दा खुला र स्वच्छ लाग्दथ्यो काठमाडौं । गाडीको चाप धेरै थिएन । सडकको दायाँबायाँ खुला हुन्थ्यो । त्यो खुला फुटपाथमा बेफिक्री हिंड्न सकिन्थो, हातमा किताब हल्लाउँदै ।
आँखा बिझाउने र नाक पोल्ने धुवाँधुलो थिएन । दुर्गन्ध थिएन । र, थिएन हो–हल्ला पनि ।
मोटरसाइकल अहिले जस्तो खचाखच थिएन । सम्भ्रान्तका सीमित छोराछोरीले मात्र मोटरसाइकल चढ्थे । धेरैले त साइकल नै चढ्थे, चाहे हुनेखाने नै किन नहोस् । ल क्याम्पसमा पढ्न आउँदा हुनेखानेका छोराछोरी पनि साइकल लिएर आउँथे । शहरिया युवाहरु साइकल नै चढ्थे । म जस्ता राजधानी बाहिरबाट गएका विद्यार्थीका लागि त साइकल पनि मनको लड्डु नै हुने भयो ।
मलाई सम्झना छ, ब्रिटिश आर्मी परिवारकी एक महिला सहकर्मी थिइन् । उनी गियरवाला साइकल लिएर कलेज आउँथिन् । उनी त्यस्तो साइकलमा आउजाउ गरेको हाम्रो लागि भने रमिता हुन्थ्यो । क्याम्पसको गेटमा बसेर हामी टाढा-टाढासम्म उनलाई हेरिरहेका हुन्थ्यौं ।
गियरवाला साइकल हाम्रो लागि सपना थियो ।
त्यसबेला काठमाडौंका खुला सडकमा साइकल बत्तिएको दृश्य निकै लोभलाग्दो र रोमाञ्चक लाग्थ्यो । कुनै साइकल रेस भइरहेको भान हुन्थ्यो । अरुकै किन नहोस्, साइकलको पछाडि बसेर हावामा खुट्टा लहराउँदै सडकमा बत्तिनुको आनन्द फरक हुन्थ्यो ।
त्यसबेला मेरो गृहजिल्ला दोलखाकै साथी थिए, अर्जुन खड्का । उनको हिरो साइकल थियो । त्यही साइकलको पछाडि बसेर भृकुटीमण्डप-पुतलीसडक, मैतिदेवीको फन्को लगाउने मौका पाउँथे मैले पनि ।
अनि अतिक्रमण सुरु भयो
सफा, स्वच्छ, हराभरा काठमाडौं धुस्रोफुस्रो हुन कति समय लागेन । काठमाडौं बसेर पढिरहेकै समय चरणमा शहरमाथि अतिक्रमण बढ्न थाल्यो । खेत र जंगल मासेर कंक्रिड बिच्छ्याउन थालियो । सडक मिचेर संरचना उभ्याउन थालियो । खोला थुनेर सडक बनाउन थालियो । रुखहरु काटिए, दहहरु मासिए, बिसौनीहरु भत्काइए ।
एउटा कलकलाउँदो, मोहक शहरको चीरहरण सुरु भयो । २०४६-०४७ हुँदै २०६२-०६३ सम्म आउँदा राजनीतिक हस्तक्षेप र संरक्षण यति धेरै मौलायो कि कसले कहाँ के गरिरहेका छन् कसैलाई चासो र चिन्ता नै भएन । सडकपेटीहरु व्यापारिक थलो बने ।
काठमाडौंको न्यानो आश्रय लिएकाहरु कोही नेता बने, कोही अभिनेता । कोही कर्मचारी बने, कोही कलाकार । कोही व्यवसायी बने कोही उद्योगपति । यी सबैले काठमाडौंकै माटोमा टेकेर धनदौलत, नाम प्रतिष्ठा कमाए ।
तर उनीहरुले यो माटोको गुण बिर्सिए । यो शहरको महिमा बिर्सिए । अनि त शहरको चक्लाबन्दी गर्न, कित्ताकाट गर्न, कंक्रिटहरु ठड्याउन, खेत र खोलाहरु मास्न थाले । हेर्दाहेर्दै काठमाडौं शहर उराठलाग्दो बन्यो । दुर्गन्ध, कोलाहाल र भिडभाडले यो शहरलाई कुरुप बनायो ।
फेरिंदैछ शहर
मैले काठमाडौं छाडेको धेरै बित्यो । उच्च अध्ययन सकाएर म आफ्नो जन्मथलो फर्किएँ । तर काठमाडौं आउजाउ बाक्लै भइरह्यो । हिजो पनि र आज पनि ।
हालसालै काठमाडौं टेक्दा मलाई त्यही दिनको झझल्को आयो, जतिबेला म यो शहरमा बसेर पढ्दै थिएँ । त्यसबेला म अल्लारे थियो र यो शहर पनि । अहिले फेरि काठमाडौंको जवानी फर्कंदै गएको अनुभूत गरें मैले । सडकहरु सफाचट हुँदैछ । फुटपाथ खुला र सहज हुँदैछ । ठाउँठाउँमा फूल र बिरुवा ढकमक्क हुँदैछ । शहरलाई कुरुप बनाएको अतिक्रमित संरचना हटाइएको छ । काठमाडौं वास्तवमै हेर्नलायक हुँदैछ ।
कुनै नयाँ चीज बन्नका लागि कति कुरा भत्काउनु पनि पर्छ । अहिले काठमाडौंका कतिपय ठाउँ भत्किएका छन् । घर भत्किएका छन्, पर्खाल भत्किाएका छन्, खोलामाथि बिछ्याइएका सडक भत्किएका छन् । यो शहर विर्निमाणको चरणमा छ ।
बालेन शाहले नेतृत्व गरेको काठमाडौं महानगरपालिकाको यो कार्य प्रशंसनीय र अनुकरणीय छ । मलाई भन्न मन लागेको छ, बालेन शाहको अभियानलाई सलाम ! उनको इच्छा शक्तिलाई सलाम !!
अब उत्खनन् भएका खोलानालाहरु स्वच्छ ढंगले आफ्नो लयमा बग्नेछन् र खोला किनारमा सयौं यात्रीहरु टिकटक र सेल्फीमा रमाउनेछन् । अतिक्रमण रोक्ने, सडकपेटी मिच्ने र जथाभावी पार्किङ गरेर सहरलाई फोहोर तथा प्रदूषित गर्ने क्रमलाई पूर्णतया बन्द गर्न महानगरपालिकाको अभियान निरन्तर चल्नेछ ।
समय धेरै फेरिएको छ । जनसंख्या वृद्धिसँगै प्रविधिले पनि फड्को मारेको छ । त्यसैले हामीले मञ्जश्रीले चोभारको डाँडा काटेर बस्ती बसाएको अवस्थाको काठमाडौंको परिकल्पना गर्नु फगत काल्पनिकता मात्र हुने छ । मैले २०४२ सालमा पहिलोपटक स्पर्श गरेको काठमाडौंको सभ्यतालाई हुबहु अपेक्षा गर्नु पनि फगत काल्पनिकता नै हुनेछ । अब मैतिदेवीको गल्छीबाट सहजै पशुपतिनाथलाई चिहाउने मेरो चाहना पूरा हुन सक्दैन भन्ने कुरामा पनि म प्रष्ट छु ।
तर समयको रफ्तारसँग भएको परिवर्तनमा सरसफाइ र सभ्यतालाई जोगाउन सकिन्छ । जनसंख्याको वृद्धिसँगै देखिएको जमिनको संकुचनलाई प्रविधिको उच्चतम प्रयोग गरेर सहजता दिने कुरामा मेयर बालेन शाहको इच्छाशक्तिले गति प्रदान गर्छ भन्ने अपेक्षा गर्न सकिने ठाँउ देखिएको छ । स्लेसमान्तर वन र शाली नदीको सांस्कृतिक विशेषता, बागमती र विष्णुमतिको स्वच्छता र सुन्दरता फेरि हरण हुनेछैन भन्ने विश्वास पलाएको छ ।
पशुपतिबाट शिव–पार्वती विचरणको लागि काठमाडौं शहरको फन्को मार्दै गर्दा बिरुवा र फूलले सजिएको सडकपेटीमा बटुवाहरुलाई धक्कामक्का नगरी अगाडि बढ्ने, झिलिमिली पुलमा विश्राम गर्दै युवायुवतीको गतिविधि नियाल्ने र छङछङ बग्दै गरेको बागमतीको सफा पानी सेचन गरेर शुद्धताको अभ्याससँगै गन्तव्य फर्कने अवसर मिल्ने अपेक्षा गर्न सकिने भएको छ ।
प्रतिक्रिया 4