
१० भदौ, दाङ । उपमेयरले कर्मचारीमाथि हातपात गरेको भन्दै रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा ताला लगाइएको छ ।
नगरपालिका उप-प्रमुख बिमलकुमार पुनले पालिकाका शिक्षा अधिकृत नरेन्द्र ओलीमाथि हातपात तथा दुर्व्यवहार गरेको भन्दै कर्मचारीहरुले आइतवार तालाबन्दी गरेका हुन् ।
अहिले कर्मचारीहरुले मूल गेटमै ताला लगाएर धर्ना दिएका छन् । मूल गेटमै ताला लगाएपछि नगरपालिका सबै सेवा ठप्प भएका छन् ।
कर्मचारीहरुले हातपात गर्ने उपप्रमुखमाथि कडा कारवाही गर्नुपर्ने माग राखेका छन् । त्यस्तै प्रमुख प्रशासकिय अधिकृतले कर्मचारीको बैठक बसाल्नुपर्ने, कर्मचारीहरुलाई भरपर्दो शान्ति सुरक्षाको वातावरण मिलाउनुपर्ने, नगरपालिकामा कार्यरत कर्मचारीको गल्ती भए कानुन बमोजिम कारबाहि गर्नुपर्ने माग नगरप्रमुख समक्ष राखेका छन् ।
कानूनको कार्यान्वयनमा जनप्रतिनिधिहरू पन्छिएर कर्मचारीहरुलाई दोष लगाउने कार्यको अन्त्य हुनुपर्ने, जनप्रतिनिधि र कर्मचारीहरूले एक अर्काको भूमिका र काममा हस्तक्षेप गर्न नपाउने र उच्च स्तरिय न्यायिक छानबिन समिति गठन गरिनुपर्ने उनीहरुको माग छ ।
के हो विवाद ?
शनिबार मुसिकोटको-१ स्थित त्रिभुवन जनता माध्यामिक विद्यालयको उच्च माध्यामिक तहको लेखा विषयको शिक्षक पदपुर्तीको लागि विषयमा लिएर विवाद भएको थियो ।
विद्यालयमा शिक्षक पदपूर्ती गर्र्न काम भइरहेको बेला उपप्रमुख पुनले शिक्षा अधिकृत ओलीलाई प्रमुख प्रशासकीयको कार्यकक्षमा हातपात तथा दुर्व्यवहार गरेको आरोप कर्मचारीहरुले लगाएका छन् ।
शिक्षक पदपूर्तिको लागि काम भईरहेको बेला परिक्षा रोक्न भन्दै नगर उप-प्रमुखले आफूमाथि हातपात तथा दुव्र्यवहार गरेको शिक्षा शाखा प्रमुख ओलीले बताए ।
उनले आफूहरु परिक्षाको तयारीमा जुटेको बेला निमित्त प्रमुख प्रशासकिय अधिकृतको कार्य कक्षमै हातपात गरेको बताए ।
‘विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यपक, निमित्त प्रमुख प्रशासकीय अधिकृत र म बसेर परिक्षाको तयारीमा जुटेका थियौं’ उनले भने, ‘त्यति नै बेला उप–प्रमुख आएर हातमा रहेको कागजात खोसेर ममाथि हातपात गर्नुभयो ।’
उनले आफूलाई उप-प्रमुखले दुई पटक झापड हानेको बताए । उनले उपप्रमुखविरुद्ध प्रहरीमा समेत उजुरी दिएको बताए ।
यता, उपप्रमुख पुनले आफूले कर्मचारीलाई हातपात नगरेको बताउँछन् । शनिबार आफूले अनियमित तरिकाले बिद्यालयको कर्मचारी भर्ना गर्न खोज्ने प्रक्रिया रोक्नमात्र माग गरेको उनले बताए ।
सेटिङ मिलाएर कर्मचारी भर्ना गर्न खोज्ने प्रवृतिको अन्त्य गर्न आफू लागेको तर हातपात भने नगरेको उनको भनाइ छ ।
प्रतिक्रिया 4