
काठमाडौं । ग्लोबल क्वालिफिकेसन्स नेपाल (एलसीसीआई) र स्कटिस क्वालिफिकेसन्स अथोरिटी (एसक्यूए) स्कटल्याण्डको संयुक्त आयोजनामा ‘व्यावसायिक शिक्षा र यसको भविष्य’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
काठमाडौंको होटल र्याकडिसनमा २३ अगस्टमा आयोजित कार्यक्रममा ब्रिटिस राजदूत रबफेनले व्यावसायिक शिक्षाको वर्तमान अवस्था, यसको भविष्य र विद्यार्थीहरूको शैक्षिक प्रगति एवम् अवसर कसरी प्राप्त गर्न सकिन्छ भन्नेबारे आफ्नो प्रस्तुति दिएका थिए ।
दुई सत्रमा सञ्चालित कार्यक्रममा एलसीसीआईको कोर्ष अन्तर्गत अध्ययन पूरा गरी उच्च शिक्षा अध्ययनका लागि विभिन्न विदेशी विश्वविद्यालयहरुमा अध्ययन गर्न चाहनेहरूका लागि यूके, यूएसए, यूएई, स्वीटजरल्याण्ड, अष्ट्रेलिया लगायतका विश्वविद्यालयको तर्फबाट संस्थाको चिनारीका साथै एलसीसीआईको पाठ्यक्रमबारे जानकारी गराइएको थियो । साथै अध्ययन पूरा गरिसकेका विद्यार्थीलाई किन र कसरी क्रेडिट ट्रान्सफरको सहुलियतसहित ती विश्वविद्यालयहरुमा अध्ययन गर्न पाउनेबारे जानकारी गराइएको संस्थाले जनाएको छ।
दोस्रो सत्रमा पेपर प्रिजेन्टेसन गरिएको थियो । एसक्यूएले आफ्नो संस्थाको चिनारीका साथै ग्लोबल कन्टेस्ट भोकेसनल एजुकेसनको वर्तमान अवस्था र यसको भविष्यकोबारेमा कार्यपत्र प्रस्तुत गरिएको थियो ।
एलसीसीआईले नेपालको युवा जनशक्तिलाई कस्तो सीप आवश्यकता रहेकोबारे जानकारी गराएको थियो । साथै गुणस्तरीय सुनिश्चित पाठ्यक्रमका बारेमा जानकारी गराउनुका साथै व्यावसायिक शिक्षाको माध्यमबाट उच्च शिक्षाके बाटो कसरी तय गर्न सकिन्छ भन्नेबारे जानकारी गराइएको थियो ।
कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको समेत उपस्थिति रहेको थियो ।
प्रतिक्रिया 4