+
+
रमेश ढकालसँग संवाद :

‘केही वर्षभित्रै मध्यपूर्व नेपाली फिल्मको दोस्रो ठूलो अन्तर्राष्ट्रिय बजार बन्नेछ’

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ११ गते ७:३३

काठमाडौं । नेपाली फिल्मको अन्तर्राष्ट्रिय वितरणमा चर्चित नाम हो- रमेश ढकाल । उनकै पहलमा अहिले मध्यपूर्व नेपाली फिल्मको बृहत बजार बन्ने क्रममा छ । लामो समयदेखि दुबईमा बसोबास गर्दै आएका ढकालको नेतृत्वमा हालै अन्तर्राष्ट्रिय फिल्म वितरण कम्पनी सेभेन सिज स्थापना भएको छ । नयाँ बजार खोज्न लागिपरेका ढकालले मध्यपूर्वका १५ लाखभन्दा बढी नेपालीलाई नेपाली फिल्मसँग जोड्न चाहेका छन् । ढकालले मंगलबार राष्ट्रपतिबाट शीतल निवासमा नेपाली फिल्मको विशेष सम्मान पनि ग्रहण गर्दैछन् । यसका लागि काठमाडौं आइपुगेका उनीसँग अनलाइनखबरले संवाद गरेको छ :

अहिले मध्यपूर्वमा नेपाली फिल्मको लागि वास्तविक बजार कस्तो छ ?

दुईचार वर्षदेखि त्यहाँ हामीले बजारको खोजी थालेका छौं । म यसलाई प्रारम्भिक चरण मान्छु । अब दुई तीनवर्षमा मध्यपूर्वमा नेपाल पछाडिको ठूलो बजार बन्ने सम्भावना छ । त्यो मेरो एउटा सपना हो । व्यक्तिगतरुपमा भन्दा मध्यपूर्वमा नेपाली फिल्मको ठूलो बजार छ । आजको दिनमा भन्दा अष्ट्रेलिया र अमेरिका पछाडि तेस्रो स्थानमा छ । त्यो पनि मेरो मिहेनतले ।

कुन आधारले मध्यपूर्व नेपाली फिल्मको ठूलो बजार बन्दैछ ?

अहिले पनि १५ लाख नेपाली मध्यपूर्वमा काम गर्नुहुन्छ । हुन त सबैलाई देशको माया छ । तर, उहाँहरुलाई भेटेर कुरा सोध्दा देशप्रति धेरै माया छ । पछिल्लो समय नेपाली फिल्मप्रतिको माया अत्यधिक छ । हाम्रो तथ्यांकमा युएईमा ३ लाखभन्दा धेरै, कतारमा ५ लाख, साउदीमा ६ लाखभन्दा धेरै, बहराइनमा ७० हजार, कुवेतमा ८० हजार, इराकमा ३० हजार नेपाली छन् ।

पछिल्लो समय तपाईंले वितरण गरेकामध्ये कुन फिल्मले राम्रो ब्यापार गर्न सके ?

पछिल्लो समय राम्रो ब्यापार गरेको फिल्म ‘कबड्डी ४’ नै हो जसले नेपालमा रेकर्ड राख्यो । ‘जारी’ र ‘छक्कापञ्जा’ले पनि उत्कृष्ट ब्यापार गरे । नेपालमा जुन फिल्म चल्यो, त्यही फिल्म उता पनि चलेको देखिएको छ । यता नरुचाएको फिल्म, उता पनि चल्दैन । मैले दुईचारवटा फिल्म प्राक्टिस पनि गरे । नेपालमा औषत रुचाइएका फिल्म पनि उता रुचाइँदैन । नेपालमा राम्रो चलेका फिल्म मात्रै उता रुचाइन्छ । किनभने, माउथ पब्लिसिटी प्रमुख हो । म नेपाल र गल्फमा एउटै मितिमा रिलिज गर्दिन । एकसाताको अन्तरमा रिलिज गर्छु प्रायः । नेपालको माउथ पब्लिसिटीले गल्फमा काम गर्दो रहेछ । नेपालमै चलेपछि बाहिर चल्छ, नत्र बाहिर चल्दैन ।

मध्यपूर्वमा अझ बजार विस्तार गर्नको लागि तपाईंका योजना कस्ता छन् ?

अहिले पनि मध्यपूर्वका ५० प्रतिशतभन्दा बढी नेपालीलाई यहाँ फिल्म लाग्छ भन्ने कुरा नै थाहा छैन । त्यो सचेतना गराउन सकिएको छैन । मैले अधिकतम प्रयास गरेको छु । हामीले मिडियालाई अधिकतम प्रयोग गर्न जरुरी छ । दुबईमा फिल्म फेस्टिभल हुँदा पनि कुरा उठाएको थिएँ मैले । मिडिया पब्लिसिटीमार्फत नेपालीलाई थाहा हुनुपर्छ कि हाम्रो फिल्म पनि यहाँ लाग्छ भनेर । अहिले गरिएको मार्केटिङ जबर्जस्ती मात्रै हो । त्यहाँ लामो समय बसोबास गर्दै आएका मान्छेलाई मात्र थाहा छ तर, ६ महिनाअघि मात्र जानेलाई थाहा छैन । एक लेभलमा मिडिया मार्केटिङलाई अझै पुस गर्नुपर्छ ।

चलचित्र विकास बोर्डले केही समय पहिले गरेको फिल्म फेस्टिभलको उपलिब्ध के देखियो ?

यसले नेपाली फिल्म लाग्छ भन्ने के तहको मार्केटिङ भयो । नेपाली फिल्म त धेरै पहिलेदेखि लागेको थियो, यसले अझ ठूलो मार्केटिङ भयो । मान्छेले थाहा पाए कि यहाँ फिल्म लाग्दो रहेछ भनेर । नेपालका फिल्मकर्मीलाई पनि थाहा थिएन कि त्यहाँ फिल्म लाग्छ भनेर । मैले ठूलो ब्यानरका फिल्म मात्र लैजान्थेँ, उहाँहरुलाई मात्र थाहा थियो तर फेस्टिभलले अझ एक लेभलको मार्केटिङ भयो ।

तपाईंको नेतृत्वमा अन्तर्राष्ट्रिय फिल्म वितरण कम्पनी सेभेन सिज स्थापना भएको छ । यसको आवश्यकता किन पर्‍यो ?

नेपाली फिल्मलाई विश्वब्यापी फिल्म वितरण गर्ने हाम्रो योजना हो । बक्स अफिस चलाउने आजको दिनमा अमेरिका र मध्यपूर्व मात्र हो । अन्त अहिले पनि निजी शो नै चलेका छन् । अमेरिकाको साथी प्रतीकजी र अष्ट्रेलियामा फिल्म चलाउने साथी विनोदजीसँग सहकार्य गरेर हामीले कम्पनी स्थापना गरेका हौं । यसको मुख्य लक्ष्य नै बजार खोज्ने हो । हामीले अहिले चारपाँच नयाँ मुलुकमा पनि बक्स अफिसको खोजी गरिरहेका छौं । हामीले आफ्नो ठाउँमा काम गर्ने भएपछि अन्त बजार खोज्ने कसले ? २०/२५ हजार नेपाली बस्ने ठाउँमा नेपाली फिल्म चल्छ भन्ने थाहा छैन । नेपालसँगै नेपाली फिल्म एकैपटक ५० भन्दा बढी मुलुकमा रिलिज होस् भन्ने हाम्रो लक्ष्य हो । हामीले यसको लागि दिनरात काम गरिराख्या छौं । मैले पछिल्लो समय इराक खोजेँ । अन्य सात देश पनि खोजेका छौं । यी देशमा सहमति हुन बाँकी छ । ५००० हजार भएका ठाउँमा पनि दुई शो गर्न पाइयो भने पनि नेपाली फिल्म एक तहमा पुग्थ्यो कि भन्ने हो । साउथ र हिन्दी फिल्म पनि यसरी नै विकास भएका हुन् ।

फिल्मको अन्तर्राष्ट्रिय वितरणका लागि फिल्मको कथावस्तुले कस्तो भूमिका खेल्छ ?

नेपालमा प्रशस्तै कथावस्तु छन् । विदेशमा बस्ने नेपाली रुचाउने भनेको अर्गानिक स्वादको फिल्म हो किनभने ठूला भीएफएक्स गरिएका हलिउड फिल्म त छँदै छन् नि । हामीले भन्ने भनेको आफ्नै कथा हो । रामबाबु गुरुङका फिल्मले बाहिर किन राम्रो ब्यापार गरेका छन् भन्दा त्यहाँ मौलिक कथा छ । ‘छक्कापञ्जा’, ‘जात्रा’मा मौलिक कथा छ । जति मौलिक कथा भयो, त्यति नै फिल्म राम्रो बन्छ । ठूला-ठूला भीएफएक्स प्रयोग गरिएका फिल्म त करोडौं खर्च गरेर हलिउड बलिउडले बनाउँछन् । हामीले सानो बजेटमा मौलिकता देखाउने हो । बक्स अफिसमा फिल्म चलाउँदाको फाइदा भनेको अबको दुईचार वर्षपछि विदेशीले पनि फिल्म हेर्छन् । उनीहरुलाई स्वाद दिनुपर्छ । यसपटक मैले ‘जारी’लाई इराकमा रिलिज गरेँ, त्यहाँ ५०/६० जना लोकल मान्छेले पनि फिल्म हेरे भन्ने कुरा आयो । इराकमा रिलिज गर्न मलाई एक वर्ष लाग्यो । भाषा अवरोध छ । उनीहरुलाई प्राविधिक कुरा बुझाउनुपर्‍यो । अहिलेलाई बजार खोज्नु नै मुख्य कुरा हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?