
काठमाडौं । हलिउडमा कलाकार र लेखकको हड्तालबीच एडम ड्राइभर र जेसिका चेस्टेनसहितका स्टारले भेनिस फिल्म फेस्टिभलमा सहभागी हुने घोषणा गरेका छन् ।
भेराइटी म्यागजिनले एडम र जेसिकासहित कालेब ल्यान्ड्री जोन्स, म्याड्स मिक्केलसेनले भेनिसमा हुने फिल्मको प्रिमियरमा भाग लिने निश्चित भएको उल्लेख गरेको छ । निर्देशक माइकल म्यानको फिल्म ‘फेरारी’को प्रिमियरमा ड्राइभरको शीर्ष भूमिका छ । जसका लागि उनी रेडकार्पेटमा उपस्थित हुने अपेक्षा गरिएको फेस्टिभलले जनाएको छ ।
फिल्म ‘फेरारी’ इटालीका कार निर्माता इन्जो फेरारीको जीवनीमा आधारित छ । ल्यान्ड्री जोन्सले लुक बेसन निर्देशित फिल्म ‘डगम्यान’को प्रिमियरमा भाग लिनेछन् भने मिक्केलसनले डेनिस निर्देशक निकोलस आर्केलको फिल्म ‘द प्रमिस्ड ल्याण्ड’ तथा अभिनेत्री चेस्टेनले मेक्सिकन लेखक फ्रान्कोको ‘मेमोरी’को प्रिमियरमा भाग लिनेछिन् । ‘द आइज अफ टमी फे’बाट ओस्कार जितेपछि अभिनेत्री चेस्टेन यो फिल्ममार्फत पुनरागमन गर्दैछिन् ।
माथिका यी सबै फिल्मलाई हड्तालमा रहेका साग-आफ्ट्राका सदस्यले निर्माण गरेका हैनन् । यी सबै फिल्मलाई इन्डी निर्माताले निर्माण गरेका हुन् । इन्डी फिल्मलाई फेस्टिभलमा सहभागी हुन अन्तरिम छुट प्रदान गरिएको छ । जसको फाइदा उठाउँदै यी स्टारहरु भेनिसमा उपस्थित हुन लागेका हुन् ।
विश्वकै पुरानो मानिने भेनिस फिल्म फेस्टिभल बुधबारदेखि इटालीमा सुरु हुने तयारीमा छ । यसपटक नेपाली फिल्म ‘रेड सुटकेस’ पनि प्रिमियर हुँदैछ । यसको प्रिमियरमा भाग लिन निर्माता र कलाकार भेनिस जाने तयारी छ ।
प्रतिक्रिया 4