+
+

भदौ १५ सम्म कांग्रेसका विभागले पूर्णता नपाउने

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १२ गते १४:५१

१२ भदौ, काठमाडौं । नेपाली कांग्रेसका विभागले १५ भदौसम्म पूर्णता नपाउने भएका छन् । १० साउनमा सकिएको केन्द्रीय समितिको बैठकले १५ भदौभित्र विभागहरुलाई पूर्णता दिने निर्णय भएको थियो ।

विधान अनुसार कांग्रेसका ४८ विभाग छन् । केन्द्रीय समितिले विभाग बढाउने निर्णय समेत गरेको छ । विभागको संख्या थपेर ७० आसपास पुग्ने नेताहरुले दाबी गर्दैै आएका छन् । विभागका लागि तयारी भइरहे अन्तिम रुप पाउन नसकेको बताइएको छ ।

शीर्ष तहका एक नेताका अनुसार केही विभागको संयोजक १५ भदौ भित्र तोकिने छ । ‘प्रमुख केही विभागको संयोजक १५ भदौसम्म तोकिने छ । १/२ भित्र संयोजकको टुंगो लाग्छ,’ शीर्ष तहका एक नेताले भने ।

हालसम्म प्रचार विभागको प्रमुख मात्रै तोकिएको छ । उक्त विभागको प्रमुखमा मीन विश्वकर्मा मनोनित भएका छन् । उक्त विभागमा ४२ सदस्य थपिएका छन् ।

विधान अनुसार प्रमुख सहित प्रत्येक विभागमा बढीमा ५१ जना सदस्य हुने व्यवस्था छ । महाधिवेशन सकिएको ६ महिनाभित्र गठन हुनुपर्ने विभाग हालसम्म गठन हुन सकेको छैन ।

१० साउनमा सकिएको केन्द्रीय समितिको बैठकले १५ भदौ गठन र पूर्णता दिइसक्ने निर्णय गरेको थियो । साथै, बैठकले प्रत्येक विभागले आफ्नो कार्यक्षेत्र अन्तर्गत कार्यक्रमहरु बनाई कार्यतालिका सहितको वार्षिक योजना भदौ मसान्तभित्र केन्द्रीय कार्यसमितिमा पेश गर्नुपर्ने निर्णय गरिएको थियो ।

विभाग गठनको अधिकार विधानले पार्टी सभापतिलाई दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?