
१२ भदौ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको पर्यटन तथा हवाई यातायात समितिले होटललाई उद्योगको मान्यता दिन माग गरेको छ ।
मंगलबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलासँग भेट्दै समितिले यस्तो माग गरेको हो ।
मुलुकमा विदेशी मुद्रा भित्राउन उल्लेख भूमिका निर्वाह गर्दै आएको होटल व्यवसाय समस्या नै समस्यामा रहेको भन्दै समितिले यो क्षेत्र राज्यको प्राथमिकतामा समेत नपरेको गुनासो गरेको छ ।
महासंघका उपाध्यक्ष हेमराज ढकाल र उक्त समितिका सभापति देशबन्धु वस्नेत (अजित)को नेतृत्वमा गएको उक्त समितिले होटल व्यवसायलाई उद्योग सरहको सुविधा प्रदान गर्न माग गरेको हो ।
समितिले उद्योग सचिव निरौलालाई ज्ञापनपत्र बुझाउँदै होटल क्षेत्रमा निजीक्षेत्रले ठूलो पूँजी लगानी गरी लाखौंलाई रोजगारीको अवसर प्रदान गरेको बताएको छ ।
पर्यटकीय वस्तु तथा सेवाको उत्पादनमार्फत अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै समितिले दीगो पर्यटन र हरित पर्यटन सम्बन्धमा विशेष योगदान पुर्याएको बताएको छ ।
पर्यटनलाई विद्युतको सहुलियत दर रेट, करमा विशेष छुट, विद्युत खपत नियमावलीमा समेत होटल उद्योगलाई विशेष विद्युत महसुल कायम गराई यस क्षेत्रलाई उद्योग सरहको सुविधा उपलब्ध गराउन समेत भनिएको छ ।
विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ मा व्यवस्था भए अनुसार कूल बिक्रीको ५ प्रतिशत भन्दा बढी रोयल्टी शुल्क बढी नहुने गरी पठाउन मात्र पाउने प्रावधानले मुलुकमा अन्तर्राष्ट्रिय होटल रिसोर्टको सञ्चालन हुन कठिन रहने समेत समितिको भनाइ छ ।
प्रतिक्रिया 4