सामान्य प्रक्रियाबाट गर्भधारण गर्न नसक्ने दम्पतीका लागि चिकित्सा विज्ञानले नयाँ-नयाँ प्रविधि आविष्कार गरिरहेको छ । पछिल्लो समय टेस्ट-ट्युब बेबी प्रविधि नि:सन्तान दम्पतीका लागि वरदान नै सावित भइरहेको छ ।
चिकित्सकहरुले ३५ वर्षको उमेरभित्र महिलाले सन्तान जन्माउनु राम्रो हुने सल्लाह दिन्छन् । यस्तोमा ३५ वर्ष काटेपछि टेस्ट-ट्युब बेबी विधिबाट सन्तान जन्माउन कति सहज हुन्छ ? भन्ने जिज्ञासा पनि आउँछ । यो उमेरपछि महिलाको अण्डा बन्ने क्षमतामा ह्रास आउँदै जाने भए पनि कृत्रिम तरिकाले भने सहज ढंगले नै गर्भधारण गर्न सकिन्छ । दुई विधिबाट प्रयोग गरिन्छ, आईक्यूआई र आईभीएफ ।
आईक्यूआई (अल्ट्रा युटेरिन इन्सिमिनेसन)
यस विधिमा पुरुषको शुक्राणुलाई परीक्षण गरेर राम्रो स्वस्थ शुक्राणु पहिचान गरी महिलाको पाठेघरमा क्याथेटरको माध्यमबाट राखिन्छ । यसमा स्त्रीको डिम्बको लागि औषधिको प्रयोग गरिन्छ । यसमा सफलताको दर १५ देखि २० प्रतिशतसम्म हुन्छ ।
आईभीएफ (इन भाइट्रो फर्टिलाइजेसन)
आईयूआई विधि असफल भएपछि मात्र आईभीएफ प्रयोग गरिन्छ । यो पनि दुई विधिले गरिन्छ । यो विधिमा स्त्रीको डिम्ब र पुरुषको शुक्राणुलाई कृत्रिम तरिकाले प्रयोगशालामा राखेर गर्भधारण गरिन्छ । जसलाई बोलीचालीको भाषामा टेस्ट-ट्युब बेबी भनिन्छ । यो विधिमा यो ४० देखि ५० प्रतिशतसम्म सफल हुने सम्भावना हुन्छ ।
अर्को इन्ट्रा साइटोप्लाजमिक स्पर्म इन्जेक्सन (आईसीआएसी) विधि हुन्छ । यो विधि आईभीएफ जस्तै विधि हो, जसमा एक अण्डामा र जीवित शुक्राणु इन्जेक्सन गरिन्छ । यसमा सफलताको दर २० देखि ३० प्रतिशत हुन्छ । यो विधि अरूभन्दा महंगो छ ।
आईभीएफ यसका मुख्य तीनवटा प्रक्रिया हुन्छन्, आईभीएफ गर्नुभन्दा पहिला गर्नुपर्ने पूर्वतयारी अवस्था, दोस्रो महिलाको अण्डा बाहिर झिक्ने र तेस्रोमा बाहिर बनाएको भ्रूणलाई उपकरणको सहायताले पाठेघरमा राखिन्छ ।
पहिलो चरणमा दाम्पतीको स्वास्थ्य परीक्षण गराएर त्यसअनुरुप दम्पतीलाई औषधि र जीवनशैली परिवर्तन गर्न सल्लाह दिइन्छ । धुम्रपान, मद्यपान गर्ने गरेको भए पूर्ण रुपमा बन्द गर्न लगाइन्छ ।
त्यसपछि महिनावारी भएको दोस्रो र तेस्रो दिनदेखि दैनिक १०–१३ दिन हार्मोनको सुई लगाउने गरिन्छ । जसले गर्दा स्त्रीको अण्डा राम्रो, स्वस्थ र धेरै बनाउनका लागि । यो एकदम निश्चित समयमा लगाउनुपर्ने हुन्छ । सूक्ष्म खालको हुन्छ यसले कुनै पनि अंगलाई हानि पुर्याउँदैन ।
अण्डा स्वस्थ बनिसकेपछि ट्रिगर इन्जेक्सन लगाइन्छ । त्यो लगाएपछि तेस्रो दिनमा योनीबाट क्याथेटरको माध्यमबाट अण्डा संकलन गरिन्छ । त्यसमा चिरफार हुँदैन ।
त्यसपछि अण्डालाई प्रयोगशालामा लगेर स्वस्थ राम्रो अण्डा छुटाइन्छ । यसरी झिकिएको अण्डालाई इन्कुबेटर उपकरणमा वीर्यसँग उपयुक्त वातावरणमा संयोजन गराई प्रयोगशालामा राखिन्छ । त्यहीं भ्रूण विकास हुन्छ । त्यसलाई प्रयोगशालामा पाठेघरजस्तो आर्टिफियल मेसिन हुन्छ । त्यसमा भ्रूणलाई लगभग तीनदेखि पाँच दिनसम्म राखिन्छ । त्यसमा राखिएको नियालिन्छ, त्यसमा विकसित भ्रूणको अवस्था र गुणस्तर हेरेर ट्युबको माध्यमबाट पाठेघरमा राखिन्छ ।
तर आईभीएफ विधिबाट अपनाइसकेपछि गर्भाधारण सफल हुन्छ भन्ने हुँदैन । कसैको पहिलो चरणमा नै हुन्छ भने कसैको सात-आठ पल्ट गर्दा पनि नहुने हुन सक्छ । त्यसैले पहिलोपटकमा नभएमा दोस्रो पटकमा हुन सक्छ ।
तर यो प्रविधिले पाठेघरको समस्या भएका, जन्मजात पाठेघर बिग्रिएको समस्या भएका महिलालाई काम गर्दैन ।
कति पर्छ ?
नेपालमा आईभीएफका लागि सुरुदेखि अन्तिम अर्थात् पाठेघरमा भ्रूण राख्नेसम्मको लागत करिब तीन लाख देखि साढे तीन लाख रुपैयाँसम्म लाग्छ । तर यो अस्पतालअनुसार फरक-फरक हुन सक्छ । साथै यो दम्पतीको प्रजनन् क्षमतामा निर्धारण गर्छ । किनकि कसैलाई धेरै इन्जेसक्न दिनुपर्ने हुन सक्छ, कसैलाई थोरै दिए पनि हुन सक्छ ।
(निःसन्तानपन सम्बन्धी विशेषज्ञ डा. श्रीश ललितपुर पुल्चोकस्थित माया आईभीएफ क्लिनिकमा कार्यरत छिन् । उनीसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)
प्रतिक्रिया 4