
काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्कले देशका १५ शहरमा नेपाली टोलीले खेलेको क्रिकेट म्याच पब्लिक स्क्रिनमा देखाउने भएको छ ।
नेपाली क्रिकेट संघसँग कनेक्टिभिटी पार्टनरका रूपमा जोडिएको वर्ल्डलिङ्कले नेपाली क्रिकेट टोलीले खेलेका सम्पूर्ण म्याच पब्लिक स्क्रिनमा देखाउने भएको हो ।
यसअन्तर्गत प्रयोगकर्ताले पब्लिक स्क्रिनमा निःशुल्क म्याच हेर्न सक्ने कम्पनीले जनाएको छ । वर्ल्डलिङ्कका अनुसार क्रिकेट म्याच विर्तामोडको हनुमान कम्प्लेक्स, दमकको डीएमएक्स सिनेमा, विराटनगरको सेन्ट्रल मलको छेउमा र धरानको घोपा ट्याक्सी स्ट्यान्ड अगाडि पब्लिक स्क्रिनमा देखाइनेछ ।
राजविराजको आनन्द शाह राजदेवी कभर्ड हल, जनकपुरको राम मन्दिर, घण्टाघर र गौरको गौर राइस मिलमा गएर पनि नेपाली टोलीले खेलेको क्रिकेट म्याच पब्लिक स्क्रिनमा निःशुल्क हेर्न सकिनेछ ।
त्यसैगरी वीरगञ्जको माइस्थान मन्दिर, हेटौंडाको हुप्रा चौर, दमौलीको अनसन चौतारी, बुटवलको देवीनगर छौपरी, भैरहवाको लुम्बिनी गेट, दाङको भरतपुर ग्राउन्ड, तुलसीपुर ड्रिम पार्टी प्यालेस र सन्धिखर्ककको अर्घाखाँची सभा हलमा गएर समेत नेपाली टोलीले खेलेको क्रिकेट म्याच हेर्न सकिने कम्पनीले उल्लेख गरेको छ ।
एसिया कपको लाइभ वर्ल्डलिङ्कको ओटीटी प्लेटफर्म नेटटीभीमा देखिने छैन । त्यसैले सेवाग्राहीको सुविधाका लागि कम्पनीले पब्लिक स्क्रिनमा म्याच देखाउन लागेको जनाएको छ । कनेक्टिभिटी पार्टनरका रूपमा जोडिएकाले क्रिकेटको प्रचार र प्रर्वद्धनका लागि म्याच लाइभ देखाउन लागेको कम्पनीको भनाइ छ ।
प्रतिक्रिया 4