+
+

एमालेले ३५ वर्षअघि सर्रे अम्बासमा बिसाएको जडसूत्रवाद

बसन्त बस्नेत बसन्त बस्नेत
२०८० भदौ १३ गते २१:०९
चौथो महाधिवेशनका सेल्टर दाताहरुलाई सम्मान गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली । तस्वीर सौजन्य :एमाले मधेश प्रचार विभाग ।

१३ भदौ, काठमाडौं । एमालेको आन्तरिक जीवनमा एउटा नारा बढ्ता प्रयोगमा आउने गर्छ : इतिहासबाट सिकौं, वर्तमानलाई बुझौं, भविष्य हाम्रो हातमा छ ।

एमालेले वर्तमानको चलायमान मनोविज्ञान अनि यसभित्रको अन्तरप्रवाहलाई बुझेको छ कि छैन, अनि भविष्यको सुष्पष्ट मार्गनिर्देश गरेको छ कि छैन, उसैले उत्तर देला । तर इतिहासको सम्मान गर्नका लागि आज बुधबार यो दलका उच्च तहका नेताहरु सिरहाको दुर्गम गाउँमा पुगेका छन्, जहाँबाट कट्टरपन्थी कम्युनिस्ट युवाहरुको पार्टी नेकपा (माले) को लोकतन्त्रीकरण यात्राको पहिलो पाइला चालिएको थियो ।

सिरहा त्यही जिल्ला हो, जसको दक्षिणमा पर्ने माडरबाट कांग्रेस संस्थापक बीपी कोइराला तथा मातृकाप्रसाद कोइरालाका पिता कृष्णप्रसादले राणा प्रधानमन्त्री चन्द्रशमशेरलाई फाटेका लुगा पठाएर बगावत थालेका थिए ।

त्यही सिरहाको उत्तरपट्टि झापा आन्दोलन, कोअर्डिनेशन केन्द्र, अनि मालेसम्म आइपुगेको नेपाल कम्युनिस्ट पार्टीको उग्रवादी धाराले जडसूत्रवाद छाडेर सिर्जनात्मक बाटो समाउने संकल्प गरेको थियो । सिरहाको त्यही भूगोलबाट मालेका महासचिव चुनिएका मदन भण्डारीले पाका कम्युनिस्ट नेता मनमोहन अधिकारीको नेतृत्वमा जेनतेन चलिरहेको नेकपा मार्क्सवादी समेतलाई मिलाउँदै हालको एमाले बनाएका थिए ।

सिरहा विष्णुपुरकट्टीको सर्रे अम्बासमा ३५ वर्षअघि अर्थात् ०४६ भदौ ९ देखि १३ सम्म चलेको पार्टी चौथो महाधिवेशनको इतिहास सम्झना गर्ने क्रममा एमाले अध्यक्ष केपी ओलीसहित सचिवालय सदस्यहरु बुधबार भेला भए । मक्किँदै गरेको काठघरको माथिल्लो तलामा ४५ मिनेट सचिवालय बैठक राखेर उनीहरुले मदन भण्डारीको उदयसँगै तत्कालीन मालेमार्फत् पार्टीले नयाँ युगको यात्रा थालेको ऐतिहासिक परिघटना स्मरण गरे ।

पार्टीको भूमिगतकालीन महाधिवेशन गराउन सबै गोपनीयता राखेर ‘कमरेडहरु’ लाई सेल्टर, खाना, औषधि, लुगाफाटा आदि मिलाउने स्थानीय सहयोगी हीरा सुनुवारको परिवार, रामेश्वर मण्डल, सत्यनारायण मण्डल, नरेन्द्र पोखरेल लगायत ३० जनालाई एमाले नेताहरुले सम्मान गरे । तीमध्ये हीराको निधन भइसकेको छ ।

चौथो महाधिवेशन एमालेको आन्तरिक जीवनका लागि यसकारण पनि महत्वपूर्ण छ कि, एमालेको पूर्वरुप अर्थात् तत्कालीन नेकपा मालेले त्यसबेलासम्म अँगाल्दै आएको माओवादी विचारधारा टाइपको जडसूत्रवादी ह्याङ छाड्ने मुडमा थियो । मदन भण्डारीले अब नेपाली मौलिकतामा आन्दोलन लैजानुपर्ने तर्क गर्दै यसको दस्तावेज लेखेका थिए । बहुदलीय जनवादबारे केही कुरा नामक प्रस्तावपत्र नै तयार भएको थियो ।

त्यसबेलासम्म नौलो जनवाद भन्दै आएका सीपी मैनालीले महाधिवेशनको बन्दसत्रमा फरक धारणा राख्न खोज्दै थिए । एमाले अध्यक्ष केपी ओलीले दाबी गरे अनुसार खासमा त्यसबेला मैनालीसँग कुनै ठोस दस्तावेज थिएन । मैनाली बन्दसत्र अवधिभर विष्णुपुरकट्टीको सोही काठघरको कुनामा घुँडामा कापी राखेर नौलो जनवादको पूर्वप्रारुप खेस्रा गर्दै थिए ।

‘पछि उहाँ (सीपी) ले त्यसलाई आफ्नो फरक विचार भनी बहसमा ल्याउनुभएन, खासमा मदनले आफ्नो विचार राख्नु हुँदासम्म कुनै धारणा नै बनाउनुभएको थिएन उहाँले’, ओलीले बुधबार सचिवालय बैठकमा बोले ।

ओलीले बैठकमा बताए अनुसार त्यसबेला मालेले संविधानसभा होइन, पहिले कांग्रेस लगायत गैरवाम शक्तिसँग सहकार्य, वामपन्थीसँग मोर्चाबन्दीको बाटो लियो । संयुक्त वाममोर्चा त्यसपछि बनेको हो । अनि कांग्रेस र वाममोर्चना मिलेर ०४६ को जनआन्दोलन सफल भयो ।

केही नेताहरुले संविधानसभामा जाने कार्यनीति लिनु उचित हुने भने पनि मदन भण्डारीले पहिले बहुदलीय प्रजातन्त्र स्थापना गर्ने, त्यसपछि अरु नीतिबारे निर्णय लिनुपर्ने प्रस्ताव राखेका थिए ।

‘मदनको नेतृत्वमा हामीले सिद्धान्तको बन्दी नबन्ने, बरु गतिशील विज्ञानका रुपमा माक्र्सवादलाई ग्रहण गर्ने संकल्प गर्‍यौं’, ओलीलाई उद्धृत गर्दै एमाले उपमहासचिव विष्णु रिमालले भने, ‘कट्टरपन्थीहरुका कारण हामीमाथि चुनौती खडा हुन सक्थ्यो, तर मदनले पार्टीले लिएको दिशालाई कुशलतापूर्वक वैचारिक बहसमार्फत् जित्दै लैजानुभयो । आज हामी नेपाली राजनीतिको जुन स्थानमा छौं, त्यो मदनले यही घरको यही कोठामा अघि सारेको लोकतान्त्रिक विचारका कारण सम्भव भएको हो ।’

एमालेले कम्युनिस्ट आन्दोलनको लोकतन्त्रिकरण गर्ने संकल्प गरेको ठाउँलाई पर्यटकीय तथा ऐतिहासिक महत्वको ठाउँका रुपमा विकास गर्नेगरी योजना पास गरेको छ । सोहीबमोजिम ओलीले काठघर भएकै परिसरमा पार्टीको विरासत सम्झाउने स्तम्भको शिलान्यास गरेका छन् ।

पार्टी स्थापनाको ७५ औं हिरक जयन्ती पारेर एमालेले ०८१ वैशाख ९ गते सोही ठाउँमा स्तम्भ निर्माण गरिसक्ने निर्णय बुधबारको बैठकबाट गरेको पार्टी सचिव तथा मधेश इन्चार्ज योगेश भट्टराईले बताए ।

‘इतिहासको सम्मानसहित सम्झना गर्‍यौं, भविष्यमा अझै सबल र जनमुखी बन्दै जाने संकल्प गर्‍यौं’, भट्टराईले भने, ‘मदनजस्तो दूरदृष्टि भएको नेतालाई महासचिव बनाउने महाधिवेशन भनेर अध्यक्षले स्मरण गर्नुभएको छ, आगामी ०८४ को चुनावमा मधेशमा बहुमतसहित मूख्यमन्त्री बनाउने गरी काम थाल्ने निर्देशन दिनुभएको छ ।’

बैठक सकिएलगत्तै नेताहरुलाई त्यसबेला सेल्टर दिने शुभेच्छुक, कार्यकर्ता, स्थानीय जनप्रतिनिधि लगायतलाई राखेर एमालेले संक्षिप्त सभा समेत गरेको छ । उक्त सभालाई ओलीले सम्बोधन गर्दै प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारका फाइल खोल्ने भन्दै गिरिबन्धु टि इस्टेट प्रकरणमा आफूलाई तान्न खोजेको आरोप लगाएका छन् ।

‘गिरिबन्धुमा तान्ने रे, ल छानबिन गर न, किन ढिलो गरेको ?’ ओलीले सभामा प्रश्न गरे, ‘हामी तयार छौं यसका लागि । धम्की नदिए हुन्छ, कुनै पूर्वाग्रह नराखी राज्यको निकायलाई काम गर्न देऊ, विपक्षीलाई नतर्साऊ । छानबिन गर्दैजाँदा आफैं परिएला ।’

सभामा एमालेका मधेश इन्चार्ज तथा सचिव योगेश भट्टराई, नेता लीलानाथ श्रेष्ठ लगायत सहभागी थिए ।

ओलीले सभामा मदन भण्डारीको इतिहासबारे चर्चा गरेका थिए । उनले विष्णुपरकट्टीमा कक्षा १० सम्म सञ्चालन हुँदै आएको मदन भण्डारी माविलाई स्तरीकरण गर्न सघाउने वचन दिए । पार्टीले दिएको १८ कठ्ठा जमिनमा उक्त स्कुल सञ्चालित छ । उनले पत्नी राधिका शाक्यको नामबाट स्कुलका लागि ३ लाख रुपैयाँ सहयोग घोषणा गरेका छन् ।

चौथो महाधिवेशनमा मदन महासचिव बनेसँगै पाँचौ महाधिवेशनसम्म आइपुग्दा उनले जनताको बहुदलीय जनवाद नामक कार्यक्रमको विकास गरे । ०४९ सालमा यो विचार पास गरेसँगै उनको लोकप्रियता अरु चुलियो ।

०५० सालमा मदन भण्डारी र अर्का नेता जीवराज आश्रितको दासढुंगा दुर्घटनामा मृत्यु भएसँगै एमालेमा नेतृत्वको संकट उत्पन्न हुने खतरा थियो । त्यस बेला ओली लगायतले महासचिव बनाएका माधव नेपाल हाल उनै ओलीसँग मतभेद चुलिँदै जाँदा एमाले विभाजन गरी हाल एकीकृत समाजवादीको अध्यक्ष छन् । स्रोतका अनुसार ओलीले यी प्रसंगहरुबारे सिरहा बैठकमा खासै चर्चा गरेनन् ।

सिरहा महाधिवेशन गर्नका लागि ३५ वर्षअघि ओली, ईश्वर पोखरेल र प्रदीप नेपाल गरी तीन जनाको महाधिवेशन संयोजन सचिवालय गठन भएको थियो । ओली त्यसका संयोजक थिए । बैठकमा नेताहरुले ती प्रसंगहरुको समेत सम्झना गरेका छन् । नेपाल हाल स्वास्थ्यलाभ गरिरहेका छन् । ओली र पोखरेल बुधबारको सिरहा बैठकमा उपस्थित थिए ।

एमाले उपाध्यक्ष सुवास नेम्बाङका अनुसार एमालेले लोकतन्त्र यात्रा थालनी गरेको स्थानमा ऐतिहासिक बैठक सम्भव भएको छ । ‘यहीँको घोषणाबाट हामीले लोकतान्त्रिक बाटोमार्फत् आफ्ना जनवादी कार्यक्रमहरुलाई कार्यान्वयन गर्न प्रतिबद्धता जनाएका थियौं, आजको बैठकमा त्यसको सम्झना भएको छ’, सिरहाबाट नेम्बाङले भने, ‘हामी यसलाई इतिहासको सम्झना दिलाउने गरी पर्यटकीय स्थल बनाउन काम गर्नेछौं । आजै त्यसको पनि सुरुआत भएको छ ।’

एमालेले ‘कनेक्टिङ लोकल : म्यासेजिङ नेशनल’ नीतिअन्तर्गत मंसिरमा बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी लोकमार्गमा पदयात्रा गर्ने भएको छ । माओ त्सेतुङले चीनमा गरेको लङमार्च सम्झाउने गरी आफूहरुले सिर्जनात्मक कार्यक्रमहरु गर्ने नेता रिमालले बताए । हामीले माओजस्तै हतियारबन्द पार्टी होइन, बरु लडाकु मानसिकता बोकेका समर्पित कार्यकर्ता र शुभेच्छुकहरुको मास पार्टी बनाउने निर्णय गरेका थियौं, त्यसलाई समेत सम्झने गरी अभियानका कार्यक्रम घोषणा हुनेछन् ।’

एमालेले संविधान जारी भएको ३ असोज लाई राष्ट्रिय दिवसका रुपमा कार्यक्रम गरी देशैभर मनाउने निर्णय गरेको छ । नयाँ पुस्तालाई लक्षित गर्नेगरी केही महिनासम्म सिर्जनात्मक अभियानहरु सञ्चालन गर्ने पार्टी निर्णय रहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जारी गरेको वक्तव्यमा उल्लेख छ । उपमहासचिव रिमालका अनुसार मंसिरमा धनगढीमा राखिने केन्द्रीय समिति बैठकले यसका कार्यक्रमहरु घोषणा गर्ने छ ।

एमाले नेताहरुको सिरहा यात्रा भने कम्ती सम्झन लायक छैन । हवाइजहाज चढेर जनकपुर हुँदै सिरहा गएका एमाले नेताहरु यो बीचमा पटक पटक प्रधानमन्त्री, मन्त्री बने । तर बाटामा पर्ने खोलाहरुमा पानीको सतह बढ्दा गाडी ठेल्दै सचिवालय बैठकस्थलतर्फ अघि बढ्नुपर्ने दूरवस्थाले भने इतिहासको सबलता र दुर्बलता दुवै झल्काइरहेको थियो । टेलिफोनको नेटवर्क टिप्नै मुश्किल पर्ने विष्णुपुरकट्टीमा एमालेका पुराना सेल्टरदाताको कुनै क्रान्तिकारी माग थिएन । थिए त केवल सामान्य आग्रहहरु : बाटो बनाइदिनुहोस् कमरेड । पुल बनाइदिनुहोस् । टेलिफोन टिप्ने बनादिनुहोस् ।

हाल प्रतिपक्षमा रहे पनि पटक पटक राज्यसंस्थापनको नेतृत्व गरिसकेको एमालेका सामुन्ने भविष्ययात्राको प्राथमिक पाइलो भने हिजो इतिहासमा ज्यानको जोखिम लिएर सेल्टर दिने जनताहरुले वर्तमानमा भोगिरहेका यिनै दैनन्दिन समस्या समाधानबाट सुरु हुन सक्छ ।

लेखकको बारेमा
बसन्त बस्नेत

बस्नेत अनलाइनखबरका सम्पादक हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?