+
+
गाईजात्रा शब्दचित्र :

पाल्पा तानसेनको जात्रा

निर्गुण भजनहरू जति स्तरीय र भव्य सुनिन्थे वा देखिन्थे त्यो निकाल्ने परिवार त्यति नै सभ्य र धनी मानिन्थ्यो । किनभने यस्तो निर्गुण निकाल्न पनि त्यतिवेला हजारौं रुपैयाँ खर्च गर्नुपर्थ्यो ।

हिरा विश्वकर्मा हिरा विश्वकर्मा
२०८० भदौ १४ गते १२:५५

‘मनको यो दर्पणमा अनुहार हेर प्राणी,
देखिन्छ जीवन कहानी आखिर खरानी !’

माथिको यो पंक्तिले हाम्रो जीवनको वास्तविक यथार्थ बताउँछ । अर्थात् हामीले संसारलाई ढाँटेर, छलेर जेसुकै गरे पनि हाम्रो मनले त्यसलाई पाप वा धर्म सम्झिरहेको हुन्छ । तिमीले जीवनमा जेसुकै गरे पनि आखिर यो देह एक दिन खरानी हुने नै हो ।

यो पंक्ति कसले रच्यो त्यो सम्झना भएन, तर यो गाईजात्राको वेलामा तानसेनमा नेवारहरूले निकाल्ने निर्गुण वा रामायणको एउटा अंश हो । गाईजात्राको सुरुवात काठमाडौंका राजा प्रताप मल्लले सुरु गरेको मानिन्छ । उनको दिवंगत छोराको यादमा शोकाकुल भएकी आफ्नी रानीलाई तिम्रो मात्र छोरा दिवंगत भएको नभई यो राज्यमा यस्ता सयौं रैतीहरूमा पनि आफन्तहरू दिवंगत भएका छन् भनी सान्त्वना दिन चलाइएको पर्व मानिन्छ ।

गाईजात्रा भने पनि सामान्य जीवनमा नहुने वा नगरिने आफ्ना दिवंगतहरूको सम्झनामा निकालिने झाँकी, भजन, कीर्तन वा प्रहसन भन्ने बुझिन्छ । यसको उत्पत्ति र विकास काठमाडौं उपत्यकामा भएतापनि यहाँका नेवारहरू नेपालका जुन-जुन ठाउँमा बसाइ सरे, त्यहाँ-त्यहाँ यो पर्वलाई पनि साथै लगेर कतिपय ठाउँहरूमा त मौलिक रूप दिए भन्न सकिन्छ ।

पाल्पाको तानसेनमा यसरी नै गाईजात्रालाई मौलिकता दिइएको छ । किनभने तानसेन बजार यस्तो ठाउँ हो जहाँ काठमाडौं उपत्यकामा बसोबास गर्ने सबै नेवार जातजातिको बसोबास पाइन्छ । पछिल्लो चरणमा यो एकदमै पातलो भएको छ र पनि त्यहाँको मौलिक संस्कृति कुनै न कुनै रूपमा जीवितै छ ।

तत्कालीन तानसेन नगर पञ्चायतले जनैपूर्णिमा सुरु हुनुभन्दा करिब एक हप्ता पहिलेदेखि चुईकी निकाल्थ्यो । यो चुईकीलाई दुई अर्थमा बुझिन्थ्यो । पहिलो, यसले बजारवासीलाई अब जात्राको मौसम सुरु हुँदैछ भन्ने सूचना दिन्थ्यो र दोस्रो विभिन्न व्यङ्ग्यवाण, चरित्र तथा हाउभाउ मार्फत भरपूर मनोरञ्जन दिन्थ्यो ।

त्यतिवेला पंचायती व्यवस्था भएको र राजनीति त्यति पारदर्शी नभएको हुँदा त्यस्तो चुईकीमा राजनैतिक व्यङ्ग्य हुँदैनथ्यो, तर अन्य सामाजिक विकृति तथा यौनजन्य व्यङ्ग्य प्रशस्तै हुन्थे । नगरपञ्चायतले आफ्ना कलाकाररूपी कर्मचारी तथा बाहिरका कलाकार समेतको ८/१० जनाको टोलीलाई बाजागाजा सहित खटाउँथ्यो र ती कलाकारहरूले आफ्नो हास्यव्यंग्य कलाको प्रदर्शन गर्ने अवसरको रूपमा लिन्थे ।

तानसेनमा जनैपूर्णिमाको भोलिपल्टदेखि सुरु हुने गाईजात्राको अन्त्य कृष्णाष्टमीको भोलिपल्ट निकालिने भगवती जात्रामा गएर टुंगिने परम्परा रहेको छ । यी सबै कुराहरू सम्झिंदा तानसेन पाल्पा साँच्चिकै संस्कृतिको खानी थियो भन्ने लाग्छ

हामी केटाकेटी हुँदा यस्ता चुईकीहरूको वर्षभरिमा प्रतीक्षा हुन्थ्यो र त्यो चुईकी टोलीको पछि पछि लागेर उनीहरूले प्रस्तुत गर्ने प्रहसन हेर्दै हिंड्थ्यौं । तानसेन बजारको प्रायः सबै टोलहरूमा रोकिंदै ती चुईकी टोलीले प्रस्तुति दिन्थे । यिनीहरूको प्रस्तुति गाईजात्राको अघिल्लो दिन अर्थात् जनैपूर्णिमाको दिनसम्म हुन्थ्यो । चुईकीले माहोल तताइसकेपछि जनैपूर्णिमाको भोलिपल्ट गाईजात्रा सुरु हुन्थ्यो ।

गाईजात्रा भन्ने बित्तिकै सो वर्षमा दिवंगत भएका आफन्तहरूको सम्झनामा गरिने विभिन्न क्रियाकलाप हो । गाईजात्रा भनिने पर्वको मुख्य विश्वास भनेको यहाँ पृथ्वीलोकमा दिवंगतहरूका आफन्तहरूले यो जात्रामा सहभागी भएपछि वा गाईलाई पूजा गरेपछि गाईकै पुच्छर समातेर वैतरणी नदी पार गरेपछि दिवंगतहरू स्वर्ग पुग्छन् भन्ने हो । त्यसैले गाईजात्रा पर्वको वेला चाहे वास्तविक गाईलाई केही शृङ्गार गरेर बजार डुलाउने होस् वा कागज तथा बाँसको प्रयोग गरी ठूलो गाईको आकार बनाई त्यसलाई मान्छेले बोकेर बजार डुलाउने होस्, गाईजात्रा भनेको त्यही हो । दिवंगत भएका घरबाट खासगरी केटाहरूलाई जोगीको रूपमा सिंगारेर एक्लै वा सामूहिक रूपमा पनि बजार डुलाइन्छ । त्यसरी डुलाएका जोगीलाई जात्रालुहरूले दूध-दही तथा फलफूल पनि दिन्छन् ।

अर्को आकर्षण भनेको ताहामचा हो जुन काठमाडौं र तानसेनमा उस्तै-उस्तै हुन्छ । एउटा बाँसको लट्ठीमा खासगरी दिवंगत महिलाका वस्त्रहरू लगाएर मान्छेको आकारमा सिंगारेर बनाइने ताहामचा हो । यसरी ताहामचा बनाएर डुलाउँदा पनि दिवंगत महिलाले स्वर्गमा वास पाउँछिन् भन्ने मान्यता राखिन्छ ।

काठमाडौंमा गाईजात्राको अवसरमा एउटा लामै र ठूलो परेड पनि हुन्छ । त्यसमा मान्छेहरूलाई आफूलाई अनेक रूपरंग र पहिरनमा प्रस्तुत गर्छन् भने पछिल्लो चरणमा यौनिक अल्पसंख्यकहरूले यसलाई आफ्नो गर्वको जुलुसको रूपमा पनि लिने गरेका छन् । त्यो बाहेक स-साना बच्चालाई जोगी वा भगवानको रूपमा केही भजन गाएर पनि डुलाउने गरेको देखिन्छ तर पाल्पा तानसेनमा यो भजन गाउने परम्परा अलि फरक र परिष्कृत छ भन्ने लाग्छ ।

गाईजात्राकै दिन दिउँसोमा निर्गुण भन्ने भजन निकालिन्छ भने रातिमा रामायण । यो निर्गुण र रामायण तानसेनको मौलिक प्रस्तुति हो भन्ने मलाई लाग्छ । वर्गीय रूपमा अलि सम्पन्न परिवारका सदस्य दिवंगत भएका छन् भने यस्तो निर्गुण वा रामायण निकालिन्छ । यो दुवैमा किशोरकिशोरी उमेर समूहका वा त्योभन्दा साना बालबालिकालाई राम, सीता, भरत, शत्रुघ्नको भेषमा मध्यभागमा राखिन्छ, उनीहरूलाई भव्य छतरीले छोपिन्छ । सँगै हार्मोनियम र तबला बोकेका भरिया हुन्छन् र त्यो हार्मोनियम तथा तबला बजाउने पोख्त बादकहरू ।

स्वर राम्रो भएको एक वा दुई जनाले पहिले नै रचना गरिएको मैले माथि नै उल्लेख गरेको जस्तो शैली र भावार्थको भजन भट्याउँछन् र त्यसलाई कोरसको रूपमा एउटा ठूलो समूहले साथ दिन्छ । गाईजात्राको दिनमा हुने प्रमुख आकर्षण यही नै हुन्थ्यो । यस्ता भजनहरूलाई आफ्नै धुनमा त गाइँदैनथ्यो तर शब्द भने मौलिक हुन्थे । तत्कालीन समयका प्रचलित हिन्दी चलचित्रको गीतहरूको लयमा गाइन्थ्यो ।

यस्ता निर्गुण भजनहरू जति स्तरीय र भव्य सुनिन्थे वा देखिन्थे त्यो निकाल्ने परिवार त्यति नै सभ्य र धनी मानिन्थ्यो । किनभने यस्तो निर्गुण निकाल्न पनि त्यतिवेला हजारौं रुपैयाँ खर्च गर्नुपथ्र्यो । कुनै कुनै निर्गुणहरू यस्तो राम्रो र भव्य हुन्थ्यो कि त्यसको चर्चा पछिसम्म पनि हुनेगथ्र्यो ।

मध्यमस्तरको धनीले निर्गुण निकाल्थ्यो भने रातिको समयमा रामायण, यो भन्ने बित्तिकै रामकथा भन्ने अर्थमा पनि लिइन सकिन्छ । तर यो रामायण कथा भने होइन । यो दिउँसोमा देखाइने निर्गुणको अझ परिष्कृत तथा भव्य रूप हो । त्यतिवेला अहिले जस्तो बिजुली थिएन, अतः त्यसको सट्टा मट्टीतेलबाट चल्ने मेन्टोल वा पेट्रोम्याक्स हुन्थ्यो ।

यसमा पनि राम-सीता-लक्ष्मणको रूपमा बालबालिकालाई सजाइएको हुन्थ्यो भने कहिलेकाहीं शिवको रूपमा पनि बालबालिका राखिएका हुन्थे । उनीहरूलाई ठूलो छतरीले छोपिन्थ्यो । निर्गुणमा जस्तै तबला र हार्मोनियम बोक्ने बलिया भरियाहरू हुन्थे र बजाउने बादकहरू ।

तानसेन बजारमा गीत गाउन नामुद कहलिएका कलाकारहरूले मुख्य भजन भट्याउने गर्थे । अन्य कोरस गाउनेहरू छतरी भन्दा अगाडि दुई लाइनमा करिब १५/१५ जनाको हुन्थे, एक वा दुई जनाले पहिले भट्याइसकेपछि यत्रो तीस जनाको कोरसले त्यसलाई दोहोर्‍याउँदा पूरै बजार नै गुञ्जायमान हुन्थ्यो । अर्को आकर्षकको विषय भजन गाउने सबैको एउटै प्रकारको सेतो त्यो पनि भर्खरै सिलाएको र सेतै जुत्ता हुन्थ्यो ।

उनीहरूले धानलाई फुलाएर तयार पारिएको सेतै माला तथा निधारमा सेतै तर जरी भरिएको टीका लगाएका हुन्थे । रातिको मेन्टोलको उज्यालोमा दुईलाइनमा पंक्तिबद्ध भएको बीचमा रामायणका मुख्य पात्रको रूपमा सजिएका बालबालिकालाई छतरी ओढाई हार्मोनियम र तबलाको तालमा गाइएको भजन साँच्चिकै मन्त्रमुग्ध पार्ने खालको हुन्थ्यो ।

कुनै कुनै वर्ष कुनै धनी परिवारको घरमा कुनै मृत व्यक्ति नहुँदा यस्तो रामायण ननिकाल्ने पनि हुन्थ्यो । त्यतिवेला रामायणको खल्लो गाईजात्रा हुन्थ्यो । यस्तो भव्य रामायणको चर्चा तानसेन बजारमा वर्षौंसम्म हुन्थ्यो ।

यो रामायणले तानसेनमा भएमा संगीतकलाका प्रतिभाहरूलाई पनि चिनाउँथ्यो । कुनैवेला चर्चित रहेको देउराली ब्याण्डले सिर्जना गरेको ‘चरी मर्‍यो सिसैको गोलीले’ बोलको गीत अहिले पनि अमृत गुरुङले गाउने गर्छन् । उक्त समूहको उत्पत्ति र विकास पनि यही रामायणले गरेको भन्दा फरक नपर्ला ।

यसरी तानसेनमा जनैपूर्णिमाको भोलिपल्टदेखि सुरु हुने गाईजात्राको अन्त्य कृष्णाष्टमीको भोलिपल्ट निकालिने भगवती जात्रामा गएर टुंगिने परम्परा रहेको छ । यी सबै कुराहरू सम्झिंदा तानसेन पाल्पा साँच्चिकै संस्कृतिको खानी थियो भन्ने लाग्छ । अहिले स्थानीय रैथानेहरू लाखापाखा छन् । बाँकी रहेकाले आफ्नो संस्कृति कत्तिको जीवित राखेका छन्, यसपालिको गाईजात्रा पछि थाहा हुनेछ ।

लेखकको बारेमा
हिरा विश्वकर्मा

लेखक विगत चार दशकदेखि सामाजिक विकास, दलित अधिकार तथा लघुवित्तको क्षेत्रमा क्रियाशील छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?