
काठमाडौं । दशैंमा प्रदर्शनको तयारीमा रहेको फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’को पहिलो गीत सार्वजनिक भएको छ । बिहीबार जनैपूर्णिमाको अवसरमा निर्माताले फिल्मको गीत ‘दुई चुल्ठी बाटन’ सार्वजनिक गरेका हुन् ।
गीतमा अभिनेत्री आँचल शर्मा र अभिनेता निश्चल खड्कालाई फिचर्ड गरिएको छ । गीतमा फिल्मका शीर्ष कलाकार विपिन कार्कीलाई पनि फिचर्ड गरिएको छ ।
आँचल र निश्चलले गीतमा अतिथि भूमिका निर्वाह गरेका हुन् । गीतमा बी पाण्डेको शब्द रचना, सुवास भुसालको संगीत, मेलिना राई र निशान भट्टराईको स्वर छ ।
फिल्मलाई नीरज कँडेलले खिचेका हुन् भने प्रवीण सिंहको नृत्य निर्देशन छ । ‘पशुपति प्रसाद’को मृत्युपछि पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न भष्मे डनको चरित्रले गर्ने संघर्षको कथावस्तुमा फिल्म बनेको छ । भष्मे डन पात्रको भूमिकामा विपिनले अभिनय गरेका छन् । दीपेन्द्र के खनाल निर्देशित र खगेन्द्र लामिछानेको पटकथा लेखन तथा निर्माण रहेको फिल्म दशैंमा नेपालसहित विश्वभर प्रदर्शन गर्ने तयारी छ ।
फिल्ममा सौगात मल्ल, रविन्द्रसिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिश्री थापा, सजन थापामगर, विभु पौडेल र प्रकाश दाहालको पनि अभिनय छ । फिल्मलाई टुकी आर्ट्सको ब्यानरमा निर्माण गरिएको हो ।
प्रतिक्रिया 4