+
+
प्रधानमन्त्रीको चीन भ्रमण :

टोखा–छहरे सुरुङमार्ग र तातोपानी–बाह्रबिसे सडकमा चीनको सहयोग मागिंदै

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०८० भदौ १४ गते २३:५८
फाइल तस्वीर

१४ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ५ असोजदेखि गर्ने चीन भ्रमणमा नेपालले टोखा–छहरे सुरुङमार्ग निर्माण अघि बढाउन प्रस्ताव गर्ने भएको छ ।

प्रधानमन्त्रीको चीन भ्रमणमा काठमाडौंको टोखा र नुवाकोटको छहरे जोड्ने सुरुङमार्ग निर्माणका लागि अनुदान सहयोग माग्ने तयारी भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतले जनाएको छ ।

यातायातसम्बद्ध विभिन्न एजेन्डामध्ये यो विषयलाई सरकारले बढी प्राथमिकतामा राखेको छ । चालु आर्थिक वर्षको बजेटमा यो सुरुङमार्ग निर्माणका लागि अर्थमन्त्री डा. प्रकाशशरण महतले एक अर्ब बजेट छुट्याएका छन् । तर, चीनसँगको नाका केरुङ लक्षित यो सुरुङमार्ग कस्तो डिजाइन र प्रविधिमा बन्ने भन्ने तय हुन भने बाँकी छ ।

असोज २०७६ मा चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आएका बेला टोखा–छहरे–गुर्जुभञ्ज्याङ र बेत्रावती–रसुवागढी (घट्टेखोला) सुरुङमार्गको अध्ययन गर्ने जिम्मा चीनले लिने सहमति भएको थियो ।

चीनसँगको समझदारी अनुसार सुरुङमार्गको डीपीआर बनाउन लाग्ने अध्ययन खर्च चीनले नै ब्यहोरिरहेको छ । वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) भने नेपाल गर्नुपर्नेछ । अध्ययन भइरहेको टोखा–छहरे सुरुङमार्ग खण्डको डीपीआर र ईआईए छिट्टै टुंग्याएर निर्माणमा जाने सहमति गर्न नेपाली पक्ष आतुर छ ।

‘चीनले अध्ययन गरिरहेको परियोजना भएकाले यसमा सहमति हुनसक्ने सम्भावना छ’, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय स्रोतले भन्यो, ‘चीनले अनुदानका लागि नेपाललाई दिएको सिलिङभित्रबाट मात्रै खर्च गर्ने अडान राख्यो भने ठूलो लागतको परियोजनामा समझदारी हुन सहज अवस्था पनि छैन ।’

१५ वैशाखमा अर्थमन्त्री डा. महत र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भएको भेटवार्ता पनि टोखा–छहरे सुरुङमार्ग निर्माणबारे छलफल भएको थियो ।

अर्थमन्त्री महतसँगको भेटमा चिनियाँ राजदूत सोङले नेपालभित्र पूर्वाधार क्षेत्रमै उच्चतम प्रयोग हुने गरी करिब ८० अर्ब रुपैयाँ उपलब्ध गराउन सक्ने जानकारी गराएका थिए ।

नेपालले गरेको प्रारम्भिक अध्ययन र चीनले गरेको सम्भाव्यता अध्ययनले यो आयोजना सम्भाव्य रहेको देखाइसकेको छ ।

अध्ययनमा काठमाडौंको टोखाबाट नुवाकोटको थानसिंह फाँटछेउ पुग्ने करिब ४.२ किलोमिटरको सुरुङ बनाउन सकिने देखिएको थियो । अझ लगानी बढाउने हो भने ५ किलोमिटरभन्दा लामो सुरुङ बनाएर सडकको दुरी घटाउन सकिने सडक विभागका अधिकारीहरुको भनाइ छ ।

टोखाबाट थानसिंह फाँटबाट त्रिशुली हुँदै रसुवासम्म बन्ने सुरुङसहितको सडक गल्छी–स्याफ्रुबेसी खण्डमा जोडिनेछ ।
सेनाले नदी किनारै–किनारै धुन्चे भएर जाने सडकको विकल्पमा गल्छी–स्याफ्रुबेंसी खण्डको ट्रयाक खोलिसकेको छ । त्यसैमा टोखाबाट जाने सडकलाई जोड्ने सरकारको योजना छ ।

स्याफ्रुदेखि रसुवागढीसम्म भने चीनले अहिले सडक विस्तारको काम गरिरहेको छ । यो सुरुङ र पहुँच मार्ग निर्माणपछि काठमाडौंबाट चीनको सीमासम्म मालबाहक गाडी पनि दुई घण्टामै पुग्न सक्ने अधिकारीहरु बताउँछन् ।

भूकम्पयता चीनले तातोपानी नाकालाई प्राथमिकतामा राख्न छाडेपछि रसुवाको रसुवागढी नाकासम्मका पूर्वाधार निर्माणलाई सरकारले महत्व दिएको छ ।

यो योजना पूरा हुँदा नाकासम्म सुविधायुक्त सडक मात्रै बन्ने छैन केरुङ र काठमाडौंको दुरी करिब ८० किलोमिटरमा छोटिनेछ । त्यसैकारण पनि यो एजेन्डालाई प्राथमिकता दिइएको परराष्ट्र मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

त्यसबाहेक प्रधानमन्त्री प्रचण्डको भ्रमणमा अरनिको राजमार्गको तातोपानी–बाह्रबीसे सडकखण्डको पुनर्निर्माणको प्रस्ताव पनि गर्ने तयारी छ ।

२०७२ को भूकम्पले विभिन्न भागमा क्षति पुर्याएपछि हरेक वर्ष वर्षायाममा बाढी र पहिरोले यो सडकमा क्षति पु¥याउँदै आएको छ । यसका कारण विगतमा चीनसँगको प्रमुख नाका रहेको तातोपानी सुनसान बन्न पुगेको छ ।

‘तातोपानीदेखि बाह्रबिसेसम्मको सडकको अवस्था जर्जर छ,’ परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, ‘विगतमा चीन सरकारकै सहयोगमा बनेको सडक भएकाले यसलाई चीनले प्राथमिकता दिन्छ कि भन्ने आशामा छौं ।’

त्यसैगरी प्रधानमन्त्रीको चीन भ्रमणमा नयाँ उत्तरी नाका जोड्ने सडकमार्ग निर्माणको प्रस्ताव पनि गरिँदैछ । ‘क्रस बोर्डर रोडहरु निर्माण र पुनर्निर्माणको लागि प्रस्ताव गर्न खोजेका छौं, सुर्खेत–हिल्सा र दिपायल–चैनपुर उराइभञ्ज्याङ सडकमार्ग निर्माण लागि सहयोग माग्ने विषय वैकल्पिक एजेन्डामा छन्’, स्रोतले भन्यो । उराइ भञ्ज्याङसम्म सडक पुर्याएर मानसरोबरसम्म जाने स्थलमार्ग खोल्ने सरकारको योजना छ ।

प्रधानमन्त्रीको चीन भ्रमणमा काठमाडौंको चक्रपथ विस्तार छिटो अघि बढाउने र केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययनलाई पनि गति दिनेबारे प्रधानमन्त्री भ्रमणमा छलफल हुन्छ ।’

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?