+
+
विचार :

यसरी कम गर्न सकिन्छ काठमाडौंको बाढी र क्षति

काठमाडौं महानगरपालिकाको नगर प्रमुख इन्जिनियर बालेन शाहद्वारा हराएका खोलानाला र छोपिएका ढलहरूको खोजबीन गरी प्राकृतिक अवस्थामा पानीको बहावलाई स्थान दिएकोले गर्दा भविष्यमा बाढीको प्रभाव कम हुन सक्नेछ ।

डा. नेत्रप्रसाद तिमल्सिना, डा. महेन्द्रबहादुर बानियाँ, डा. अर्जुन बानियाँ डा. नेत्रप्रसाद तिमल्सिना, डा. महेन्द्रबहादुर बानियाँ, डा. अर्जुन बानियाँ
२०८० भदौ १४ गते १७:०५

प्राकृतिक प्रकोप भन्ने बित्तिकै नेपालीको मस्तिष्कमा एकैचोटि बाढी वा पहिरो भन्ने आउँछ । नेपालको पहाडी भू-भागमा पहिरो र समथर तराईका भू-भागमा बाढीका कारण वर्षेनि ठूलो जनधनको क्षति हुने गरेको छ । काठमाडौं उपत्यकाको भू-धरातल वरिपरि पहाडहरूले घेरेको र उपत्यकाको जमिन समथर भएको हुँदा पनि वर्षेनि वर्षायाममा डुबानमा परेको प्रत्यक्ष अनुभव गरिएको वा देखिएकै छ ।

काठमाडौं उपत्यकाबाट पानी बाहिरिने मार्ग कम हुँदा र विगतका पानी सोस्ने जमिन कङ्क्रिटले ढाकिंदै जाँदा सऔसाना वर्षात्को पानीले पनि काठमाडौंको ठूलो भू-भाग जलमग्न हुने अवस्था आएको छ ।

डुबानका कारण उत्पन्न हुने क्षति प्रत्येक वर्ष बढ्दै गइरहेको हामीले भोगिरहेका छौं । दीर्घकालीन रूपमा अझ भनौं करिब ५०-१०० वर्षका लागि हुने गरी अहिलेदेखि नै योजना तर्जुमा गर्न सकिएन भने अल्पकालीन प्रयासहरूले २-४ वर्षभन्दा बढी थेग्न सक्दैन । केही वर्ष केही सुधार भएको महसुस गरे तापनि पुनः केही वर्षपछि समस्या जस्ताको त्यस्तै रहनेछ ।

डा. अर्जुन बानियाँ, डा. महेन्द्रबहादुर बानियाँ,  डा. नेत्रप्रसाद तिमल्सिना

जलवायु परिवर्तन र यसको असरले यी समस्या आउने दिनहरूमा अझ विकराल हुन सक्छन् । हालै काठमाडौंको कपनमा बाढीबाट क्षति भएको समाचार, सरकारी निकायबाट उक्त समस्या समाधानका लागि गरेको प्रयासले सामाजिक सञ्जाल छपक्कै भएको थियो ।

केही वर्ष अगाडि कपन मिलनचोक क्षेत्रबाट ढलमा पसेर एक बालकको निधन भयो भने यसपालि सामाखुसी क्षेत्रमा त्यस्तै अत्यन्त दुःखलाग्दो घटना घट्न पुग्यो र एक युवाले ज्यान गुमाउनु परेको थियो।

कपन क्षेत्रमा बाढीबाट उत्पन्न समस्या र समाधानका सन्दर्भमा सामाजिक सञ्जालमा चर्को बहस देखेपछि सो समस्याको समाधानका लागि सिकेका, जानेका र बुझेका केही विचारहरू पाठकसमक्ष राख्ने प्रयास गरेका छौं।

गुरुत्वाकर्षणको सिद्घान्त अनुसार पानी अग्लोबाट होचो भागमा बगेको हुन्छ । पानीको बहावलाई कि निश्चित बाटो हिंड्न दिनुपर्दछ, कि त पर्याप्त बाटो निर्माण गरिदिनुपर्दछ । युगौं अगाडिदेखि अस्तित्वमा रहिआएका खोला, खोल्सी, कुला-नालाहरूलाई भूमिगत गर्दै ह्युमपाइप र बक्स कल्भर्टहरूको रूपमा साँघुरा भागहरूमा सीमित गर्नु र त्यसमाथिको भागलाई फराकिलो सडक कायम गर्नु वा व्यक्तिगत प्रयोजनको लागि पार्किङ स्थल बनाउनु भनेको प्रकृतिसँग जोरी खोजेको प्रतिबिम्बित हुन्छ ।

जल तथा मौसम विज्ञान विभागको तथ्याङ्कहरू अध्ययन गर्र्दा काठमाडौंमा त्यस्तो ठूलो पानी परेको नदेखिए तापनि ठूलो भू-भाग जलमग्न भएको देखिन्छ। यही परेको पानीको उचित व्यवस्थापन गर्न नसकिएका कारण सानोतिनो परेको पानी पनि हामीलाई ठूलो लागेको हो ।

५ वर्ष अगाडिको जत्रो पानी परेको वा १० वर्ष अगाडिको जत्रो पानी परेको सूचनालाई आधार मान्ने हो भने मात्र पनि त्यतिबेलाको भन्दा अहिले परेको पानीले ल्याएको बाढीले बढी समस्या उत्पन्न गराएको अनुभव गर्न सकिन्छ । १० वर्ष अगाडि त्यति नै पानी पर्दा आउने बाढी र अहिले त्यति नै पानी पर्दा आउने बाढीको तुलना गर्दा अहिलेको बाढीले बढी क्षति भएको देखिन्छ ।

त्यसकारण पहिले भन्दा अहिले पानी ठूलो परेको होइन । अहिले परेको सानो वर्षाबाट उत्पन्न हुने पानीको बहावलाई उचित स्थानमा निकास दिनसक्ने पूर्वाधारहरू हामीसँग नभएका कारण ठूलो बाढीको सामना गर्नु परेको हो ।

चित्र नं. १ : कपन बाढी–२०८० (तस्वीर स्रोतः सामाजिक सञ्जाल)

खेतीयोग्य जमिन मासेर कंक्रिटको जंगल बढ्दै जानु, वनजंगलको विनाश हुँदै जानु जस्ता कारणले वर्षात्मा परेको पानी जमिनले सञ्चित गरी भूगर्भमा पानीको भण्डारण गर्नुपर्नेमा थोरै पानी पनि भण्डारण गर्न नसकेकाले यसरी परेको पानी तुरुन्तै सतहमा बग्नुपर्ने भयो । यसका कारण खोला र खोल्साका पानीका बहावहरूमा व्यापक परिवर्तन आएका छन् । यसले शिखर बाढी सिर्जनामा (पिक फ्लड) महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । उस्तै वर्षात्मा पनि वर्षाको तीव्रता (इन्टेन्सिटी मिमि/घण्टा) र समयावधिले बाढीको आकार र प्रकारमा फरक ल्याउँछ ।

कम समयमा हुने ठूलो वर्षाले आकस्मिक बाढी (फ्ल्यास फ्लड) निम्त्याउँछ । हामीले खोलाको फ्लड प्लेन (बाढी आउँदा मात्र पानी बग्ने क्षेत्र) मात्र होइन, मुख्य पानी बग्ने भागलाई (रिभर च्यानल) पनि साँघुरो पारेर ढल, पाइप र बक्स कल्भर्टको प्रयोग गरेर प्राकृतिक बहावलाई संकुचित बनाई प्रकृतिमाथि धेरै नै मानवीय अत्याचार ग¥यौं र गरिरहेका छौं ।

प्रकृतिमाथिको मानवीय अत्याचारको परिणामस्वरूप जुन फ्लड प्लेनमा मानव बसोबास गरेका छन्, उनीहरूले अझ बढी बाढीको समस्या भोगिरहेका छन् । (चित्र नं. २) अप्रत्यक्ष रूपमा सर्वसाधारण सबैले यसको महँगो मूल्य चुकाउनु परिरहेको छ ।

 

चित्र नं. २: बाढीले ओगट्ने सतह र यसमा मानव अतिक्रमण (तस्वीर स्रोतः गुगल)

यहाँनेर हामी सबैले मनन गर्नुपर्ने कुरा के छ भने बक्स कल्भर्ट वा पाइपहरू भनेका स-साना खोल्सा/खोलालाई धेरै नै सानो लम्बाइमा पार गराउनका लागि मात्रै बनाउने संरचना हुन् । खोलालाई नै वा बाढी बगाउनका लागि खोलाको लम्बाइको आकारमा बनाइने संरचनाहरू होइनन् ।

यी संरचनाहरूको निर्माणमा पनि पानीको बहावलाई निकास दिने क्षमता डिजाइन गरेर मात्रै निर्धारण गरिएको हुनुपर्दछ । पानीको निकास दिने संरचनाहरूको डिजाइन गर्दा भविष्यमा त्यहाँ आउन सक्ने पानीको मात्रा, संरचना निर्माणस्थलको माटोको प्रकार र सतहमा आउन सक्ने सवारी चापहरूलाई मध्यनजर गरी यकिन सहित बनाइएको हनुपर्दछ ।

यिनीहरूका डिजाइन गर्ने आफ्नै मापदण्ड, निर्देशिका (गाइड लाइन्स)हरू तोकिएका हुन्छन् । हाइड्रोलीकल्ली उत्तिकै क्षेत्रफलको (क्रस सेक्सन) खुल्ला नहर/कुलाहरूको तुलनामा बक्स कल्भर्ट र पाइपमा पानी बग्न सक्ने क्षमता कम हुन्छ ।

पाइप र बक्स कल्भर्टहरूमा माटो, ढुंगा, रूख लगायत अन्य वस्तुहरू छिरेर टाँसिन सक्छ र यसले गर्दा पानी बग्ने भागको क्षेत्रफल कम हुने गर्छ । साथै केही चिज खस्यो वा मान्छे वा कुनै जनावर नै खस्यो भने पनि त्यसको बाँच्ने सम्भावना वा भित्रबाट निकाल्ने सम्भावना धेरै नै कम हुन्छ ।

अर्को पक्ष हेर्दा खुल्ला नहर, खोला, खोल्साले वायुमण्डलमा भएको अक्सिजन पानीको सतहसँग साटेर बहेको पानी आफैं शुद्धीकरण (सेल्फ प्यूरिफिकेशन) हुने प्रक्रिया हुन्छ । खोला, खोल्साहरूमा बहने पानी जब अगाडि बढ्दै जान्छ, त्यसको जलाधार क्षेत्र पनि क्रमशः बढ्दै जान्छ । यसले पानीको मात्रा (लेटरल इन्फ्लो) र बहाव क्षेत्र समेत बढाउँछ ।

उल्लिखित कारणले पनि खोला, खोल्सा, नहरहरूमा बक्स कल्भर्ट वा पाइपहरूले ढाकिनु भनेको स-सानो बाढीमा नै ठूलो दुर्घटना निम्त्याउनु हो ।

शहरलाई धुलोमुक्त क्षेत्र बनाउन एकातिर खुल्ला भएका चौर, सडक निर्माण पछिको दायाँ, बायाँ किनारामा माटोको सतहलाई कङ्क्रिट वा कालोपत्रेको सतहले छोप्ने कार्य भयो भने अर्कोतर्फ खुल्ला रहेका जग्गाहरू, ठूला खेतीयोग्य फाँटहरू व्यवस्थित शहर निर्माण हुने क्रममा भू-खण्डीकरण भई स-साना घडेरीमा परिवर्तन हुनगई भवनहरू निर्माण भएकोले जमिनभित्र सोस्ने पानीलाई उपलब्ध हुने माटोको सतह कम हुनपुग्यो ।

भौतिक पूर्वाधार निर्माणमा कंक्रिट वा कालोपत्र प्रयोगको कारणले एकातिर हामीले बाढीको आयतन बढायौं भने अर्कोतिर बाढीको पानी बहने बाटो साँघुरो बनायौं वा बन्द नै गरिदियौं ।

गुगल अर्थमा उपलब्ध भएका ऐतिहासिक तस्वीरहरूको संग्रह क्रमशः अध्ययन गर्दा विगतमा कपन क्षेत्रमा मानव बस्तीहरू धेरै नै कम देखिन्छ । (चित्र नं. ३ क) जनघनत्व बढेसँगै २० वर्षको अवधिमा अधिकांश भवन, स्थानीय पदमार्ग, सडक, पुलपुलेसा र अन्य भौतिक पूर्वाधारहरूको निर्माण उल्लेखनीय रूपमा बढेको देख्न सकिन्छ ।

मानव बस्तीहरूको वृद्घि सँगसँगै खुला स्थानहरूमा मानव अतिक्रमण बढ्न गएको कारणले धोबीखोला र यसका सहायक स–साना खोला खोल्सीहरूलाई पाइप र बक्स कल्भर्टले छोपी फराकिला सडक निर्माण भए सँगसँगै अन्य भौतिक संरचनाहरूको निर्माण बढेको स्पष्टसँग देख्न सकिन्छ । (चित्र नं. ३ ख) त्यसैको परिणाम हो अहिलेको बाढीले देखाएको कपनको दुर्दशा ।

चित्र नं. ३: कपनको बस्ती (क) सन् २००३ (ख) सन् २०२३ (तस्वीर स्रोतः गुगल अर्थ )

हालै नर्वेको दक्षिण पूर्वीय क्षेत्रमा बाढीले ठूलो वितण्डा मच्चायो । यसलाई सरकारी निकायले उच्च सतर्कता अपनाउन उर्दी जारी गर्‍यो । त्यो बाढी १०० वर्षमा एकपटक पुनरावृत्ति (फ्लड रिटर्न पिरियड) हुने खालको भन्दा ठूलो भएको अनुमान गरिएको छ ।

नगरपालिका, प्रहरी र समाजसेवी संस्थाले निरन्तर विपद् व्यवस्थापनमा ध्यान दिए । फलस्वरूप जनधनको क्षतिलाई कम गर्न ठूलो मद्दत पुग्यो । यस बाढीले करिब १०० मिलियन अमेरिकी डलर बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ । सर्वसाधारणले सरकारी संयन्त्रको विपत् व्यवस्थापनमा गरेका कामहरूको राम्रो प्रशंसा गरेका छन् ।

विपत् व्यवस्थापनलाई अझ प्रभावकारी बनाउनलाई थप सुधारका कार्यहरू गर्न सुरु भइसकेको छ । विकसित देश नर्वेको जस्तै नेपालमा बाढी आएमा नर्वेको भन्दा हजारौं गुणा ठूलो जनधनको क्षति हुने निश्चितप्रायः छ ।

विकसित देशमा हुने विपत् व्यवस्थापन र सीमित स्रोत-साधनमा यहाँ हुने विपत् व्यवस्थापनमा फरक भएतापनि नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरी चौबिसै घण्टा विपत् व्यवस्थापनको लागि तयारी अवस्थामा रहेका छन् ।

हालसम्म अल्पकालीन समयको लागि गरिएको पूर्वाधार निर्माणले जे जस्तो क्षति भएको छ, त्यसलाई शिक्षाको रूपमा ग्रहण गरी अगाडि बढ्नु नै उत्तम हुन्छ । निर्माण सम्पन्न भइसकेका पूर्वाधारहरूलाई दोष दिएर वा समस्या समाधानका नयाँ उपायहरू पत्ता नलगाई त्यत्तिकै हात बाँधेर समय खेर फालेर बस्नु मूर्खता हुनेछ ।

केही समयपछि वर्षात् कम भई बाढी पनि कम हुन जान्छ, हामी सबैले अहिलेको जलमग्न अवस्थालाई केही समयको लागि बिर्सन पुग्छौं । जब वर्षाको सुरुवात हुन्छ, तब मात्र गत वर्षाको क्षतिलाई हामी सम्झन पुग्छौं ।

हामी अहिले यत्तिकै बस्यौं भने वा समस्याको अल्पकालीन समाधान मात्र निकालेर बस्यौं भने केही समयपछि हामीले नै वा हाम्रो भावी पुस्ताले अहिलेको भन्दा झन् धेरै विकराल समस्या भोग्नुपर्नेछ । त्यसकारण यस्ता समस्याको दीर्घकालीन रूपमा समाधान निकाल्न सकिने तीन प्रमुख उपायहरू तल प्रस्तुत गरिएको छ ।

१. वर्षा तीव्रता समय रेखा (इन्टेन्सिटी ड्यूरेशन कर्भ) को प्रयोग गरेर ५-१०-५०-२०० वर्षको क्वालिटी फ्लड एनालाइसिस गरी बाढीका आकार-प्रकार पत्ता लगाउनुपर्दछ । यसका लागि हाइड्रोलोजिकल मोडलहरू प्रयोग गर्न चाहिने आवश्यक तथ्याङ्कहरू (इनपुट डाटा) जस्तैः डिटिएम (टेरिएन डाटा), वर्षाका तथ्याङ्कहरू, ल्यान्ड यूज डाटा आदि प्रयोग गरेर बाढीलाई प्रक्षेपण (फ्लड फोरकास्टिङ) गर्न सकिन्छ । यसका लागि नेपाली विज्ञहरू जति पनि भेटिन्छन् ।

उदाहरणका लागि एनटीएनयू नर्वे लगायत अन्य विश्वविद्यालयहरूमा हाइड्रोलोजी विषयमा गराइएका मास्टरका थेसिसहरू वा पीएचडीका प्रोजेक्टहरू नै काफी हुन्छन् । जसबाट बाढीको आकार र समयावधि पत्ता लगाउन सकिन्छ ।

२. बाढीको आकारप्रकार अनुसार खोलामा पानीको सतह कहाँ पुग्छ भनेर आकलन गर्न सकिन्छ । यसका लागि विश्वमै नाम चलेका सफ्टवेयरहरू निःशुल्क पाइन्छन् । जस्तैः एचईसी–आरएएस वनडी/टुडी, एचईसी–एचएमएस, आईआरईसी आदि ।

यसबाट पानी बग्दा चाहिने पानीको सतह र बाढीले पार्ने प्रभावित क्षेत्र (फ्लड ईनन्डेसन म्याप) को नक्सा तयार गर्न सकिन्छ ।

३. फरक फरक बाढीमा फरक फरक पानीको सतह पत्ता लगाइसकेपछि खोला वा बाढी प्रभावित क्षेत्रको दायाँ र बायाँ किनारामा चिनो (मार्किङ) लगाउने र बाढी प्रभावित क्षेत्रमा रेखांकन गरी विपत् व्यवस्थापनलाई चुस्तदुरुस्त राख्नुपर्दछ । ताकि जसले गर्दा भविष्यमा बाढीबाट हुने जनधनको क्षति कम गर्न सकियोस् ।

बाढीको प्रभावबाट जोगिन वा क्षति कम गर्न प्रत्यक्ष र अप्रत्यक्ष प्रभावित सबैले आ-आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्न अत्यन्त आवश्यक छ। संस्थागत रूपमा भन्ने हो भने खोलानाला, जग्गा, जमिनको संरक्षण गर्ने र रेखदेख गर्ने जिम्मेवारी सरकारको हो । यसका लागि सरकारले तय गरेका कानुनहरूको पालना गर्नु सर्वसाधारणको कर्तव्य हो ।

माथि उल्लेख गरिएका तीन वटा उपाय लागु गराउन अहिलेको स्थानीय सरकार नै सक्षम देखिन्छ । आवश्यकता अनुसार माथिल्ला निकायसँग समन्वय गर्न पनि स्थानीय सरकारले क्षमता राख्दछ ।

सर्वप्रथम त हालको पानीका लागि बनाइएका साँघुरा संरचनाहरू हटाएर पानीको बहाव क्षेत्रलाई खुला नै राख्नुपर्दछ । यसो गर्दा खोला आसपासमा गैरकानुनी रूपमा रहेका संरचना हटाउने र कानुनतः रहेका संरचना उपभोक्ताहरूलाई सम्झाई, बुझाई वा क्षतिपूर्ति समेतको व्यवस्था गरी हटाउनुपर्दछ ।

सर्वसाधारणले पनि आफ्ना कारणले आफू र समाजले नै क्षति व्यहोर्नुपर्ने तथ्यलाई आत्मसात् गरी सरकारलाई सहयोग गर्नुपर्दछ ।

हाल काठमाडौं महानगरपालिकाको नगरप्रमुख इन्जिनियर बालेन शाहद्वारा हराएका खोलानाला र छोपिएका ढलहरूको खोजबीन गरी प्राकृतिक अवस्थामा पानीको बहावलाई स्थान दिएकोले गर्दा भविष्यमा बाढीको प्रभाव कम हुन सक्नेछ ।

कपनको रोडमा आएको बाढी।

अब बन्ने नयाँ घर, मठ-मन्दिर, पुलपुलेसा लगायत भौतिक संरचनाहरू कम्तीमा पनि २०० वर्षमा एकपटक पुनरावृत्ति हुने बाढीले गर्दा आउने पानीको सतह अनुमान गरी त्यसभन्दा माथि कम्तीमा ५० सेमी दूरी (मार्जिन) कायम राखेर मात्र भवन निर्माण गर्ने अनुमति दिनुपर्दछ ।

सरकारी निकायले बाढी नियन्त्रणका लागि अवलम्बन गरेका तौरतरिका र गणितीय औजारहरूलाई (न्यूमेरिकल मोडल्स) निरन्तरता दिनुपर्दछ र यसलाई प्रयोग गरेका अनुभवका आधारमा सुधार गर्दै लैजानु आजको आवश्यकता हो ।

अध्ययन अनुसन्धानबाट प्रेषित प्रतिवेदनहरूलाई शतप्रतिशत कार्यान्वयनमा लैजान सके मात्र बाढीको विपत्तिबाट हुने क्षतिलाई कम गर्न सकिन्छ ।

भौतिक पूर्वाधार विकासका लागि विनियोजित बजेट र कार्यक्रमहरूलाई छिटो कार्यान्वयनमा लैजान लागत घटाई डिजाइन गर्ने विद्यमान परिपाटी अन्तर्गत निर्माण गरिएका संरचनाहरू सधैं जोखिमपूर्ण रहिरहनेछन् ।

वर्षा र बाढीको पूर्वानुमान झैं पर्याप्त अध्ययन अनुसन्धानबाट बाढी र यसको प्रभावको आकलन गर्ने प्रणालीको विकास गर्नु अति आवश्यक भइसकेको छ । कम्तीमा यति मात्र गर्न सकिएमा वर्षैपिच्छे हुने बाढीलाई व्यवस्थापन गरी बाढीबाट हुने क्षति न्यूनीकरण गर्न सकिन्छ ।

(डा. नेत्रप्रसाद तिमल्सिना नर्वेमा हाइड्रोपावर क्षेत्रअन्तर्गत ड्याम सेफ्टीमा कार्यरत सिनियर इन्जिनियर हुन् भने डा. महेन्द्रबहादुर बानियाँ गण्डकी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पूर्वाधार विकास निर्देशनालय कास्कीमा कार्यरत सिनियर डिभिजनल इन्जिनियर हुन् । डा. अर्जुन बानियाँ युनाइटेड टेक्निकल कलेज, भरतपुर—११ मा कार्यरत रिसर्च डाइरेक्टर हुन् ।)     

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?