
१४ भदौ, दाङ । दाङको राप्ती गाउँपालिकाले ज्येष्ठ नागरिक, गर्भवती तथा सडक दुर्घटनाका घाइतेका लागि निःशुल्क एम्बुलेन्स सञ्चालनमा ल्याएको छ ।
गाउँपालिकाभित्र बसोबास गर्ने ८० वर्षदेखि माथिको उमेर समूहका ज्येष्ठ नागरिक, क र ख वर्गका अपाङ्गता भएका व्यक्ति, प्रसूति सेवाका लागि गर्भवती तथा सुत्केरी महिला, सडक दुर्घटनाका घाइते, सडक सहयोगापेक्षी मानवका लागि निःशुल्क एम्बुलेन्स सञ्चालन गरेको गाउँपालिकाले जनाएको छ ।
एम्बुलेन्सले उपचारका लागि पालिकाभित्र रहेका सरकारी स्वास्थ्य संस्थासम्म निःशुल्क पुऱ्याउने छ ।
सिसहनिया स्वास्थ्य चौकीमा रहेको पुरानो एम्बुलेन्सलाई मर्मत गरेर सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष प्रकाश विष्टले बताए । ‘केही महिनापछि नयाँ एम्बुलेन्सबाट सेवा दिन्छौं’, उनले भने, ‘यो सेवाबाट जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती तथा सुत्केरी महिलाहरु बढी लाभान्वित हुने छन् ।’
उनले नागरिकलाई स्थानीय सरकारको अनुभूती गराउने गरी काम गरिरहेको बताए ।
यसअघि गाउँपालिकाले कृषकका लागि कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको थियो ।
प्रतिक्रिया 4