
१५ भदौ, काठमाडौं । काठमाडौंको ऐतिहासिक तथा साँस्कृतिक महत्वको गाईजात्रा पर्व मनाउनका लागि काठमाडौं महानगरपालिकाले असन, भोटाहिटी, हनुमानढोका र त्यस वरपरका क्षेत्रमा सबै प्रकृतिका सवारी साधन प्रवेशमा रोक लगाएको छ ।
सापारु अर्थात् गाईजात्रालाई व्यवस्थित र सहज ढंगले सन्चालन गर्न महानगरपालिकाले रुट निर्धारण गरेको छ र उक्त रुटमा सवारी साधन प्रवेशमा रोक लगाएको छ ।
महानगरपालिकाले जारी गरेको सूचना अनुसार असन, केलटोल, इन्द्रचोक, मखन, हनुमानढोका दरबार, मरु टोल, चिकँमुगल, जैशीदेवल, ज्याबहाल, लगन चोक, गोफल, ब्रह्मटोल, बन्डे, ह्युमत क्षेत्रमा सबै प्रकृतिका सवारी साधन निषेध गरिएको छ ।
यसैगरी कोहिटी, भिमसेनस्थान, मरु टोल, प्याफल, ढोकाटोल, मुकुमबही, यट्खा, नरदेवी, टेंगल, न्ह्योखा, बांगेमुढा, न्हैकन्तला, असन, कमलाछी, भोटाहिटी क्षेत्रमा पनि सवारी साधन सन्चालनमा रोक लगाइएको महानगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।
गाईजात्राका लागि निर्धारण गरिएका परिक्रमा मार्गमा सवारी साधन आज रोक लगाइएकाले वैकल्पिक सडक प्रयोग गर्न भनिएको छ । जात्रालाई व्यवस्थित र अनुशासित बनाउन नगर प्रहरी, नेपाल प्रहरी र स्वयंसेवकको टोली पनि खटाइएको छ ।
गाईजात्रा पर्व मनाउनका लागि काठमाडौं महानगरपालिकाले आज महानगर क्षेत्रभित्र सार्वजनिक विदा दिएको छ ।
नेपाल पञ्चांग निर्णायक विकास समितिले भदौ १४ गते जनैपूर्णिमा र गाईजात्रा एकै दिन मनाउनुपर्ने भनेर सूचना जारी गरे पनि केही क्षेत्रमा आज मात्र गाईजात्रा मनाइँदै छ ।
प्रतिक्रिया 4