
सोसल मिडिया प्लाटर्फम एक्स (ट्वीटर) ले प्रयोगकर्ताका विभिन्न बायोमेट्रिक जानकारीहरु संकलन गर्ने भएको छ ।
पछिल्लोपटक प्लाटर्फमको गोपनीयता नीति अद्यावधिक गर्दै एक्सले सशुल्क सेवा लिएका अर्थात् प्रिमियम प्रयोगकर्ताको अकाउन्ट भेरिफिकेसनका लागि सेल्फी वा फोटोसहितको परिचयपत्र लिने भएको हो ।
साथै एक्सले प्रिमियम प्रयोगकर्ताको रोजगारी र शैक्षिक अवस्थाको बारेमा पनि जानकारी संकलन गर्नेछ।
यस्तो डेटा प्रयोगकर्तालाई सम्भावित रोजगारीका लागि सिफारिस गर्न वा जागिरमा आवेदन गर्दा सम्भावित रोजगारदातासँग जानकारी शेयर गर्नमा प्रयोग गरिने एक्सको नयाँ नीतिमा उल्लेख छ ।
सोसल मिडिया प्लाटर्फम एक्सले निकट भविष्यमा एक्स प्लाटर्फमबाटै जागिर खोज्न सकिने सेवा सुरुवात गर्ने योजना बनाएको छ । सोही अनुरुप गत मे महिनामा कम्पनीले प्रविधि क्षेत्रमा जागिर खोजिदिने सेवाको रुपमा रहेको प्लाटर्फम लास्की खरिद गरेको थियो ।
एक्सले पछिल्लोपटक अद्यावधिक गरेको प्राइभेसी नीति सेप्टेम्बर २९ बाट लागू हुनेछ ।
नयाँ नीतिमा भनिएको छ – हामीले तपाईंका व्यक्तिगत जानकारीहरु संकलन गर्नेछौं (जस्तै तपाईंको रोजगारीको इतिहास, शैक्षिक इतिहास, रोजगारीको प्राथमिकता क्षेत्र, सीप, क्षमता, जागिरको खोजी सम्बन्धी क्रियाकलाप तथा सहभागिता आदि) र त्यसलार्य तपाइँका लागि सम्भावित जागिरको सिफारिस गर्न, तपाईंले जागिरको लागि आवेदन गर्दा सम्भावित रोजगारदातासँग शेयर गर्न, रोजगारदातालाई उपयुक्त उम्मेदवार फेला पार्नका लागि सहयोग गर्न र बढीभन्दा बढी सान्दर्भिक विज्ञापनहरु देखाउनमा प्रयोग गर्नेछौँ ।
प्रयोगकर्ताका विभिन्न जानकारीहरु संकलन तथा प्रयोग गर्ने एक्सको पछिल्लो निर्णयलाई लिएर विज्ञहरुले भने चिन्ता व्यक्त गरेका छन् । वाशिंटन विश्वविद्यालयकी प्राध्यापक लिबर्टी भिट्टेर्ट प्रयोगकर्ताका विवरणहरु रोजगारदाताले दुरुपयोग गर्नसक्ने तथा उसका ट्वीट, रिट्वीट तथा फलो गरेका अकाउन्टहरुको आधारमा समेत जागिर दिने वा नदिने कुराको निर्णय गर्नसक्ने बताउँछिन् ।
प्रविधि नैतिकतासम्बन्धी अनुसन्धानकर्ता डाक्टर स्टेफाइन हारेका अनुसार एक्सको पछिल्लो नीति प्रयोगकर्ताको सहमतिको निहुँमा व्यापक रुपमा तथ्यांकहरु हात पार्ने कदमको रुपमा रहेको छ ।
एक्सका अनुसार प्रयोगकर्ताको अनुहारको स्क्यान वा फिंगरप्रिन्ट जस्ता बायोमेट्रिक डाटाहरु संकलन गर्ने नियम केवल एक्सका प्रिमियम प्रयोगकर्ताका लागि मात्रै लागू हुनेछ । साथै यसमा प्रयोगकर्तालाई आफ्नो थप प्रमाणीकरणका लागि सेल्फीसँगै सरकारी परिचयपत्र समेत अपलोड गर्ने विकल्प पनि दिइनेछ ।
एक्समा निकट भविष्यमै अडियो तथा भिडियो कल फिचर सुरुवात गर्ने योजना कम्पनीका मालिक एलन मस्कको रहेको छ । यो फिचर आइओएस, एन्ड्रोइडका साथै म्याक र विन्डोज कम्प्युटरमा पनि हुनेछ ।
बीबीसी
प्रतिक्रिया 4