+
+

होटलको स्वीमिङ पुलमा करेन्ट लाग्दा एक जना गम्भीर घाइते

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १७ गते १:४८
फाइल तस्वीर

१७ भदौ, काठमाडौं । ललितपुर–३, पुल्चोकस्थित होटल स्वायरको स्वीमिङ पुलमा करेन्ट लागेर एक जना गम्भीर घाइते भएका छन् ।

शुक्रबार अपराह्न साढे ३ बजे होटलको छतमा रहेको स्वीमिङ पुलमा एक्कासी करेन्ट फैलिँदा ४१ वर्षीय सजिलमान शाक्य गम्भीर घाइते भएका हुन् ।

श्रीमती र छोरीसहित शाक्य होटलमा गएका थिए । आधा घन्टा परिवार पौडिइरहेका बेला चस्मामा बाफ जम्यो भनेर छोरी निस्किएका बेला उनलाई करेन्ट लागेको शाक्यको परिवारले जनाएको छ ।

गम्भीर घाइते शाक्यकी बहिनी सुस्मिताका अनुसार, हिटेड स्वीमिङ पुल भएकाले त्यहाँ बिजुली जडान गरिएको पाइएको छ ।

‘होटल खुलेको पनि धेरै भएको थिएन, यसका सञ्चालकहरुले गरेको लापरबाहीले गर्दा दाइ गम्भीर घाइते हुनुभयो’, उनले भनिन्, ‘मेडिसिटी अस्पतालमा अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।’

जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख सिद्धिविक्रम शाहका अनुसार, प्रहरी टोलीले घटनास्थलमा पुगेर मुचुल्का गरेको छ ।

‘करेन्ट कसरी लाग्यो भन्नेबारे चाहिँ अनुसन्धान भइरहेको छ, इञ्जिनियरहरुसहितको टोली गएर पनि हेर्ने तयारी गरेका छौं’, उनले भने, ‘चिकित्सकहरूको रिपोर्टबाट पनि कारण यकिन होला ।’

गम्भीर घाइते भएका शाक्यको परिवारका सदस्यहरुले भने चिकित्सकले ‘इलेक्ट्रिक सक’ लागेको देखिएको बताएको जनाएका छन् ।

होटल सञ्चालक रोमी अर्याल देवकोटाले भने स्वीमिङ पुलमा कुनै लिकेज वा करेन्टको फ्लो नभएको दाबी गरिन् ।

‘हरेक दिन परीक्षण पनि गरिरहेका हुन्छौं, विद्युत्को फ्लो भएको देखिँदैन’, उनले अनलाइनखबरसँग भनिन्, ‘अरु प्रहरीको अनुसन्धानबाट देखिएला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?