
१८ भदौ, काठमाडौं । कोशीका मुख्यमन्त्री उद्धव थापाको विश्वासको मतसम्बन्धी विवादमा सोमबार सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ सुरु भएको छ । सोमबार निवेदक एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीको तर्फबाट बहस भइरहेको छ ।
बहस गरिरहेका वरिष्ठ अधिवक्ता रविनारायण खनाललाई न्यायाधीश सपना प्रधान मल्लले मत सच्याउने समयमा मतदान गर्न मिल्ने कि नमिल्ने भनी सोधेकी छन् । ४ भदौमा मुख्यमन्त्री थापाले विश्वासको मत लिँदा सभाको अध्यक्षता गरिरहेका इस्राइल मन्सुरीले मत सच्याउने समयमा मतदान गरेका थिए ।
‘तपाईहरुले मतदान गर्ने समय सकिएर मत सच्याउने समयमा सभाका अध्यक्षले मतदान गरेको कुरा उठाउनुभएको छ । त्यसो गर्न मिल्ने हो कि नमिल्ने ? अलि विस्तृत रुपमा खुलाउनुहोला’ न्यायाधीश मल्लको प्रश्न थियो ।
जवाफमा वरिष्ठ अधिवक्ता खनालले भने, ‘मत व्यक्त भइसकेपछि सच्याउने मौका दिएको बेलामा मत व्यक्त गर्न मिल्दैन । अझ उहाँको हकमा त सच्याउने समय समेत सकिएपछि मत व्यक्त गर्नुभएको कुरा आएको छ ।’
४ भदौमा प्रदेशसभाको अध्यक्षता गरिरहेका मन्सुरीको मत समेत गणना गरेर मुख्यमन्त्री थापाले विश्वासको मत पाएका थिए । त्यसविरुद्ध एमाले संसदीय दलका नेता कार्कीले दिएको रिटमाथि सुनुवाइ भइरहेको हो ।
प्रतिक्रिया 4