
काठमाडौं । ‘दुई नम्बरी’बाट नेपाली फिल्ममा डेब्यु गरेकी चर्चित भुटानी अभिनेत्री उगेन छोदेनको कमब्याक पक्का भएको छ । वैशाखदेखि छायांकन हुने फिल्ममा उनलाई शीर्ष भूमिकामा लिएर किरण नेपालीले फिल्म बनाउन लागेका छन् ।
अनलाइनखबरसँग कुरा गर्दै नेपालीले नयाँ फिल्ममा छोदेनसँग सहमति जुटेको बताए । उनका अनुसार ‘दुई नम्बरी’को सिक्वेलमा उनलाई कास्ट गर्नेबारे तयारी भइरहेको छ । केही दिनअघि निर्माता नेपालीले फेसबुकबाट छोदेनसँगको तस्वीर सेयर गर्दै दोस्रोपटक सहकार्य गर्न लागेको बताएका थिए ।
‘दुई नम्बरीको सिक्वेल हुने सम्भावना ८० प्रतिशत छ । वैशाखदेखि छायांकन हुने भएकाले हामी तयारीमा अवस्थामा छौं । अहिले प्रि-प्रोडक्सनमा काम भइरहेको छ,’ नेपालीले भने । ‘दुई नम्बरी’मा उगेनले जहाज दुर्घटनामा मृत्यु भएका आमाबुवाको दुर्घटनास्थल भएको गाउँमा काम गर्न भुटानबाट आएकी पात्रको भूमिका निर्वाह गरेकी थिइन् ।
‘दुई नम्बरी’ हिट भएसँगै फिल्ममा उनको अभिनयलाई रुचाइएको थियो । थुप्रै भुटानी फिल्ममा समेत अभिनय गरेकी उगेनले भुटानको राष्ट्रिय चलचित्र पुरस्कार समेत जितेकी छन् । उनी बेलाबेलामा नेपाल भ्रमणमा आइरहन्छिन् । उनको कमब्याक पक्का भएपछि फ्यान खुसी भएका छन् ।
प्रतिक्रिया 4