
१८ भदौ, काठमाडौं । कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने दिन प्रदेशसभाको अध्यक्षता गरेका इस्राइल मन्सुरीले संसदीय दलको ह्वीप मानेर आफूले विश्वासको मत दिएको दाबी गरेका छन् ।
मन्सुरीले मुख्यमन्त्रीलाई विश्वासको मत दिनु असंवैधानिक हो भन्दै एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतमा रिट दिएका थिए । सो रिटमा सर्वोच्चले मागेको लिखित जवाफ बुझाउँदै मन्सुरीले मुख्यमन्त्रीलाई विश्वासको मत दिन कांग्रेस संसदीय दलको ह्वीप जारी गरेको र कांग्रेस प्रदेशसभा सदस्यको हैसियतमा आफूले ह्वीप मानेको बताएका हुन् ।
‘उक्त दिन बैठक सञ्चालन गर्दा आफू सभामुख तथा उपसभामुख कुनै पदमा नभएको र पार्टीको ह्वीप पालना गर्नुपर्ने बाध्यता भएका कारण अध्यक्ष मण्डलका सदस्य गीता तिम्सिनालाई बैठकको अध्यक्षताको लागि आह्वान गरी मैले मुख्यमन्त्रीलाई विश्वासको मत दिएको हुँ’, मन्सुरीले लिखित जवाफमा भनेका छन् ।
त्यस दिन अध्यक्ष मण्डलका सदस्यहरु अम्बरबहादुर विष्ट र मालतीकुमारी लिम्बुले विरामी परेको भनी बिदा लिएका थिए । आफूभन्दा ज्येष्ठ सदस्यले बिदा लिएपछि आफैंले केहीबेर मात्रै बैठकको अध्यक्षता गरेको भन्दै उनले पार्टीको ह्वीप पनि बाध्यकारी भएको दाबी गरेका छन् ।
कांग्रेसले सबै सदस्यलाई विश्वासको मत व्यक्त गर्न ह्वीप जारी गरेको तर त्यसपछि उपसभामुख सृजना दनुवारले विरामी परेको भनी आफूलाई बैठकको अध्यक्षता गर्न तोकिएको पत्र दिएकाले आफूले सभाको अध्यक्षता गर्नुपरेको उनको जिकिर छ ।
‘मैले अध्यक्षता गरेको समयमा विश्वासको मतमा हस्ताक्षर गरेको नभई गीता तिम्सिनाले अध्यक्षता गरेको समयमा मत विभाजन प्रक्रियामा हस्ताक्षर गरेको हुँ’ उनले लिखित जवाफमा भनेका छन्, ‘मैले आफ्नो मताधिकार प्रयोग गरेको मात्र हो । मैले हिक्मत कार्कीको कुनै कानुनी, संवैधानिक हक अधिकार हनन गरेको छैन ।’
यो विवादमा सर्वोच्च अदालतको पूर्ण इजलासमा सोमबारदेखि सुनुवाइ भएको छ । न्यायाधीश सपना प्रधान मल्ल, डा. कुमार चुडाल र नहकुल सुवेदीको इजलासमा सोमबार रिट निवेदक पक्षका कानुन व्यवसायीले बहस गरेका छन् ।
प्रतिक्रिया 4