
१८ भदौ, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसाल र नेपालका लागि रसियाका राजदूत एलेक्सी नोभिकभबीच शिष्टचार भेटवार्ता भएको छ ।
सोमबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा मन्त्री भुसाल र राजदूत नोभिकभबीच शिष्टचार भेट भएको मन्त्री भुसालको सचिवालयले जनाएको छ ।
भेटका क्रममा मन्त्री भुसालले दुई देश बीचको सहकार्यलाई प्रबद्र्धन गर्दै व्यापार, लगानी, ऊर्जा र पर्यटनको क्षेत्रमा महत्वपूर्ण भूमिका रहने बताए । साथै दुबै देश बीचको सहकार्यले पूर्वाधार क्षेत्रमा महत्वपूर्ण भूमिका रहने बताएका थिए ।
कृषि तथा कृषिजन्य क्षेत्रमा रुसको लगानी हुनेमा आशावादी रहेको बताउँदै मन्त्री भुसालले कोभिड–१९ महामारीमा भूकम्पका समयमा रुसले गरेको सहयोगको स्मरण गर्दै मन्त्री भुसालले आभार व्यक्त गरे ।
राजदूत नोभिकभले नेपालको चिया, कफी, कृषिजन्य जडिबुटीलाई रसियामा राम्रो माग रहेको भन्दै निर्यात गर्न सकिने बताएका थिए ।
रसियाले कृषि क्षेत्रमा गरेको निकै ठूलो प्रगतिबारे उल्लेख गर्दै राजदूत नोभिकभले पछिल्लो ५ बर्षमा खाद्यान्न र कृषि औजार निर्यात गर्न सक्ने अवस्थामा पुगेको बताए ।
उनले नेपालले औपचारिक माग गरेको अवस्थामा रसिया जुनसुकै सहयोग गर्न तयार रहेको प्रतिवद्धता जनाउँदै दुई देश बीचको आपसी हितमा काम गर्नका लागि वर्किङ गु्रप बनाउने तयारी भएको समेत जानकारी दिए ।
यसले दुई देशबीच व्यापार, कृषि र प्रविधिको क्षेत्रमा के कस्तो काम गर्न सकिन्छ भनेर सुझाव आदानप्रदानमा सघाउ पुग्ने उनको भनाइ थियो ।
राजदूत नोभिककभले मन्त्री भुसालसमक्ष रसियन उद्योगीहरूले नेपालमा आफ्नो लगानी गर्न चाहेकाले आवश्यक सहजिकरण गरिदिन आग्रह गरे ।
प्रतिक्रिया 4