
१८ भदौ, काठमाडौं । टेष्ट मान्यताप्राप्त मुलुक भारतविरुद्ध टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले राम्रो थालनी गरेको थियो ।
भारतलाई पहिलो विकेट लिन पावर प्लेको अन्तिम दोस्रो बल कुर्नु परेको थियो । त्यसबेलासम्म नेपालका ओपनर कुशल भुर्तेलले बिस्फोटक ढंगले रन जोडिरहेका थिए ।
विश्वस्तरका भारतीय बलरहरु मोहम्मद सामी, मोहम्मद सिराज र हार्दिक पाण्डेको बलमा भुर्तेलले दुई छक्का र तीन चौका प्रहार गरिसकेका थिए ।
तर २४ बलमा ३८ रन जोडिरहेका भुर्तेललाई शार्दुल ठाकुरले आउट गराए । दशौं ओभरको पाँचौं बलमा विकेट किपर इसान किसानबाट भुर्तेललाई ठाकुरले आउट गराएका थिए ।
भुर्तेललाई आसिफ सेखले ओपनिङ साझेदारीमा राम्रो साथ दिए । अर्थात् पहिलो विकेट गुम्दा नेपालले ६५ रन बनाएको थियो ।
अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २७ वर्षपछि एसिया कप र भारतसँग खेलिरहेको नेपालले सुरुवात राम्रो गरेको थियो ।
तर नेपालको यो राम्रो थालनीमा भारतको तीन क्याच ड्रपले सहयोग पुगेको थियो ।
पहिलो ओभरको अन्तिम बलमै भुर्तेललाई आउट गर्ने राम्रो अवसर मोहम्मद सामीले सिर्जना गरेका थिए । तर स्लिपमा श्रेयस ऐयरले ड्रप गरे ।
लगत्तै दोस्रो ओभरको पहिलो बलमै नेपालका अर्का ओपनर आसिफलाई क्याच आउट गर्ने अवसर मोहम्मद सिराजले सिर्जना गरे । फेरि पनि क्याच ड्रप भयो ।
भारतका विराट कोहलीले सजिलो बल समात्न सकेनन् । तर भातरको गल्तीले फेरि निरन्तरता पायो ।
पाँचौं ओभरको दोस्रो बलमा भुर्तेललाई नै आउट गर्ने अर्को अवसर सामीले नै सिर्जना गरे । तर विकेट किपर इसान किसानले ड्रप गर्दा बल बाउण्ड्रीमा पुग्यो । नेपालका निम्ति यो दोस्रो चौका थियो ।
अर्को रोचक त भुर्तेल र आसिफ, दुवैले रेफ्रीले दिएको एलबीडब्लू आउटलाई रिभ्यू लिएर असफल बनाएका थिए ।
भुर्तेलपछि लगातार विकेट गएपनि आसिफले भने भारतविरुद्ध अर्धशतक पूरा गरे । पाँचौं विकेटका रुपमा आउट भएका आसिफले ९७ बल फेस गर्दै आठ चौकाको मद्दतमा ५८ रन जोडेका छन् ।
प्रतिक्रिया 4