
१८ भदौ, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगको कार्यालयमा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पुगेका छन् । आयोगको निमन्त्रणमा पुल्चोकस्थित कार्यालय पुगेका ओलीले अभिलेख केन्द्रको अवलोकन भ्रमण गरेको भनिएको छ ।
ओलीले अवलोकन भ्रमण गरेर देशको मानव अधिकारको अवस्था तथा आयोगले गरेका कार्यहरुका बारेमा आफ्नो धारणा राखेको आयोगले भनेको छ । आयोगका प्रवक्ता सहसचिव टीकाराम पोखरेलका अनुसार, अभिलेखालयमा आयोगले स्थापना भएयता गरेका कामहरुको विवरण राखिएको छ ।
‘आयोगले द्वन्द्वकालमा कसरी काम ग¥यो, कस्तो सिफारिस गरेको थियो, लगायतका सबै विवरण राखिएको छ’, पोखरेलले भने, ‘यो सबै दलका प्रतिनिधिहरुलाई देखाउने योजना छ ।’ सुरुमा अरु दलका नेताहरुसँग पनि पहल गरिए पनि ओलीको पहिले समय मिलेका सोमबार अवलोकन भ्रमण गराइएको उनले बताए ।
अभिलेखालयको सञ्चार तथा सचना प्रविधिमन्त्री रेखा शर्माले झण्डै एक महिनाअघि उद्घाटन गरेको पोखरेल बताउँछन् । ‘संसदमा भएका जति सबैलाई दललाई बोलाउने हाम्रो तयारी छ, माओवादी महासचिव देव गुरुङलाई पनि बोलाएका थियौं । तर, समय मिलेन’, उनले भने, ‘अरुसँग पनि क्रमशः भेट हुन्छ ।’
सम्भवतः बुधबार नेपाली कांग्रेसको टिम आउने उनले बताए । मंगलबार भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर देशको मानवअधिकारको स्थितिबारे जानकारी दिने कार्यक्रम छ । त्यसक्रममा प्रधानमन्त्री प्रचण्डलाई पनि आयोगको अभिलेखालयको अवलोकनका लागि निम्तो दिइने पोखरेलले बताए ।
प्रतिक्रिया 4