+
+

‘बाघ व्यवस्थापनको विधि शिकार होइन, संरक्षण गरेर समृद्धिसँग जोड्नुपर्छ’

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १९ गते १२:०३

१९ भदौ, काठमाडौं । नेपालमा बाघको संख्या बढेसँगै समस्याग्रस्त बाघ बढ्न थालेका छन् । यस्ता बाघ व्यवस्थापनका लागि चुनौती पनि थपिएका छन् । व्यवस्थापन सम्बन्धमा नेपालमा संरक्षणकर्मीको मत पनि विभाजित छ ।

कोही बाघ व्यवस्थापनका लागि ‘सेन्चुरी’ बनाउनुपर्ने भन्छन् भने कोही शिकार त कोही संरक्षण गरेर त्यसबाट आम्दानी लिन सकिने बताइरहेका छन् । बाघको अध्ययन अनुसन्धान, इकोलोजी, क्यामेरा ट्रयापिङ तथा समस्याग्रस्त बाघको व्यवस्थापन लगायतको क्षेत्रमा काम गरिरहेको राष्ट्रिय प्राकृति संरक्षण कोष (एनटीएनसी) भने बदलिँदो परिस्थितिमा बाघ संरक्षणका लागि फरक आयामबाट हेर्नु पर्ने बताउँदै आएको छ ।

कोषका सदस्य सचिव शरदचन्द्र अधिकारी भन्छन्, ‘बाघलाई संरक्षण गरेर यसलाई राष्ट्रको समृद्धिसँग जोड्नुपर्छ ।’

प्रस्तुत छ, अधिकारीसँग यही विषयको सेरोफेरोमा केन्द्रित भएर गरिएको कुराकानीको सम्पादित अंश :

बाघ व्यवस्थापनको सन्दर्भमा संरक्षणकर्मीकै मत विभाजित देखिन्छ, यसमा प्रकृति संरक्षण कोषको धारणा चाहिँ के हो ?

प्रकृतिको पवित्र उपहार बाघको संरक्षण गर्नुपर्छ र त्यसलाई राष्ट्रको समृद्धिसँग जोडेर विकास गर्नुपर्छ भन्ने नै राष्ट्रिय प्रकृति संरक्षण कोषको मान्यता हो । नेपाल सरकारले बाघको संख्या दोब्बर बनाउने अर्थात ‘डब्लिङ द टाइगर’ को जुन मिसन सुरू गर्‍यो, त्यो मिसनको एउटा पक्ष राष्ट्रिय प्रकृति संरक्षण कोष हो । कोषले स्थापनाकालदेखि नै वन्यजन्तुको संरक्षण, त्यसमा पनि बाघ र गैंडाको संरक्षणमा विशेष योगदान पुर्‍याउँदै आइरहेको छ । जब नेपाल सरकारले बाघको संख्या १२१ बाट २५० पुर्‍याउने लक्ष्य लियो, त्यसलाई सफल बनाउन कोषकोतर्फबाट विभिन्न क्रियाकलाप तथा कार्यक्रमहरु सञ्चालित भएको सबै छर्लङ छ ।

कोष स्थापनाको पृष्ठभूमि नै बाघको संरक्षणबाट सुरू भएको छ । सन् १९७३ मा चितवन राष्ट्रिय निकु्ञ्जको स्थापना नहुँदै ‘टाइगर इकोलोजी प्रोजेक्ट’ बाट राष्ट्रिय प्रकृति संरक्षण कोषको यात्रा सुरू हुन्छ । त्यसपछि त्यो बाघ संरक्षणको विभिन्न अभियान र कार्यक्रममा कोष स्थापनादेखि नै नेपाल सरकारले चालेका हरेक गतिविधि र कार्यक्रमलाई कोषले सक्रिय सहभागितासहित सहयोग गर्दै आएको छ ।

मेरो व्यक्तिगत कुरा गर्नुहुन्छ भने ‘डब्लिङ द टाइगर’ को मिसन सुरू हुनु अगावै कोषका संरक्षक, तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र कोषका अध्यक्ष तत्कालीन वन तथा भू-संरक्षण मन्त्री दीपक बोहोराको पालामा काठमाडौं ग्लोबल टाइगर वर्कसप आयोजना गरिएको थियो । म यो वर्कसपको अगाडिदेखि नै यस कार्यमा संलग्न छु । त्यसपछि रुसको सेन्ट पिटर्सबर्गमा भएको विश्व बाघ सम्मेलन हुँदै ‘टाइगर रिकभरी प्रोजेक्ट’ का हरेक गतिविधिमा समेत कोषकोतर्फबाट संलग्न भएर विभिन्न नीतिगत तहमा संलग्न हुने ऐतिहासिक अवसर मैले प्राप्त गरेँ । त्यसपछि ‘डब्लिङ द टाइगर’ को मिसनलाई सफल गराउन नेपाल सरकारले विभिन्न किसिमका कार्यक्रमहरू गर्‍यो ।

बाघको बासस्थान विस्तारका लागि सरकारले बाँके र पर्सा राष्ट्रिय निकुञ्जको स्थापना, चोरी शिकारी नियन्त्रणका लागि विभिन्न संयन्त्रहरूको स्थापना पनि गर्‍यो । कोषको अध्यक्ष तत्कालीन वन मन्त्री बोहोरासँगै सरकारी तथा गैरसरकारी र अन्तर्राष्ट्रिय निकायहरू बीचमा छलफल, बैठकहरूमा संलग्न हुने अवसर प्राप्त गरे । यी प्रत्येक कार्यक्रममा कुनै न कुनै रूपमा कोष जोडिँदै आयो ।

सन् २००९ को बाघ गणनाको सन्दर्भ होस् वा त्यसपछिका विभिन्न अध्ययन अनुसन्धानमा कोष र कोषका धेरै विज्ञ तथा प्राविधिक साथीहरूको महत्वपूर्ण भूमिका रहेको छ । १२१ को संख्याबाट अहिले ३५५ वटा बाघको संख्या पुर्‍याउन सरकारको यो मिसनलाई सफल बनाउन एनटीएनसीसहित नेपाली सेनालगायतका संस्थाहरूको महत्वपूर्ण भूमिका रहेको छ । यो भूमिकालाई हामीले कदापी भुल्न सक्दैनौं ।

मानिस बाघ द्वन्द्वमा अग्रपंक्तिमा रहेर एनटीएनसीले काम गरिरहेको छ । अबको दिनमा पनि गरिरहन्छ । सरकारलाई सघाउनु हाम्रो कर्तव्य हो । सरकारलाई सघाउनु भनेको जनतालाई सघाउनु हो । हामी त्यसैमा काम गरेका छौं

मैले यति भनिसकेपछि मेरो संस्थाको स्थापनाको उद्देश्य बाघलगायत वन्यजन्तुहरूको संरक्षणमा विशेष रूपले कार्य गर्न भन्ने ऐनमा निदृष्ट भएकाले हामी बाघ संरक्षणको उद्देश्यबाट अलिकति पनि विचलित नभई आफ्नो कर्तव्य पूरा गर्दै आइरहेका छौं । यसमा मेरो छुट्टै धारणा भन्ने हुँदैन । नेपाल सरकारको जे धारणा हुन्छ, कोषको त्यही धारणा हुनेछ । समग्रमा हामीले जसरी बाघको संख्या उल्लेख्य रुपमा वृद्धि गर्न सफल भयौं । अब यो संख्यालाई जोगाई राख्ने हाम्रो लागि ठूलो चुनौती छ । बरू यसलाई पर्यटनसँग जोडेर राष्ट्रको आर्थिक समृद्धिलाई टेवा पुर्‍याउनु छ ।

तर, कोषले बाघलाई शिकार गराउनुपर्छ भनेर लबिङ गरिरहेको छ पनि भनिन्छ नि ?

यसमा कुनै सत्यता छैन । बाघलगायतका वन्यजन्तुको संरक्षणको पवित्र उद्देश्य लिएर स्थापना भएको यो संस्था कदापी यस्तो किसिमको जघन्य क्रियाकलापको परिकल्पना गर्न सक्दैन । त्यस्ता क्रियाकलापहरू कुनै पनि रूपमा मान्य छैनन् ।

मेरो व्यक्तिगत रुपमा पनि र कोषको प्रमुख कार्यकारी हुनुको नाताले पनि त्यस्ता विचारहरुप्रति हाम्रो कुनै सहमति छैन । त्यस्ता विचारहरू स्वीकार्य छैन ।

बाघ प्रकृतिले दिएको पवित्र उपहार हो । मेरो जीवनसँग बाघको विशेष एवं भावनात्मक सम्बन्ध पनि छ । बाघ मलाई असाध्यै मनपर्छ । त्यसो भएकाले मलाई असाध्यै मन पर्ने चिजलाई शिकार गराउनु पर्छ भन्ने कुरा म गर्नै सक्दिनँ । बरु बाघ र मानिसबीचमा भावनात्मक सम्बन्ध विस्तार हुनुपर्छ भनेर विशेष अभियान थालिएको छ ।

समस्याग्रस्त बाघ व्यवस्थापन गर्न के गर्नुपर्छ ?

समस्याग्रस्त बाघलाई समातेर राख्नुको विकल्प पनि छैन । नेपालको कूटनीतिक सम्बन्ध भएका देशलाई उपहारको रूपमा दिएर बाघ कूटनीति मार्फत दुई देशवीचको सम्बन्धलाई विस्तार एवं प्रगाढ बनाउन सकिन्छ । यस्तै ती देशबाट पनि नेपालमा नपाइने वन्यजन्तु ल्याउन सकिन्छ । यस्तै बाघ संरक्षणमा अहिले हामीले नियन्त्रणमा लिएर केजमा राख्दै आएका छौं ।

बाघलाई जंगलको आसपास आउने बित्तिकै त्यसलाई पुनः जंगलभित्र पठाउनका लागि ‘प्रोएक्टिभ’ उपायहरू अपनाउन जरुरी छ । हामीले यसबारे प्रारम्भिक केही काम गरेका छौं । अरु धेरै काम गर्न बाँकी छ । समस्याग्रस्त बाघलाई नियन्त्रणमा लिएर बाघ पर्यटनको रुपमा विकास गराउन सकिन्छ । समस्याग्रस्त बाघहरूलाई एउटा ठूलो क्षेत्रमा राखेर टाइगर सेन्चुरीको रुपमा पनि विकास गराउन सकिन्छ ।

साथै रियाक्टिभ विधि भन्दा पनि प्रोएक्टिभ विधि अपनाएर समस्याग्रस्त बाघको संख्या कम हुन्छ । बाघ जंगलभित्रै बस्छ । त्यसैले बाघलाई सिकार गराउने हैन राष्ट्रको समृद्धिको सपनासँग जोड्नुपर्छ । बाघ हेर्नकै लागि भनेर संसारका धेरै धनी मानिसलाई बोलाएर आर्थिक उन्नति हासिल गराउन सकिन्छ ।

बाघ संरक्षणको अबको कार्यदिशा के हो ?

हालै सरकारको लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बाघ संरक्षण कार्ययोजना ल्याइसकेको छ । त्यसलाई कार्यान्वयन गर्ने र सफल तुल्याउन कोषको महत्वपूर्ण भूमिका हुनेछ । बाघ संरक्षणमा विभिन्न किसिमका चुनौती देखापरेका छन् । मूलतः तीन किसिमका चुनौती छन् । एउटा जलवायु परिवर्तनबाट सिर्जित समस्या, मानव-बाघद्वन्द्वबाट सिर्जित समस्या र बासस्थान विनाश । यी अहिलेका प्रमुख चुनौती हुन् । कोष ३ वटै कुराबाट हुन सक्ने चुनौतीमा अध्ययन र अनुसन्धान गर्ने दिशातिर अग्रसर छौं । यी चुनौतीहरू सामना गर्न के गर्नुपर्छ हामी समय-समयमा नेपाल सरकारका आधिकारिक निकायहरूलाई हाम्रो सुझावहरू दिएर सजग गराउने छौं ।

मानव-बाघ द्वन्द्व बढिरहेको छ । यो समस्या समाधानका लागि एनटीएनसीले के गरिरहेको छ ?

मानिस बाघ द्वन्द्वमा अग्रपंक्तिमा रहेर एनटीएनसीले काम गरिरहेको छ । अबको दिनमा पनि गरिरहन्छ । सरकारलाई सघाउनु हाम्रो कर्तव्य हो । सरकारलाई सघाउनु भनेको जनतालाई सघाउनु हो । हामी त्यसैमा काम गरेका छौं । हामी मानिस र बाघको सहअस्तित्वलाई मूलमन्त्र ठानेर विभिन्न गतिविधि गर्दै आइरहेका छौं । मेरो विचारमा पहिलो गतिविधि नै बाघ प्रभावित क्षेत्रमा जनचेतनामूलक कार्यक्रम महत्वपूर्ण गतिविधि हो । जबसम्म जनचेतना आमरूपमा पुग्दैन । यस्ता किसिमका घटना भई नै रहन्छन् । अब जनचेतनासँगसँगै जीविकोपार्जनका नयाँ गतिविधि तथा कार्यक्रम सञ्चालन गर्न अति आवश्यक छ । भनाइको मतलब मानिस घर नजिकैको जंगलमा आश्रति छन् भने उनीहरू त्यहाँ नजाउन् भनेर वैकल्पिक आयआर्यजनका कार्यक्रम सञ्चालन गर्न आवश्यक भएको छ ।

ती सबै क्रियाकलाप मानिस-बाघ सहअस्तित्व कायम गराउने दिशामा लक्षित हुनुपर्छ भन्ने मेरो मान्यता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?