+
+
विचार :

नेतृत्व स्थानान्तरणमा सीमित नहोस् माओवादी रूपान्तरण अभियान

माओवादी पार्टी शान्ति प्रक्रियामा आएर कुनै न कुनै रूपमा सत्तामा पहुँच राखिरहेको १७ वर्ष पुग्नै लागेको छ । विगतमा विभिन्न अभियान घोषणा भए तर त्यसले अपेक्षित परिणाम ल्याएको देखिंदैन । पछिल्लो अभियान पनि रूपान्तरणको नाममा स्थानान्तरणमा सीमित नहोस् ! 

सीताराम कोइराला सीताराम कोइराला
२०८० भदौ १९ गते १६:२४

नेकपा माओवादीले ४१ सूत्रीय माग राखी १ फागुन २०५२ बाट सुरु गरेको ‘जनयुद्ध’मा लाखौं शोषित पीडित जनता, देशभक्त सचेत नागरिकहरू लामबद्ध भए । १० वर्षको छोटो अवधिभित्रै तत्कालीन घरेलु र बाह्य शासक वर्गलाई थर्कमान बनाउँदा युद्ध तूफानी गतिमा अगाडि बढ्यो । ग्रामीण क्षेत्रहरूमा सत्ता स्थापना र आधार इलाका बनाउँदै, सत्ताको केन्द्रभाग कब्जा गर्ने सपना बोकेर शान्ति प्रक्रियामा आएको त्यो विशाल पार्टी छोटै अवधिमा आन्तरिक कलह, टुटफुट, विभाजनले अस्तित्व रक्षाको अवस्थामा पुगेको छ ।

हिजो जनतालाई बाँडिएको सपना, तिनका आशा, अपेक्षामाथि तुषारापात भएको छ । जब पार्टी शान्ति प्रक्रियामा आयो, तब नेतृत्वमा अलमल र दिशाविहीनता सुरु भयो । सही रणनीति र कार्यनीति ठम्याउन सकेन ।

माओवादीको आठौं राष्ट्रिय महाधिवेशनद्वारा पारित राजनैतिक प्रतिवेदनमा भनिएको छ’ ‘दोस्रो संविधानसभाको निर्वाचनमा पार्टी पहिलोबाट तेस्रोमा झर्न गयो पार्टीबाट ठूलो आशा, अपेक्षा गरेका आम जनसमुदाय, कार्यकर्ता पंक्ति, शहीद, बेपत्ता परिवारजनमा निराशा र अन्योल बढ्दै गयो ।’

सोही दस्तावेजमा ‘मुखले संविधान निर्माणको कुरा गर्ने र मनले विद्रोहको कुरा गर्ने अत्यन्तै अवस्तुवादी र अपारदर्शी कुरा’ स्वीकार गरिएको छ । नेतृत्व दिशाविहीन हुँदै जाँदा, पार्टीले बाटो बिराउँदा कार्यकर्ताले स्वस्थ आलोचना गर्नु, खबरदारी गर्नु वाञ्छनीय हुन्छ ।

त्यो अन्योल र अलमलको अवस्थामा के गर्ने ? माओ भन्थे रे- ‘जनसमुदायको विचार लेऊ, त्यसलाई एकीकृत गर, अनि जनसमुदायमा जाऊ, त्यो विचारधारामा अड, अगाडि बढाऊ, जसबाट नेतृत्वमा सही विचार बन्दछ, नेतृत्वको आधारभूत पद्धति पनि यही हो ।’

माओले संगठन निर्माणको लागि बनाएका १६ आधारहरू मध्ये केही बुँदाहरू अहिलेको अवस्थामा सान्दर्भिक छन् । जस्तो कि हरेक विचारलाई व्यक्त हुन देऊ, अल्पमत होस् तर सत्य नछोड,  आलोचना र आत्मालोचना लागू गर, सामूहिक नेतृत्व कायम गर ।

गत साउन १७ देखि २१ सम्म चलेको नेकपा (माओवादी केन्द्र) को पाँचदिने बैठकले तय गरेको कार्यक्रम जनतासँग माओवादी विशेष रूपान्तरण अभियानले केही तरंग पैदा गरेको छ । तर तीनमहिने अभियानको लागि तहगत रूपमा विभिन्न बैठक र नेता-कार्यकर्ताको जिम्मेवारीको पजनी भइरहँदा, कुण्ठा, निराशाका स्वरहरू पनि त्यत्तिकै सुनिंदो छ ।

रूपान्तरण भनेको ‘रूपमा अन्तर’ वा ‘परिवर्तन’ भनेर बुझिन्छ । मौजूदा स्वरूप र कामगराइ हेर्दा रूपान्तरण नारामा जति व्यवहारमा सजिलो हुने छैन । रूपान्तरण कसैको लहड, आज्ञा वा नेपथ्यबाट आउने चिज होइन । यहाँनेर पुनः माओलाई स्मरण गर्नुपर्ने हुन्छ । उनको भनाइ रहेको छ- ‘जब पार्टी सही कार्यदिशामा हुन्छ, तब सबै चिजहरू ठीक मार्गमा आउने छन् ।’

माक्सवादी दर्शनलाई लेनिनवादी सिद्धान्तको आलोकमा जीवन व्यवहारलाई रूपान्तरण गर्न सक्नुपर्दछ । त्यो रूपान्तरित विचार र व्यक्तिले मात्र संगठन र समाजलाई रूपान्तरण गर्न सक्दछ ।

हुन त विगतमा पनि यस प्रकारका कार्यक्रमहरू घोषणा नगरिएका होइनन्, विद्रोहद्वारा काठमाडौं घेराबन्दी, शान्ति र संविधान, उत्पादन ब्रिगेड, मेची-काली अभियान, कम्तीमा ५० जनाको सहभागितामा हरेक वडामा कृषि उद्यम र पछिल्लो समयमा घोषणा गरिएको ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ । यी विभिन्न नामको घोषणाले भन्दा पनि कति कामयावी भयो भन्ने कुराले अर्थ राख्दछ ।

लेनिन भन्ने गर्थे, कम्युनिष्ट पार्टीले जनतालाई विश्वासमा लिन सक्ने काम गरे मात्र विजय प्राप्त गर्न सक्छ । कार्यकर्ताबाट इमानदारीपूर्वक उठेको आवाजलाई अल्मल्याउने र विषयान्तर गर्ने मनसायले ल्याइने कार्यक्रमले देश, जनता मात्र होइन, स्वयं पार्टीको पनि हित गर्दैन ।

‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ को यही भदौ १६ गते भएको उद्घाटन कार्यक्रमले निर्दिष्ट गर्ने लयको उपलब्धि के हुनेछ होला भनेर प्रश्नवाचक चिह्न खडा भएको छ । यसको गर्भावस्थामै असन्तुष्टि लगायत समस्या छरपष्ट देखिएका छन् । जम्बो केन्द्रीय समितिका केही सदस्य तोकिएको कार्यक्षेत्रमा जान नसक्ने भन्दै असन्तुष्टि देखाएको विषय पनि सार्वजनिक भइरहेका छन् ।

कार्यकर्ताको विन्यासमा नेतृत्वको गुलामी र चाकडीले निष्ठा र इमानपूर्वक काम गर्ने कार्यकर्ताको बीचमा धेरै हेराफेरी भएको छनक पाइन्छ । ‘फेस भ्यालु’ भएका पब्लिकले विश्वास गर्ने गरेका व्यक्तिहरू पाखा परेका वा पारिएका देखिन्छन् ।

परीक्षण भइसकेका अनुहारहरू, चाकडीबाज, परिवार नजिकका मानिसहरू अग्रभागमा सलबलाएको देखिन्छ, सुनिन्छ । पार्टी संसदीय राजनीतिमा गइसकेपछि भोलि हुने निर्वाचनमा जनताले स्थानीय, जातीय, भाषिक र सांस्कृतिक पक्षलाई नै बढी जोड दिन रुचाउँछन् ।

स्थानीयलाई नै त्यहाँको भूगोल, समस्या, समाधानको उपाय र अन्तरविरोधको बारेमा ज्ञान हुन्छ । त्यही नेतृत्व नै भोलिको निर्वाचनमा सत्ताको पहरेदार बन्न सक्दछ । तर अहिलेको यो अभियानमा कार्यकर्ताको विन्यास र पजनी हेर्दा त्यस्तो देखिंदैन । बरु ठिक उल्टो देखिन्छ । रूपान्तरणको नाममा स्थानान्तरण गरेको देखिन्छ ।

कार्यकर्ताको आवेग र असन्तुष्टिलाई अल्मल्याउन र विषयान्तर गर्न खोजिएको हो भने ‘मुखमा शान्ति र संविधान, मनमनमा विद्रोह’ जस्तै राम राम मात्र हुनेछ । लेनिनको ‘तीनपल्ट सोच एक पल्ट निर्णय गर’ र माओको ‘तीनपल्ट नाप एक पल्ट काट’ भन्ने भनाइ माओवादीले किन लत्याइरहेछ, अचम्म छ ।

शान्ति प्रक्रियापश्चात् २०६४ सालको संविधानसभाको निर्वाचनको संसदीय मोर्चामा पनि भारी विश्वासको साथ सचेत शिक्षित शहरियादेखि दुर्गम दूरदराजका जनताले समेत मतदान गरी प्रत्यक्षतर्फ २४० सिटमा १२० सिट जिताए ।  तर गत निर्वाचनमा गठबन्धन गर्दा पनि १८ सिटमा सीमित हुनु, ६ महानगरपालिकामा १ र ११ उपमहानगरपालिकामा १ सिटमा सीमित हुँदै संघीय राजधानी भएको काठमाडौं महानगरपालिकामा एकीकृत समाजवादी पार्टी र राप्रपा भन्दा पनि धेरै कम (नगन्य) मत पायो । शिक्षित, शहरिया मतदाताबाट पार्टी लगभग बहिष्कृत हुनु माओवादी नेतृत्वको लागि ठूलो चुनौतीको विषय हो ।

माओवादी पार्टी निरन्तर किन ओरालो लागिरहेको छ त ? केही उदाहरण हेरौं । पार्टी नेतृत्वले बलिदानीपूर्ण विद्रोहबाट प्राप्त विशाल शक्तिलाई संगठनमा रूपान्तरण गर्न सकेन । पार्टी गुट, उपगुट स्वार्थ समूह बन्यो, ठेक्कापट्टा, व्यापार कमाइखाने भाँडो बनाइयो ।

सैद्धान्तिक एवं नीतिगत रूपमा माओवाद र संसदीय लोकतन्त्रसँगै जान सक्छन् कि सक्दैनन् भन्ने कुरामा मूल नेतृत्वमा अलमल देखियो । लेनिनवादी संगठनात्मक पद्धतिलाई नोकरशाही र हुकुमी बनाइयो ।

एउटै कमिटीको बैठकमा उपल्लो पदमा पदासीनहरू पुराणका पण्डित जस्ता प्रवचन छाँट्ने र तल्लो पदमा आसीनहरू श्रोता मात्र भए जहाँ सामूहिक छलफलको अवसर नै भएन यद्यपि अहिले पनि यही परम्परा छ ।

जनताको संविधान बनाउँछु भनेर भोट मागियो तर जनताको अभिमतलाई भुलेर ‘शान्ति र संविधान कि विद्रोह भन्दै’ दुई कार्यदिशाको व्याख्या गर्दै हिंड्यो, मूल नेतृत्वको चरित्र ढुलमुले भयो । जनताले संविधान बनाउन दिएको मतलाई नबुझी विद्रोहबाट सत्ता कब्जा गर्ने भन्दै काठमाडौं ततायो, आखिर लाचार हुँदै फर्कनुपर्दा कार्यकर्ता र आम जनतामा निराशा र नकारात्मक असर पर्‍यो ।

हरेक निर्वाचनमा टिकट दिने मापदण्ड तय गरियो तर त्यो कहिल्यै लागू भएन । स्थानीय नेतृत्व विकासमा ध्यान दिइएन, नेता चुनावपिच्छे आयातित वा स्थानान्तरण गर्ने काम भयो । निर्वाचन कहिले कुन दलसँग कहिले कुन दलसँग गठबन्धन गर्ने गरी अस्थिर नीति अपनाइयो ।

वैदेशिक नीति परियोजनाका सम्बन्धमा दोहोरो चरित्र देखियो । भित्री र बाहिरी कुरा भए, भन्ने एउटा गर्ने अर्कै । सत्ता, शक्ति र पदको लागि जोसँग जसरी पनि मिल्ने परम्पराको विकास भयो ।

कमि-कमजोरीका चाङहरू थपिंदै गए तर त्यसलाई सच्याउनु रूपान्तरण गर्नुको साटो कमि-कमजोरीको चाङमाथि बसेर रमाउने, एकअर्कोलाई भिडाउने काम भयो। अन्तरपार्टी लोकतन्त्र नारामा मात्र सीमित भयो ।

समस्यालाई द्वन्द्ववादी, वस्तुवादी यथार्थपरक ढंगले भन्दा पनि यान्त्रिक ढंगले हेर्ने दृष्टिकोणको विकास भयो। वस्तुको विकास तथा विनाशको बाह्य भन्दा आन्तरिक कारण प्रधान हुन्छ भन्ने मार्क्सवादी अवधारणालाई नेतृत्वले ग्रहण गर्नुको सट्टा सधैं बाह्यकारण देखाएर ढाकछोप गर्दै आइयो ।

अब माओवादी रूपान्तरणको नारा मात्रै लगाएर सच्चिने अवस्थामा छैन । रूपान्तरण वा सुधारको बाटोमा प्रतिबद्ध भएर हिंड्ने हो भने माओवादीले मार्क्सवादी दर्शनमा आधारित वैचारिक दृष्टिकोणको विकास गर्नुपर्छ ।

साथै, मार्क्सवादी दर्शनमा आधारित जीवनशैली एवं व्यवहारको विकासमा पनि प्रतिबद्ध रहनुपर्छ । लेनिनवादी सिद्धान्तमा आधारित संगठनात्मक पद्धतिलाई दृढतापूर्वक पछ्याउनुपर्छ ।

राजनीतिलाई जनताको जीवनमा र पार्टी संगठनलाई समाजमा पुर्‍याउने पद्धतिको विकास गर्नुपर्छ । जनतासँग टुटेको सम्बन्धलाई जोड्न ‘कम्युनिष्ट बीउ र जनता माटो’ भन्ने माओको उक्तिलाई जनतामा जाने सिद्धान्तका रूपमा अपनाउनुपर्छ ।

नीति, पद्धति र विचारमा समस्या देखिएको हुँदा वैचारिक नेतृत्वको विकासमा माओवादीले मिहिनेत गर्नुको विकल्प छैन । योग्यता, क्षमता, अनुभव र रुचिको आधारमा कार्यकर्ता विन्यास गर्ने एवं मूल्यांकन गर्दै त्यसको अभिलेख राख्नुपर्छ । प्रोत्साहन, दण्ड, जरिबाना, कारबाही विधानसम्मत ढंगले गर्नुपर्छ न कि पूर्वाग्रही र प्रतिशोधपूर्ण ढंगले ।

पार्टी विधान एवं पारित प्रतिवेदनलाई लागु नगरी अनदेखा गर्ने र विधि भन्दा व्यक्ति माथि हुने अभ्यासले कुनै पनि पार्टीको जीवन अवरुद्ध हुन्छ । पार्टीभित्र गुट, उपगुटको अन्त्य गर्दै नेतृत्व सबैको साझा बन्नुपर्छ । अहिले व्यवहारमा यस्तो देखिंदैन ।

हरेक निर्वाचनमा टिकट दिने मापदण्ड तय गरियो तर त्यो कहिल्यै लागू भएन । स्थानीय नेतृत्व विकासमा ध्यान दिइएन, नेता चुनावपिच्छे आयातित वा स्थानान्तरण गर्ने काम भयो । निर्वाचन कहिले कुन दलसँग कहिले कुन दलसँग गठबन्धन गर्ने गरी अस्थिर नीति अपनाइयो ।

अन्तरपार्टी बहसमा उठ्ने विभिन्न सवालमा नेतृत्वले छुट्टाछुट्टै खेल्ने र जुधाउने भन्दा सामूहिक छलफलबाट समस्या हल गर्नुपर्छ । आचारसंहिता निर्माण गरी कडाइका साथ लागु गर्नुपर्छ । अन्तरपार्टी समाजवादलाई व्यावहारिक रूपमा लागु गर्नुपर्छ । यसको लागि फेरि पनि सबै व्यक्तिलाई पार्टीको विधि मातहत राख्नुपर्छ ।

छलाङ र क्रमभंगताले सधैं उँभो मात्र लैजाँदैन, उँधो पनि लैजाँदो रहेछ भन्ने कुरा नेतृत्वले मनन् गर्नुपर्छ । हिजो युद्ध लडेका शहीद, बेपत्ता परिवार, लडाकु, घाइते अपाङ्गता भएका, अपहरण, जेल जीवन बिताएकालाई पार्टीको पूँजीको रूपमा स्थापित गर्नुपर्छ ।

विभिन्न समूहमा विभाजित माओवादी लगायत देशभक्त कम्युनिष्ट पार्टी वा अन्य स्वतन्त्र व्यक्तिसँग एकता, पार्टीलाई जीविकोपार्जनको माध्यम नबनाउने, स्थानीय नेतृत्व विकासमा जोडदिने, खपतको लागि नेता कार्यकर्ता स्थानान्तरण नगर्ने, पार्टीलाई अविच्छिन्न उत्तराधिकारवाला बनाई नेतृत्व हस्तान्तरण हुँदै जाने परिपाटीको विकास गर्ने लगायत अभ्यासलाई दृढतापूर्वक लागु गर्नुपर्छ ।

पार्टीभित्रको अन्तरसंघर्षलाई स्वस्थ ढंगले सञ्चालन गर्नुपर्छ । सहमतिमा एक ढिक्का र प्रतिस्पर्धामा फुट हुन्छ भन्ने गैरमार्क्सवादी चिन्तनलाई त्याग्नुपर्छ । आर्थिक सुशासन, अभिलेखीकरण एवं पारदर्शिता दुरुस्त राख्नुपर्छ । चर्का-चर्का विचार र नीतिका कुरा गर्ने तर व्यवहार भद्रगोल रहँदा पार्टीले गति लिन सक्दैन ।

पार्टीका हरेक तहका नेतृत्व पार्टीप्रति अतिरिक्त बफादार हुनैपर्छ । उनीहरू जनताको सेवा गर्न प्रतिबद्ध हुनुपर्छ न कि जनताको स्रोध-साधनको दोहन । उनीहरू आफ्नो उत्तरदायित्वबाट च्यूत हुनुहुँदैन, अनुशासनमा प्रतिबद्ध हुनुपर्छ । अनुशासन व्यवहारबाट सिकाउने विषय हो न कि भाषणबाट ।

माओवादी पार्टी शान्ति प्रक्रियामा आएर कुनै न कुनै रूपमा सत्तामा पहुँच राखिरहेको १७ वर्ष पुग्नै लागेको छ । विगतमा विभिन्न अभियान घोषणा भए तर त्यसले अपेक्षित परिणाम ल्याएको देखिंदैन । रूपान्तरित हुने र बदलिने कुरा स्वयंमा त्यति सरल र सहज विषय होइन । माओवादीले भन्ने गरे झैं आफ्नै टाउकोमा आफैंले आगो लगाउन सक्नुपर्छ । आफूभित्रको कमजोरीप्रति निर्मम हुन सक्नुपर्छ । आशा गरौं, यो अभियानले सार्थकता पाओस् ।

(लेखक नेकपा माओवादी केन्द्र सुदृढीकरण अभियान, धादिङको नेतृत्व गरिरहेका छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?