+

यस्ता छन् ज्वानोका फाइदैफाइदा

२०८० भदौ  १९ गते १६:५३ २०८० भदौ १९ गते १६:५३
यस्ता छन् ज्वानोका फाइदैफाइदा

तेलमा ज्वानो फुराएर बनाएको परिकारको स्वाद र सुगन्ध बेग्लै हुन्छ । धेरैलाई थाहा नहुन सक्छ,  यसमा भरपुर मात्रामा औषधीय गुण पनि हुन्छ । त्यसैले आयुर्वेदमा यसलाई बहुउपयोगी औषधिको रुपमा हेरिन्छ । आयुर्वेद चिकित्सा पद्धतिमा यो ‘यवानी’को नामले प्रसिद्ध छ । आयुर्वेदले बहुउपयोगी औषधि मानेको ज्वानोको प्रयोग परापूर्वकालदेखि नै गरिंदै आएको छ ।

पहिलेदेखि नै सुत्केरी हुँदा महिलालाई तगडा बनाउन दैनिक ज्वानोको झोल राखेर दिइन्थ्यो र अहिले पनि दिइन्छ । जसकारण धेरैलाई यो सुत्केरी महिलाले मात्र खाने खुराक मानिन्छ । तर त्यसो भने पक्कै होइन ज्वानोलाई धेरै स्वास्थ्य समस्यामा औषधिको रुपमा रामवाणको काम गर्छ ।

ज्वानोमा के पाइन्छ ?

फाइबर, एन्टीअक्सिडेन्ट, सोडियम, पोटासियम, फस्फोरस, म्यागनेसियम, प्रोटिन, भिटामिन, आयोडिन, कार्बोहाइड्रेट, क्याल्सियम र अन्य भिटामिन तथा खनिज जस्ता तत्वले ज्वानो भरिपूर्ण छ । नेपाली भान्छामा ज्वानोको धेरै प्रयोग हुने भए पनि यसको आयात बढी भारतबाट हुन्छ । यसको खेती समुन्द्र सतहभन्दा ४५ सय फिट उचाइमाथि गरिन्छ । खासगरी नेपालको तराई, भारत, इजिप्ट र अल्जेरियामा ज्वानो खेती धेरे गरिन्छ ।

ज्वानोका फाइदा

प्रसूति र महिनावारी पडामा

प्रसूतिको समयमा ज्वानो पानी र ज्वानोको झोल दिनहुँ पिउनु लाभदायक हुन्छ । यसले पेनकिलर औषधिको रुपमा काम गर्ने हुँदा सुत्केरी अवस्थामा दुखेको शरीरलाई आराम दिन्छ । यसमा प्रशस्त रुपमा हुने भिटामिन डी, बी–१२ ले जोर्नीका दुखाइ कम गर्न मद्दत गर्नुका साथै शारीरिकमा हुने अन्य दुखाइलाई पनि कम गर्छ ।

ज्वानोमा पाइने प्रोटिन, भिटामिन, क्याल्सियम र अन्य भिटामिनजस्ता तत्वले सुत्केरी हुँदा तागत दिन्छ । सुत्केरी महिलाले दिनहुँजसो ज्वानो पानी खाँदा स्तन सुन्निने समस्या हुन दिंदैन । त्यस्तै महिनावारीमा अत्यधिक हातखुट्टा दुख्ने, पेट दुख्ने भएमा यसको काडा बनाएर पिउँदा ठीक हुन्छ ।

शिशुला आराम दिन्छ

शिशुहरु आफूलाई पीडा भएको बोलेर व्यक्त गर्न सक्दैनन् । यस्तोमा उनीहरुलाई शरीर दुखेको र पेटमा समस्या भए रोएर नै व्यक्त गर्छन् । जसबाट आमाले शरीरमा सञ्चो नभएको बुझ्नुपर्ने हुन्छ । कहिलेकाहीं शिशु पेटमा समस्या भएर पनि रोइरहेका हुन्छन् । यस्तोमा आमाले ज्वानोको रस आफ्नो दूधमा मिसाएर दिंदा शिशुलाई राहत मिल्छ ।

पाचन समस्यामा

ज्वानो पानीले पाचनशक्ति बढाउँछ । जसकारण कसैलाई खानामा अपच वा अरुचि छ भने यसले भोक जगाउन मद्दत गर्छ । साथै यसमा पेटमा रहेको अंकुशे जुकालाई पनि मार्न सक्ने शक्ति हुन्छ । तीनदेखि ६ ग्रामसम्म ज्वानोको धुलो पानीमा मिसाएर खाँदा पाचनशक्तिलाई सन्तुलनमा राख्छ । ज्वानोमा हुने थाइमले डायरिया, पेट फुल्ने, फुड पोइजनबाट हुने पखाला जस्ता समस्या कम गर्छ ।

रुघाखोकी

ज्वानोमा हुने तातोपनले चिसोमा लागेको रुघाखोकी र घाँटी दुख्ने समस्यालाई पनि ठीक गर्न सहायक मानिन्छ । खकार नआउने तर घाँटी ख्यास–ख्यास गर्ने र खोकी लागिरहन्छ भने ज्वानो र पानी उमालेर बाफ लिंदा फाइदा पुग्छ ।

मोटोपन नियन्त्रण

ज्वानोले कोलेस्ट्रोल र ट्राइग्लिसराइड्सको स्तर घटाउँछ । ज्वानोमा पाइने थाइमोल र नियासिनले रक्तसञ्चारलाई प्रभाव गर्छ र नसाको तन्तुमा आवेग बढाउँछ । जसले शरीरलाई सक्रिय बनाउँछ । साथै फाइबर, मिनरल्स, एन्टीअक्सिडेन्ट र भिटामिनको भएकाले यसले विषाक्त पदार्थलाई बाहिर निकालेर शरीरलाई स्वस्थ बनाउन मद्दत गर्छ ।

ज्वानोको तेल

ज्वानो खान मात्र होइन यसबाट निस्कने तेल पनि उपयोगी छ । यसको तेलमा थाइमेल भन्ने तत्व पाइन्छ । सो तत्वमा चिकित्सकीय गुण हुन्छ । एन्टी–इन्फालमेटरी गुण भएकाले यसको तेलले जीउ मालिस गर्दा दुखेको सन्चो हुने, चोटपटकले कुनै अंग सुन्निएको छ भने बसाउन मद्दत गर्ने र चिसो लागेको निको पार्छ ।

यसबाहेक ज्वानोमा एन्टी-ब्याक्टेरियल र एन्टी-फंगल गुण हुँदा पिसेको ज्वानोको लेप घाउमा लगाउँदा छिटो भरिनुका साथै संक्रमण फैलिन दिंदैन । यसको पानीले घाउ सफा गर्न पनि मद्दत गर्छ ।

कसरी प्रयोग गर्ने ?

पानीमा ज्वानो हालेर उमालेर खान सकिन्छ । दुई कप पानीमा दुई चम्चा ज्वानो राख्ने र त्यसपछि १० मिनेट जति पकाउने, मनतातो भएपछि ज्वानो छानेर पानीको झोल खान सकिन्छ ।

ज्वानोको धुलो पाउडर पनि मनतातो पानीमा राखेर खान सकिन्छ । स्वास्थ्य अवस्था कमजोर भएको बेला मात्रै होइन, सामान्य अवस्थामा पनि दैनिक एकदेखि दुई ग्राम ज्वानो खान सकिन्छ । तर त्योभन्दा बढी नखानु नै उपयुक्त हुन्छ ।

कसले नखाने ?

गर्भावस्थामा ज्वानो सकेसम्म नखाएकै राम्रो हुन्छ । यस समय खाँदा उत्तेजना बढाउँछ । त्यस्तै, शरीर न्यानो वा शरीर तातो भइरहनेले रगतसम्बन्धी समस्या भएका व्यक्तिले पनि खानु हुँदैन ।

(पटेलसँग अनलाइनखबरकर्मी मनिषा थापाले गरेको कुराकानीमा आधारित)

ज्वानो स्वास्थ्य
लेखक
डा. विसुनदयाल प्रसाद पटेल, आयुर्वेदिक चिकित्सक
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?