
१९ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकामा सहकारी संस्थाविरूद्ध उजुरीको चाङ लागेको छ ।
महानगरको सहकारी विभागका अनुसार सहकारी संस्थाविरूद्ध हालसम्म ६ हजारभन्दा बढी उजुरी परेको छ ।
विभागका प्रमुख बलराम त्रिपाठी अनुसार २२४ वटा सहकारीमा उजुरी परेको हो । महानगरबाट अहिलेसम्म ७२ वटालाई कारवाहीका लागि प्रहरीमा पठाएको उनले बताए ।
तर काठमाडौं महानगरपालिका भित्र आएको सहकारी विरुद्धको उजुरी फछ्र्यौट नहुँदा बचतर्कताहरुको गुनासो झन बढ्न गएको सहकारी विभागले नै जनाएको छ ।
‘दिनमा ४–५ वटा फलोअपहरु आउँछन, सहकारीको उजुरी के भयो भनेर तर हामीसँग दिने उत्तर केही पनि हुँदैन,’ विभागका एक कर्मचारी भन्छन् ।
महानगरका सहकारी विभागकी उपनिर्देशक विमला कोइरालाले समन्वय नहुँदा उजुरीमाथि कारवाही प्रभावकारी नभएको बताएकी छिन् ।
‘सहकारीमा समस्या परेपछि सम्पत्ति रोक्का गर्न मालपोत कार्यालयलाई लेखेर पठाउने गरिएको छ तर कुनै कार्यालयले पत्रबमोजिम गर्छन्, कसैले मान्दैनन्,’ उनले भनिन् ।
सहकारीहरु संकटमा पर्नुको मुख्य कारण आफ्नालाई ऋण दिने, उत्पादनमा भन्दा उपभोगमा ऋण लगानी गर्ने जस्तो समस्या देखिएको सहकारी विभागका उपरजिष्ट्रार टोलराज उपाध्याय बताउँछन् ।
‘ऋण लिनका लागि मात्र सदस्य बन्ने, धितो नलिई वा कमसल धितो लिएर ऋण दिने, मुनाफा मात्रै खोज्ने जस्ता कारणले सहकारीमा समस्या देखिरहेको छ,’ टोलराज उपाध्याय भन्छन् ।
निगरानी कडाइ गर्ने महानगरको तयारी
महानगरकी उपप्रमुख सुनिता डंगोलले सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्न नियामक निकायका विचमा समन्वय हुनु पर्ने बताउँछिन् ।
सहकारीमा देखिएका समस्या पन्छाएर राख्न नहुने भन्दै उनले भनिन्, ‘समस्या परेका आए व्यक्तिलाई समाधान दिन सक्नु पर्छ । समस्या पहिचान गरेर कसरी समाधान गर्ने हो, नियाममक निकायबाट निचोड निकाल्नुपर्छ ।’
‘सहकारी सबै खराब छैनन्, ऋणी पनि सबै खराब होइनन् । आज राम्रो भएको सँधै राम्रै भइरहन्छ भन्ने पनि होइन । यी सबै विषयमा निगरानी गर्न नियामक निकाय चाहिएको हो ।’ महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले, सहकारी क्षेत्रको नियमनका लागि महानगरपालिकाले तत्काल काम थाल्ने बताए ।
महानगरमा १,९५३ सहकारी
तत्कालीन डिभिजन सहकारी कार्यालय स्थानीय तहमा हस्तान्तरण गर्ने नेपाल सरकारले १ साउन २०७४ मा गरेको निर्णय अनुसार महानगर मातहतमा हस्तान्तर र नयाँ दर्ता गरी १ हजार ९५३ वटा सहकारी संस्था छन् । काठमाडौं महानगरले २०७४ साल अघि नै सहकारी ऐन जारी गरिसकेको थियो ।
काठमाडौं महानगरमा १ हजार ६२८ वटा बचत तथा ऋण सहकारी, २६४ वटा बहुउद्देश्यीय सहकारी, ३ वटा श्रमिक सहकारी, १५ वटा कृषि सहकारी, १३ वटा उपभोक्ता सहकारी, ३ वटा सीपमूलक सहकारी, २ वटा शिक्षा सहकारी छन् । सञ्चार, पर्यटन, चिया र साझा क्षेत्रका १÷१ वटा सहकारी छन् ।
प्रतिक्रिया 4