
काठमाडौं । टेलिभिजन श्रृंखला ‘जुठे’को पुनः प्रसारण बुधबारदेखि हुने भएको छ । मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा निर्देशकद्वय मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ र राजु पौडेल ‘राजु मास्टर’ले यसबारे जानकारी दिएका हुन् ।
हिमालय टिभीमा बुधबार राति साढे ८ बजे र युट्युबमा ९ बजे स्ट्रिमिङ हुने उनीहरुले जनाए । वान–एक्स बेट प्रकरणमा निर्देशकद्वय नै पक्राउ परेपछि सिरियलको प्रसारण रोकिएको थियो ।
यसअघि मास्टर युट्युब च्यानलमा आउने ‘जुठे’ अब भने नयाँ च्यानलमा आउनेछ । छायांकन थलो पनि परिवर्तन गरिएको छ । निर्देशक बल्छी धुर्बेले कथावस्तु पहिलेकै जस्तै हुने र लोकेसनको रुपमा लमजुङकै नयाँ ठाउँ हुने बताए ।
अर्का निर्देशक राजु मास्टरले ६ एपिसोडको छायांकन सकिएको बताए । उनीहरुले आफूहरुको टिम फुटेको चर्चाको खण्डन गर्दै आफूले बल्छीलाई दाइ र उनले भाइ मान्ने गरेको बताए । बुधबार ‘जुठे’को १२० औं भाग प्रसारण हुनेछ ।
पत्रकार सम्मेलनमा अभिनेत्री विद्या कार्कीको जन्मदिनको केक पनि काटिएको थियो । यो सिरियलमा रवि गिरी, विद्या कार्की, मुकुन्द मैनाली, श्रीप्रसाद थापा, शर्मिला शर्मा, रामबाबु रेग्मी लगायतको पनि अभिनय छ ।
प्रतिक्रिया 4