+
+

एमाले कोशी प्रदेशको अध्यक्षमा चार आकांक्षी

हरि अधिकारी हरि अधिकारी
२०८० भदौ १९ गते १८:५२

१९ भदौ, विराटनगर । नेकपा एमाले कोशी प्रदेशको अधिवेशन नजिकिएसँगै नेतृत्वका दाबेदार नेताहरुले गतिविधि बढाएका छन् । आगामी १२–१३ असोजमा तोकिएको अधिवेशनबाट अध्यक्ष बन्न तुलसी न्यौपाने, घनश्याम खतिवडा, विनोद ढकाल र टीकाराम चेम्जोङले दौडधुप बढाएका हुन् ।

आकांक्षी मध्ये न्यौपाने वर्तमान प्रदेश अध्यक्ष हुन् । अध्यक्ष बनेको डेढ वर्षभित्रै अधिवेशन हुन लागेकाले उनी एक कार्यकाल नेतृत्व गर्ने चाहनामा छन् ।

माधव नेपाल समूहमा भए पनि न्यौपाने २०७८ मा पार्टी विभाजन हुँदा एमालेमै बसेका थिए । त्यसबापत एमालेले उनलाई प्रदेश मन्त्री बनाएको थियो ।

प्रदेश अध्यक्षका अर्का आकांक्षी ढकाल एमाले केन्द्रीय सदस्य छन् । मोरङ एमालेमा दुईपटक अध्यक्ष रहेका ढकाल लामो समयदेखि पार्टी अध्यक्ष ओलीलाई साथ दिएका नेता हुन् । तर पछिल्लो समय ओलीसँग असन्तुष्ट ढकाल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नजिक पुगेको नेताहरु बताउँछन् ।

ढकालसँग एमाले मोरङको छैटो अधिवेशनबाट जिल्ला अध्यक्षमा पराजित घनश्याम खतिवडाले पनि प्रदेश अध्यक्षमा दाबी गरिरहेका छन् । उनी पनि एमाले विभाजन अगाडि माधव नेपाल समूहमा थिए । तर पार्टी विभाजन हुँदा एमालेमै बसेका नेता हुन् । ४७ वर्ष लामो राजनीतिक अनुभवलाई आधार मानेर उनी अध्यक्षको दावी गरिरहेका छन् ।

प्रदेश अध्यक्षका दाबेदार चेम्जोङ पूर्व सांसद हुन् । उनी वर्तमान प्रदेश कमिटीको उपाध्यक्ष छन् । तत्कालीन एमालेभित्रको अन्तरसंघर्षमा ओली समूहमा सक्रिय चेम्जोङ पनि नेताहरुको साथ पाउने आशमै छन् । ‘आकांक्षा राख्ने नेताहरुले पार्टी केन्द्रका नेताहरुको निर्णय कुरिरहेको देखिन्छ । तर गतिविधि भने बाक्लिएको छ’, एमाले प्रदेश कमिटीका एक नेता भन्छन् ।

ओली र भण्डारीको लाइन !

पार्टी विभाजनपछि एमालेभित्र सबै नेता ओली समर्थक मात्रै रहेको नेताहरुले दाबी गरिहँदा प्रदेश अधिवेशनमा दुई समूह बन्ने संभावना बढेर गएको छ । त्यो भनेको अध्यक्ष ओलीको निर्देशनले मात्रै सर्वसहमति नजुट्ने अवस्थाको सिर्जना हो ।

नेताहरुका अनुसार, पूर्वराष्ट्रपति भण्डारी निकटकाहरुले अलग्गै समूह बनाएर नेतृत्वमा प्रतिस्पर्धा गर्ने परिस्थिति बलियो बनेको छ । जबकी ओलीलाई पार्टी नेतृत्वमा पुग्न र पार्टीभित्रको अन्तरसंघर्षमा समेत भण्डारीले बलियो साथ दिदै आएकी थिइन् ।

विशेषगरी मदन भण्डारी फाउण्डेसन मार्फत् ओली र भण्डारी एउटै समूहमा थिए । तर, प्रदेश अधिवेशन नजिकिदै गर्दा भण्डारी निकट नेताहरुले अलग समूह बनाउने प्रयत्न गरिरहेका छन् ।

एक नेता, ओली र भण्डारीको गृह प्रदेश भएकाले पनि यो अधिवेशन प्रतिष्ठाको विषय बनेको छ । ‘अहिले तत्काल दुवै नेताले कसैलाई लाइन दिएका छैनन्, तर विस्तारै लाइन खुल्दैछ,’ ती नेता भन्छन्, ‘अधिवेशनसम्म स्पष्ट लाइन देखिने अवस्था छ ।’

स्रोतका अनुसार, भण्डारी समूहको नेतृत्व पूर्वमुख्यमन्त्री शेरधन राईले गरिरहेका छन् । यो समूहलाई दश बुँदे सहमति गरी एमालेमै बसेका धेरैजसो नेताहरुको साथ छ । यो समूहबाट विनोद ढकाल उम्मेदवार बन्न सक्ने संभावना धेरै रहेको ती स्रोत भन्छन् ।

तर ढकालले यसबारे सार्वजनिक टिप्पणी भने गरेका छैनन् । ‘उहाँले सार्वजनिक रुपमा अहिले नबोल्ने भन्नु भएको छ, तर तयारी अध्यक्षमा उठ्ने छ,’ मोरङ एमालेका एक नेता भन्छन्, ‘केन्द्रीय नेतृत्वसँग पनि कुरा भइरहेको छ ।’

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?