
१९ भदौ, काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सरकारले भ्रष्टाचारमा संलग्न जोकोही पनि छोड्न नहुने बताएका छन् ।
पार्टी निकट श्रमिक संगठन अखिल नेपाल ट्रेड युनियन महासंघले मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले भ्रष्टाचार नियन्त्रण गर्ने नाममा राज्य शक्तिको दुरुपयोग नगर्न पनि सरकारलाई सचेत गराए ।
उनले भने, ‘ ‘अहिले सुशासनको कुरा उठेको छ । सुशासनमा अलिकति बेथितिहरुमाथि प्रहार भएको छ । तर यसमा सरकारलाई हामीले पनि बारम्बार भनिराखेका छौं कि त्यसमा दोषी मान्छेहरुको कोही पनि नउम्किउन, निर्दोष मान्छे एक जना पनि नपरोस् । राज्यको शक्ति एकदम संयमित हुनुपर्ने हुन्छ ।’
उपमहासचिव पुनले प्रधानमन्त्री पुष्पकमल दाहाल, गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आफूले पार्टी भित्रकै नेता भएपनि भ्रष्टाचारमा संलग्नहरुलाई कारबाहीको दायरामा ल्याउन बारम्बार दबाब दिने गरेको जिकिर समेत गरे ।
‘हामीले बारम्बार प्रधानमन्त्रीजी, गृहमन्त्रीजी र सबै साथीहरुलाई भनिराखेका छौं—हामी कोही पार्टीकै नेता होउला । कोही नेताका परिवार होलान् । या कोही नजिकको साथी होला, ‘ उनले भने, ‘यदि दोषी देखिन्छ भने कसैलाई छोड्नु हुँदैन । अरुअरु तिर होइन, पहिला आफूतिर हेर्ने हो । तर, निर्दोष छ भने त्यो भिक्टिम हुनु हुँदैन ।’
निर्दोष कोही पनि नपरुन्, दोषी कोही पनि नउम्किने गरी सरकारले सुशासनको क्षेत्रमा काम गर्नुपर्ने उपमहासचिव पुनको भनाइ थियो । उपमहासचिव पुनले कुनैपनि नागरिकको सामाजिक छवि नै सिद्धिने गरी आरोपित गर्ने काम नगर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।
उनले भने, ‘राज्यको शक्ति व्यक्तिका लागि, नागरिकका लागि, संगठनको लागि ईमेज सिद्धिन्छ, भविष्य सिद्धिन्छ । परिवार सिद्धिन्छ । सामाजिक सम्बन्ध सिद्धिन्छ एउटा सानो आरोपले । राज्यले आरोप लगाउनु अगाडि धेरै सोच्नुपर्ने हुन्छ ।’
पूर्वअर्थमन्त्री समेत रहेका पुनले मुलुकमा आर्थिक गतिविधि बढाउन पनि वैदेशिक ऋण भित्र्याउनुपर्ने बाध्यात्मक अवस्था रहेको पनि स्मरण गराए ।
प्रतिक्रिया 4