+
+

बहिरा बालबालिकालाई शिक्षक न पाठ्यसामग्री

नुनुता राई नुनुता राई
२०८० भदौ २० गते १२:१९

२० भदौ, काठमाडौं । रसुवाको आमाछोदिङमो गाउँपालिका–२ का वडाध्यक्ष लाक्पा कामी तामाङ सुनाइ तथा बोलीमा समस्या भएका आफ्ना ९ वर्षका छोरा पढाउने विद्यालय खोज्दै गत हप्ता काठमाडौं आइपुगे ।

चिनजानका व्यक्ति मार्फत राष्ट्रिय बहिरा महासंघको लाजिम्पाटस्थित कार्यालय पुगेका उनले जिल्लामा यस्ता बालबालिका पढाउने विद्यालय नहुँदा छोरालाई ९ वर्षसम्म घरमै राख्नुपरेको बताए ।

महासंघको समन्वयमा उनका छोरालाई पोखराको सिर्जना बहिरा आवासीय माविमा पढाउने मेसो मिल्यो । संविधानले बहिरा र स्वर वा बोलाइ सम्बन्धी अपांगता भएका नागरिकलाई सांकेतिक भाषाको माध्यमबाट निःशुल्क शिक्षा पाउने हक दिएको छ । तर विद्यालय, शिक्षक र पाठ्यसामग्रीको अभावमा यस्ता बालबालिकाहरू संवैधानिक हकबाटै वञ्चित भइरहेका छन् ।

महासंघका अध्यक्ष केपी अधिकारीलाई गत वैशाखदेखि असारसम्म बहिरा बालबालिका भर्नामा सहयोग माग्नेको फोन उठाउन भ्याई–नभ्याई भयो । महासंघका अनुसार यस्ता बालबालिका अध्ययनका लागि नेपालभर १७५ वटा विद्यालयमा स्रोत कक्षा सञ्चालन भएका छन् भने २४ वटा भने बहिराहरूको पढाइ हुने आवासीय विद्यालय छन् । यस्ता विद्यालयमा १५ हजार बालबालिका अध्ययनरत छन् । महासंघका अध्यक्ष केपी अधिकारी बहिरा बालबालिकाको ५० प्रतिशत अझै विद्यालय बाहिर रहेको अनुमान गर्छन् ।

‘पाँच वटा जिल्लामा स्रोत कक्षा समेत छैन । जिल्ला बाहिर भएका आवासीय विद्यालयमा ल्याउन–लैजान सक्ने अवस्था छैन । कतिलाई यस्तो विद्यालय छ पढाउनुपर्छ भन्ने जानकारी समेत छैन’, उनले भने ।

स्रोत कक्षाको प्रभावकारिता

सरकारले बहिरा र स्वर वा बोलाइ सम्बन्धी अपांगता भएका बालबालिका पठन–पाठनका लागि २०५१÷५२ सालदेखि सरकारी विद्यालयमा स्रोत कक्षा सञ्चालन गरिरहेको छ । तर यस्ता स्रोत कक्षामा बहिरा बालबालिकालाई पढाउने तालिमप्राप्त शिक्षक तथा पाठ्यसामग्री पर्याप्त छैनन् ।

सरकारले स्रोत कक्षा सञ्चालनको लागि जनशक्ति तयार गरेको छैन । शिक्षकमा हुनैपर्ने सांकेतिक भाषाबारे ज्ञान, तालिम, पाठ्यसामग्री तयार नगरी सञ्चालन भएका स्रोत कक्षाहरू प्रभावकारी बन्न सकेका छैनन् । ‘सरकारले स्रोत कक्षा त सञ्चालन गरेको छ तर न तालिमप्राप्त शिक्षक दिएको छ, न कक्षामा आवश्यक पाठ्यसामग्री नै’, उनले भने ।

स्रोत कक्षामा पढाउने शिक्षक सांकेतिक भाषा जानेको हुनैपर्ने भएकाले बरु सरकारले तालिम दिनुपर्ने अधिकारी बताउँछन् ।

बहिरा र स्वर वा बोलाइ सम्बन्धी अपांगता भएकाको लागि बनेको पाठ्यसामग्री समेत पर्याप्त छैन । पाठ्यपुस्तकमा भएका करिब ५० प्रतिशत शब्द मात्रै सांकेतिक भाषामा उपलब्ध छ । शब्द अनुसारको संकेत नहुँदा सांकेतिक भाषा जानेका शिक्षकलाई समेत पढाउन समस्या छ ।

पाठ्यसामग्रीको अभावका कारण स्रोत कक्षाको पढाइ राम्रो नरहेको अधिकारी बताउँछन् । ‘स्रोत कक्षा भएका विद्यालयमा कक्षा ८ मा पढ्ने बालबालिकालाई विशेष विद्यालयमा सार्दा ६ कक्षामा भर्ना गर्नुपर्ने अवस्था छ । त्यो अबोध बालबालिकाको बीचको दुई वर्ष समयको क्षतिपूर्ति कसले दिने ?’ अधिकारी प्रश्न गर्छन् ।

अभिभावक सुरेन्द्र क्षेत्री सुनाइमा समस्या भएका बालबालिकाको शिक्षाको लागि सरकारले बेवास्ता गरेको बताउँछन् । ‘सुनाइ तथा बोलीमा समस्या हुने बालबालिकाको शिक्षकले नै सांकेतिक भाषा जान्दैनन् । बोर्डमा अथवा किताबमा भएको जस्तै लेख्नु मात्रै हो र विद्यालयको सिकाइ ?’ उनको प्रश्न छ ।

आफ्नो छोराले स्रोत कक्षा भएको विद्यालयमा चार कक्षासम्म पढ्दा पाठ्यपुस्तकमा भएको शब्दको संकेत पनि नजानेपछि विशेष विद्यालयमा भर्ना गरेको क्षेत्रीले बताए । विद्यार्थीलाई सिकाउने, उनीहरूको कुरा बुझ्ने भन्दा पनि जागिर खाने मानसिकताका शिक्षकका कारण विद्यार्थी पीडित भइरहेको उनको बुझाइ छ ।

मानव स्रोत विकास केन्द्र, शिक्षक तालिम शाखाले भने आवश्यकताको आधारमा सुनाइमा समस्या भएका बालबालिकाका शिक्षकको लागि भनेर प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गर्दै आइरहेको जनाएको छ ।

शाखाकी प्राविधिक अधिकृत रजनी धिमाल भन्छिन्, ‘पछिल्लो दुई शैक्षिक वर्षमा बहिरा र स्वर वा बोलाइ सम्बन्धी अपांगता भएका विद्यार्थीको सिकाइको लागि भनेर प्रदेशस्तरीय तालिम सञ्चालन ग¥यौं ।’ राष्ट्रिय बहिरा महासंघले पनि शिक्षकहरूको लागि सांकेतिक भाषा तालिम सञ्चालन गरेको जनाएको छ ।

प्राविधिक विषय पढ्न समस्या 

विराटनगरको विराट बहिरा माविले डिप्लोमा इन सिभिल इन्जिनियरिङ र धौलागिरि बहिरा आवासीय माविले डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ पढाइरहेको छ । २०७२ सालदेखि नै पढाउन सुरु गरे पनि प्राविधिक शब्दहरूको संकेत नहुँदा विद्यार्थी र शिक्षकलाई समस्या परेको विराट बहिरा माविकी प्रधानाध्यापक मीनु अधिकारी बताउँछिन् ।

‘सबलाङ्ग विद्यार्थीका लागि तयार भएको पुस्तक नै पढाउनुपर्ने हुन्छ । सबै शब्दको संकेत छैन । बोर्डमा लेखेर बुझाउने कोसिस गर्दै पढाइरहेका छौं’ उनले भनिन्, ‘विद्यार्थी लगनशील भएकाले प्रयोगात्मक कुराहरूमा राम्रो प्रस्तुति दिने गरेका छन् ।’

बाग्लुङ बहिरा आवासीय माविले २०७५ सालदेखि डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ पढाउन सुरु गरेको छ । यहाँ पनि प्राविधिक शब्दहरूको संकेत नहुँदा पढाउन समस्या भएको ११ र १२ का संयोजक अनन्तविजय श्रेष्ठ बताउँछन् । सीटीईभीटीले नै दुई जना दोभाषेको व्यवस्था गरिदिएपछि कार्यक्रम सुरु गरिएको विद्यालयको भनाइ छ ।

को–अर्डिनेटर श्रेष्ठ भन्छन्, ‘कम्प्युटर इन्जिनियरिङको संकेत एकदमै थोरै छ । त्यसैले शिक्षकले बोलेको शब्द दोभाषेले बुझाउन नसकिने भएकाले भिडियो देखाएर बुझाउने गरेका छौं ।’

उत्तीर्ण भएका विद्यार्थीले सहायक प्रशिक्षकको रूपमा पढाउने, कम्प्युटर ल्याबमा काम गर्ने रोजगारी पाएको श्रेष्ठ बताउँछन् । उनी भन्छन्, ‘योग्यता भए पनि बहिरा नै भएको कारणले नराख्ने पनि छन् त्यसैले सरकारले रोजगारीको व्यवस्था गर्नुपर्छ ।’

लेखकको बारेमा
नुनुता राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?