
२० भदौ, धनगढी । धनगढीमा एक महिलामाथि कुटपिट गरिएको छ । धनगढी उपमहानगरपालिका–४ चटकपुरकी लक्ष्मी भट्टमाथि बुधबार बिहान कुटपिट गरिएको हो ।
भट्टका छोरा नवीनले स्थानीय प्रेम विष्टले मदिरा सेवन गरेर आमामाथि कुटपिट गरेको बताए ।
उनका अनुसार आपसी लेनदेनको विषयमा लामो समयदेखि विवाद रहेकोमा मंगलबार जिल्ला प्रहरी कार्यालयमा विष्टसँग मिलापत्र गर्दै अबदेखि विवाद नगर्ने सहमति भएको थियो तर मिलापत्र भएको भोलिपल्टै भट्टमाथि कुटपिट भएको हो ।
उनका अनुसार भट्टकी बहिनी नाता पर्नेसँग हिसाबको बारेमा कुराकानी भइरहेका बेला एक्कासी आएर विष्टले उनीमाथि ईटा प्रहार गरेका हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीले भट्टले आपसी विवादका क्रममा महिलामाथि ईटा प्रहार गरेको पाइएको जनाएको छ ।
पीडित महिलाको टाउकोमा चोट लागेको छ । उनको धनगढीस्थित स्वस्तिक अस्पतालमा उपचार भइरहेको छ ।
महिलामाथि कुटपिट गर्ने विष्टलाई भने जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको जनाएको छ । विष्टलाई हिरासतमा राखेर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया 4