
२० भदौ, काठमाडौं । राष्ट्रिय सडक सञ्जालसँग जोडिन बाँकी एक मात्र जिल्ला सदरमुकाम सिमकोट सडक सञ्जालको नजिक पुगेको छ । वर्षौंदेखिको यो सपना चालु आर्थिक वर्ष (आव) २०८०/८१ मा पूरा हुने सम्भावना बढेको हो ।
सरकारले यस वर्षको बजेटमा यो योजना पूरा गर्ने घोषणा गरेको छ । बजेट भाषणमा भनिएको छ, ‘राष्ट्रिय सडक सञ्जालसँग जोडिन बाँकी हुम्ला जिल्लाको सदरमुकाम सिमकोटलाई ट्र्याक खोल्ने कार्य सम्पन्न गरी सडक सञ्जालमा जोडिनेछ ।
कर्णाली करिडोर उत्तर खण्ड (हिल्सा–सिमकोट) सडक योजनाका निमित्त प्रमुख वीरेन्द्रबहादुर चन्दका अनुसार हुम्लाको सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने गरी अगाडि बढेको ट्र्याक खोल्ने काम पूरा हुन अब करिब २ किलोमिटर मात्र बाँकी छ । यो काम यसै आर्थिक वर्षमा सक्ने गरी काम भइरहेको उनी बताउँछन् । यो काम यसै वर्ष सक्नै पर्नेछ,’ उनले भने, ‘हामी सिमकोटलाई सडक सञ्जालमा जोड्ने गरी लागि परेका छौं ।’
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालु आवका लागि यो आयोजनालाई ३१ करोड रुपैयाँ विनियोजन गरेको छ । हुम्ला जिल्ला यसअघि नै सडक सञ्जालमा जोडिएको भए पनि सदरमुकाम सिमकोटसम्म भने नेपालतर्फबाट सडक पुग्ने सकेको छैन । यो राष्ट्रिय सडक सञ्जालमा जोडिन नसकेको एक मात्र जिल्ला सदरमुकाम हो ।
कर्णाली करिडोर अन्तर्गत कालिकोटको खुलालुदेखि हुम्लाको सल्लीसल्लासम्मको सडकमा ट्र्याक खुलिसकेको छ । अब सल्लीसल्ला–सिमकोट सडक खण्डमा ट्रयाक निर्माणको काम नेपाली सेनाले गरिरहेको छ । यो सडक खण्डमा २ किलोमिटर लामो ट्र्याक पूरा भएसँगै सिमिकोट राष्ट्रिय सडक सञ्जालमा जोडिने छ । सल्लीसल्लादेखि सिमकोटसम्मको सडकको दूरी ५५ किलोमिटर रहेको छ ।
खुलालुदेखि हुम्लाको सल्लीसल्लासम्मको सडकको दूरी भने १२३ किलोमिटर हो । सोहीकारण हुम्ला राष्ट्रिय सडक सञ्जालमा यसअघि नै जोडिएको छ । तर, सदरमुकाम भने राष्ट्रिय सडक सञ्जालमा जोडिन सकेको छैन । सुर्खेतबाट कालिकोट हुँदै बाजुरा छोएर हुम्ला जाने सडक कर्णाली करिडोर हो ।
मुगुको सदरमुकाम गमगढीबाट हुम्लाको चंखेलीस्थित दार्मसम्म भने एक वर्ष अगाडि नै सडक पुगेको थियो । हिल्सा–सिमकोट रुटमा समेत सवारी चल्छन् । कर्णाली करिडोरको शिलान्यास २०५६ सालमा भएको हो । कठिन भूगोलका कारण निर्माणले गति लिन नसकेको यो सडकको निर्माण २०७१ सालबाट नेपाली सेनालाई दिइएको हो ।
सिमकोट–हिल्सा सडक खण्डमा भने नियमित चल्छन् सवारी
अहिले सिमकोट–हिल्सा सडक खण्डमा भने नियमित सवारी साधन चल्छन् । यस खण्डमा ट्याक्टर र जीपहरुले यात्रुलाई सेवा दिइरहेको निमित्त प्रमुख चन्दले जानकारी दिए । यहाँ हालै रसुवागढी हुँदै दुई वटा बस समेत पुर्याइएको छ । विगतमा हेलिकप्टरमा ढुवानी गरेर समेत सवारी साधन लैजान चलन भएपनि अहिले तिब्बतको बाटो हुँदै सिमकोटसम्म सवारी साधन लैजान सम्भव भएको छ ।
सिमकोट क्षेत्रमा अहिले एक दर्जन जीपले यात्रुलाई सेवा दिइरहेका छन् । राष्ट्रिय सडक सञ्जालमा नजोडिंदा ठूला सवारी साधन लैजान कठिन हुँदा स्थानीयले यी जीपमा महँगो भाडा तिर्न बाध्य छन् । हिल्सा पब्लिक यातायात प्रालिले अघिल्लो साता दुई वटा बस हुम्ला पुर्याएसँगै अब भाडा केही प्रतिस्पर्धी हुने अपेक्षा गरिएको छ । हिल्सा भन्दा पारि तिब्बतको ताक्लाकोट बजार रहेको छ । हुम्लामा सबै सडकखण्ड कच्ची रहेको छ ।
प्रतिक्रिया 4