
२० भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङको बेलायत भ्रमण पार्टीको केन्द्रीय समिति बैठकले गरेको निर्णय विपरीत भएकाले रोकिएको प्रवास कमिटीले जानकारी दिएको छ ।
महासचिव गुरुङ २३ भदौका लागि तय भएको जनप्रगतिशील मञ्च बेलायतको बैठकमा प्रमुख अतिथिका रूपमा सहभागी हुन जानै लाग्दा माओवादी केन्द्रको प्रवाश कमिटीले कार्यक्रम नै स्थगित गरेको थियो । कार्यक्रम स्थगित भएपछि महासचिव गुरुङ बेलायत गएनन् ।
कार्यक्रम हुने ६ दिनअघि मात्रै बेलायतस्थित जनप्रगतिशील मञ्चको सचिवालय बैठकले कार्यक्रम स्थगित गरेपछि गुरुङको भ्रमण रोकिएको हो ।
माओवादी केन्द्रको प्रवाश कमिटीका नेता तथा पार्टी केन्द्रीय सदस्य लक्ष्मण पन्तले केन्द्रसँग समन्वय नगरीकनै कार्यक्रम आयोजना गर्ने नेता बोलाउने प्रवृत्ति बढेपछि त्यसलाई रोक्न कार्यक्रम स्थगितको निर्देशन दिएको बताए ।
‘हामीले पार्टीलाई विधान अनुरूप सञ्चालन गरौँ भनेर भनेका हौँ । केही समयअघि बसेको भर्चुअल बैठकमा हामीले सबै कमिटीलाई कुनै पनि नेतालाई रमाइलो गर्न र घुमघाम गर्नैका लागि विदेश भ्रमण जाने र त्यहाँका श्रमिकसाग खर्च उठाएर हिँड्ने कुरा रोक्नुपर्छ भनेर भनेका थियौँ’, पन्तले भने, ‘तर हामीसँग कुनै समन्वय नै नगरी पार्टी हेडक्वार्टर र माथिल्लो तहका नेतालाई बोलाएर कार्यक्रम गर्न लागेपछि हामी रोक्नुस् भनेका हौँ ।’
उनले विधिमार्फत पार्टी सञ्चालन भएन भनेर प्रश्न उठिरहेका बेला सबैले पार्टीको केन्द्रीय समितिले गरेको निर्णयलाई मान्नु पर्ने बताए । बेलायतस्थित जनप्रगतिशील मञ्चका अध्यक्ष मानबहादुर गुरुङले एक महिनाअघि नै महासचिव आउने तय भएको बताएका थिए ।
उनले गत १४ अगस्टमै निर्णय गरेर प्रवास कमिटीका अध्यक्ष ओम शर्मा, युरोप मोर्चा लगायतका समितिलाई जानकारी समेत गराएको बताएका थिए । तर प्रवाश कमिटीका पूर्व सहइन्चार्ज समेत रहेका नेता पन्तले त्यसलाई अस्वीकार गरे ।
‘कार्यक्रम कमिटीको केन्द्रकै निर्देशनमा रोकिएको सत्य हो । तर हामीलाई को बोलाउने भन्नेबारेमा जानकारी दिइएको थिएन’, उनले भने, ‘त्यसो हुँदा हामीसँग छलफल नै नगरी के कसरी कार्यक्रम गर्दै हुनुहुन्छ भनेर हाललाई स्थगित गर्न निर्देशन दिइएको हो ।’
उनले मनपरी हिसाबले नेताहरूलाई बोलाउने कामले पार्टीलाई विधानमा सञ्चालन गर्ने भन्दा पनि तोड्नेतर्फ बढी उद्यत हुने हुँदा सबैले यसमा जिम्मेवार हुनुपर्ने बताए ।
२३ भदौका लागि आयोजना गरिएको कार्यक्रम १७ भदौमा संगठनले आकस्मिक भर्चुअल बैठक बसेर स्थगित गरिसकेको छ । मञ्चको बैठकले आकस्मिक निर्देशन आएको कारण प्रष्ट पारिदिन माथिल्लो समितिलाई पत्राचार गर्ने निर्णय समेत गरेको छ ।
प्रतिक्रिया 4