
२० भदौं, काठमाडौं । सोमबार मकवानपुरकी थाहा नगरपालिकाको–१० की पाँच वर्षीया रेजिशा गोपालीको कान्ति बाल अस्पतालको इमर्जेन्सीमा उपचारका लागि पालो कुर्दाकुर्दै मृत्यु भयो ।
स्वास्थ्य अवस्था जटिल भएकी बालिकालाई आकस्मिक कक्षमा घण्टौं लाइन राखिएको र समयमै उपचार नपाएर मृत्यु भएको घटना सार्वजानिक भएपछि अस्पतालले छानबिन गर्नका लागि तीन सदस्यीय समित गठन गरेको छ ।
अस्पतालले डा. प्रकाश जोशीको संयोजकत्वमा नर्सिङ अधिकृत अजिता सिलवाल र शाखा अधिकृत डमरु दाहाल सदस्य–सचिव भएको छानविन समिति गठन गरेको हो ।
उक्त समितिलाई गत १८ गते सोमबार रातको समयमा अस्पतालको इमरजेन्सी वार्डमा भएको घटनाको सत्यतथ्य पत्ता लगाई पाँच दिन भित्र प्रतिवेदन बुझाउन भनिएको छ ।
काठमाडौंको बाफल बस्ने मकवानपुर–१० की पाँच वर्षीया रेजिशा गोपालीलाई उच्च ज्वरो आउने, बान्ता हुनेभएपछि सोमबार दिँउसो ५ बजे कान्तिको इमर्जेन्सी कक्ष पुर्याइएको थियो । तर, समयमै उपचार नगर्दा बालिकाको ज्यान गएको आफन्तले बताएका छन् ।
उपचारका लागि पालो कुरेर बस्न घन्टौ लाइनबस्नुपरेको थियो । अस्पतालको ओपीडी सेवा दिँउसो १ बजे बन्द हुने भएकाले उनलाई परिवारले इमर्जेन्सी पुर्याउँछन् ।
परिवारले बालिकाको स्वास्थ्य अवस्था जटिल बन्दै गएकोले छिट्टै उपचार गरिदिन अनुरोध गर्दा इमजेन्सीका विभागका कर्मचारीले टिकट काटेर पालोमा आउन निर्देशन दिए ।
दुई घन्टासम्म कुर्दा पनि इमर्जेन्सीमा कुनै उपचार नपाएपछि साँझ ७ बजे रेजिशाले हजुरबुबाको काखमा प्राण त्याग गरिन् ।
प्रतिक्रिया 4