
२० भदौ, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमण गरेको आरोपमा पक्राउ परेका व्यक्ति श्यामबहादुर सापकोटा यसअघि पनि पक्राउ परिसकेको व्यक्ति भएको खुलेको छ ।
प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानका क्रममा सापकोटाले यसअघि वैदेशिक रोजगार विभागका कर्मचारीलाई कालोमोसो दलेको भेटिएको छ । त्यसक्रममा उनी पक्राउ परेर छुटेको पाइएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतले बताए ।
‘आज राति भएकाले क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस) मा हेर्न मिलेन, भोलि विस्तृत विवरण निकाल्छौं’, ती अधिकृतले भने, ‘उनी अरु प्रकरणमा पनि मुछिएको हुनसक्छ ।’
प्रहरी अधिकृतहरुका अनुसार, नुवाकोटको विदुर नगरपालिका–७ स्थायी घर भएका सापकोटाले यसअघि पनि आक्रमणको धम्की दिंदै हिंड्ने गरेका थिए । ‘आन्दोलनका क्रममा प्रहरीलाई पनि हान्दिन्छु भनेको रहेछ, अरु खोजी गरिरहेका छौं’, स्रोतले भन्यो ।
भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा बुधबार अपराह्न कांग्रेस सहमहामन्त्री यादवसँग साक्षात्कार कार्यक्रम थियो । त्यसमा उनले समेत यादवलाई विभिन्न प्रश्न राखेका थिए ।
निस्किने वित्तिकै एमसीसी परियोजनाको विरोधमा नारा लगाउँदै यादवलाई उनले खुकुरी प्रहार गरेका थिए । त्यसबेला उनले ‘राजतन्त्र जिन्दावाद’ भन्दै नारा समेत लगाएका थिए । प्रहरीले उनीबारे नुवाकोटमा रहेको परिवारसँग पनि सोधपुछ गरेको छ । त्यसक्रममा उनी पहिले राप्रपासँग निकट रहेको खुलेको छ । ‘पहिले कमल थापा अध्यक्ष हुँदा उहाँ त्यहाँ सक्रिय हुनुहुँदोरहेछ’, प्रहरी स्रोतले भन्यो ।
प्रहरीका अनुसार, उनी लामो समय वैदेशिक रोजगारीका लागि दुबई गएर फर्किएका थिए । विदेश जाने बेला उनले बिचौलियालाई पैसा खुवाएको समेत आफन्तहरुले बताएका छन् । पछि क्षतिपूर्तिवापत पाउनुपर्ने निश्चित रकम नपाएपछि उनले बिचौलियाहरुको विरोध गरेका थिए । त्यही विषयलाई लिएर उनले कर्मचारीलाई कालोमोसो दलेको प्रहरीले जनाएको छ ।
पछिल्लो समय उनले एमसीसी लगायत परियोजना र भ्रष्टाचारको विरोध गर्दै चर्को नारावाजी गर्ने गरेको पाइएको छ । उनले पछिल्लो समय एक युट्यूब च्यानलमा अन्तर्वार्ता दिंदै शीर्ष नेताहरुको विरोध समेत गरेका थिए ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी भुपेन्द्र खत्रीका अनुसार, उनीविरुद्ध ज्यानमार्ने उद्योगको कसुरमा म्याद थप गरेर विस्तृत अनुसन्धान हुन्छ । सहमहामन्त्री यादवको अवस्था खतरामुक्त रहेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया 4