+
+

लुम्बिनी विकास कोषमा आर्थिक पारदर्शिता छैन : उपाध्यक्ष लामा

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २१ गते १२:४१

२१ भदौ, बुटवल । लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाले कोषभित्र आर्थिक पारदर्शिता नभएको स्वीकारेका छन् ।

आज लुम्बिनीमा रुपन्देही, कपिलवस्तु र नवलपरासीका पत्रकारसँगको अन्तरक्रियामा उपाध्यक्ष लामाले कोषभित्र आर्थिक पारदर्शिता नभएको विषय स्वदेशमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा समेत सन्देश पुगेको बताएका हुन् ।

उनले आफू कमाउनका लागि लुम्बिनी नआएको र लुम्बिनीको विकासमा योगदान पुर्‍याउने आफ्नो उद्देश्य रहेको जिकिर गर्दै उनले कर्मचारीहरुलाई आर्थिक अनुशासन र पारर्दिता कायम राख्न निर्देशन दिइएको बताए ।

कोषका कर्मचारीमा काम नगर्ने प्रवृत्ति हाबी हुँदा लुम्बिनी गुरुयोजना समयमै पूरा हुन नसकेको र यहाँको विकास पछाडि परेको लामाले औंल्याए ।

कोषभित्रका बिहारहरुले विदेशी पाहुना राख्दा होटेल व्यवसायीहरु मर्कामा परेको गुनासो आएको भन्दै विहारहरु अन्य देशमा पनि हुने तर तिनीहरुलाई करको दायरामा ल्याउनुपर्ने बताए ।

उनले बुद्धत्व झल्किने गरी मायादेवी मन्दिर पुनःनिर्माणका लागि व्यक्तिगत रुपमा सात करोड रुपैयाँ प्रदान गर्ने घोषणा गरिसकेको हुँदा उक्त रकम छिटै उपलब्ध गराउने बताए ।

‘अब ६/७ अर्बको रकम जुटाएर गुरूयोजना सकाउनु छ, अहिले देशको बजेटमा पनि समस्या छ, म बुद्ध धर्मको विश्व समुदायसँगै जोडिएको छु, केही समयमा त्यो फोरममा म जानेछु र स्रोत जुटाउने छु,’ उनले भने ।

उपाध्यक्ष लामाले कोषलाई सबै पक्षमा पारदर्शिता बनाउने प्रमुख उद्देश्य रहेको बताउँदै त्यसमा साथ दिन पत्रकारलाई अनुरोध गरे । ‘पारदर्शिता आर्थिकको मात्र होइन, हरेक काम र जिम्मेवारीको पारदर्शिता गराउने छु, यहाँको जमिन, स्रोत, कर्मचारीको अवस्था, स्थानीयको सहयोग सबैलाई पारदर्शी बनाउने छु,’ उनले भने ।

लुम्बिनी आउने पर्यटकको बसाइ लम्ब्याउन देवदह, तिलौराकोट, रामग्राम र कुदानमा बिहार बनाएर बौद्ध गतिविधि बढाउने योजना कार्यान्वयन गर्ने उनले बताए ।

लुम्बिनी विकास कोष क्षेत्रमा पशु बध र मासु बिक्री वितरण अव्यवस्थित हुँदा लुम्बिनीको गरिमामा आँच पुगेकाले यसलाई व्यवस्थित गर्नुपर्नेमा लामाले जोड दिए उपाध्यक्ष लामाले गुरूयोजनामा केही परिमार्जन गर्नुपर्ने अवस्था देखिएको विषयमा सबैलाई महशुस भएको बताउँदै त्यसको लागि युनेस्को, विभागीय मन्त्रालय र सरोकारवाला निकायसँगको परामर्शमा गरिने बताए ।

‘४५ वर्षअघि केन्जो टाँगेले बनाएको योजना हो, अहिले धेरै अवस्था फेरिएको छ, त्यसका कारण पनि परिमार्जन जरुरी छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?