
काठमाडौं । नेकपा एमालेका नेता तथा सांसद योगेश भट्टराईले नेपाली फिल्म हेर्ने बानी बसाले अरु फिल्महरु क्रमशः पाखा लाग्ने टिप्पणी गरेका छन् । बुधबार बेलुका नेपाली फिल्म ‘ऐंचोपैंचो’ हेरेपछि मिडिया कुराकानीमा उनले विदेशी फिल्म लक्षित उक्त अभिव्यक्ति दिएका हुन् ।
उनले भने, ‘अहिलेको ग्लोबल सोसाइटीमा कुनै पनि फिल्मलाई प्रतिबन्ध लगाउन त सकिंदैन, तर नेपाली फिल्म हेर्ने र नेपाली फिल्मलाई माया गरियो भने अरु फिल्म क्रमशः पाखा लाग्छन् ।’
उनले ‘ऐंचोपैंचो’लाई नेपाली फिल्म उद्योगका लागि राम्रो गिफ्ट भएको समेत बताए । ‘देशभक्ति र सामाजिक फिल्म रहेछ । नेपाली फिल्मलाई सही बाटोमा अघि बढ्न प्रेरणा दिएको छ । गलत प्रवृत्तिका विरुद्ध सम्झौता होइन, संघर्ष गर्नुपर्छ भन्ने यसको सन्देश छ । समग्रतामा फिल्म राम्रो बनेको छ । नेपाली फिल्म जगतमा यो चाहिं एउटा राम्रो गिफ्ट हो,’ उनले भने ।
उनले फिल्ममा चित्रण गरिएका सन्दर्भ नेपाली राजनीतिसँग मिल्दोजुल्दो भएको बताए । ‘फिल्म हो, कतिपय वास्तविकता मिल्छन् र मिल्दैनन् पनि । यसमा राजनीतिका बारेमा जति टिप्पणी भएका छन्, यसका कतिपय कुरा सत्य छन् र यसलाई सुधार्नुपर्छ ।’
बिहीबारदेखि यो फिल्म दोस्रो सातामा प्रवेश गरेको छ । कृषा चौलागाईं निर्देशित फिल्ममा स्वस्तिमा खड्का, वर्षा राउत, मुकुन भुसाल लगायतको शीर्ष भूमिका छ । राजनीतिक र सामाजिक कथावस्तुमा आधारित यो फिल्मलाई माधवकुमार नेपाल, प्रेम आले लगायतका नेताहरुले पनि हेरेका छन् ।
प्रतिक्रिया 4