+
+

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा तीन जनाको नाम सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २१ गते १७:३५

भदौ २१, काठमाडौं । चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदका लागि तीन जनाको नाम सिफारिस भएको छ ।

स्रोतका अनुसार आयोगको उपाध्यक्ष पदको लागि डा. अञ्जनीकुमार झा, डा. प्रविण मिश्र र डा. श्रीकृष्ण गिरीको नाम सिफारिस गरिएको हो ।

आयोगको उपाध्यक्षको नाम सिफारिस गर्न गठित सिफारिस समितिले आयोगको उपाध्यक्ष नियुक्तिका लागि पहिलो नम्बरमा डा. झा, दोस्रो नम्बरमा डा. मिश्र र तेस्रो नम्बरमा डा. गिरीको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको स्रोतको दाबी छ ।

नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष समेत रहेका डा. झा नेपाली कांग्रेस निकटका चिकित्सक हुन् । डा. आयोगका वर्तमान उपाध्यक्ष समेत रहेका छन् भने डा. गिरी भने माओवादी निकट मानिन्छन् । त्यस्तै, डा. मिश्र पूर्वस्वास्थ्य सचिव हुन् । उनी पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई निकट समेत मानिने चर्चा छ ।

उनीहरू तीनै जनाले राजनैतिक लबिङ गरिरहेको बुझिएको छ । वर्तमान उपाध्यक्ष डा. गिरीको कार्यकाल भदौ २५ मा सकिँदैछ ।

नाम सिफारिस भएको तीन जनामध्ये एक जनालाई मन्त्रिपरिषद्ले आयोगको उपाध्यक्षमा नियुक्ति गर्छ ।

आयोगको उपाध्यक्षका लागि ९ जनाको आवेदन परेको थियो । उपाध्यक्ष पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले आवेदन दिएका ९ जनासँग भदौ १७ र १८ गते अन्तरर्वार्ता र प्रस्तुतिकरण हेरेको थियो ।

आयोगको उपाध्यक्ष पदका लागि प्रा.डा. संगिता सिंह भण्डारी, प्रा.डा. सुमनकुमार श्रेष्ठ, डा. प्रविण मिश्र, प्रा.डा. पियुस दाहाल र प्रा.डा. विधान निधि पौडेलले दरखास्त दिएका दिए ।

वर्तमान उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरी, डा. प्रमोदकुमार यादव, डा. अञ्जनीकुमार झा र प्रा.डा. मनेनप्रसाद गोर्खालीले आवेदन दिएका थिए ।

राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा–२२ मा आयोगको उपाध्यक्ष नियुक्ति सम्बन्धी व्यवस्था छ । ऐनको दफा २२ को उपदफा ‘१’ मा सरकारले दफा–२३ बमोजिमको समितिले सिफारिस गरेका व्यक्तिहरू मध्येबाट एक जनालाई आयोगको उपाध्यक्ष नियुक्त गर्ने प्रावधान रहेको छ । ऐनमा उपाध्यक्षको पदावधि बढीमा चार वर्षको हुने प्रावधान छ ।

आयोगको कार्यकारी भूमिकामा उपाध्यक्ष रहने कानुनी व्यवस्था छ । प्रधानमन्त्री आयोगको अध्यक्ष हुन्छन् ।

ऐनको दफा–२३ को उपदफा ‘१’ मा उपाध्यक्ष नियुक्तिको लागि नाम सिफारिस गर्न नेपाल सरकारले सिफारिस समिति गठन गर्ने व्यवस्था छ । ऐनको दफा–२३ को उपदफा ‘१’ को (क) मा लोकसेवा आयोगको अध्यक्षको संयोजकत्वमा चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिका लागि नाम सिफारिस गर्न सिफारिस समिति गठन गर्ने प्रावधान छ ।

आयोगले चिकित्सा शिक्षाको क्षेत्रमा अवलम्बन गर्नु पर्ने राष्ट्रिय नीति तय गर्ने, संघ तथा प्रदेश तहका चिकित्सा शिक्षाको सबै तह एवं विधाको मापदण्ड र स्तर सम्बन्धी नीति तथा मापदण्ड निर्धारण गर्ने, एकीकृत प्रवेश परीक्षा (कमन इन्ट्रान्स) सञ्चालनका लागि नीति तथा मापदण्ड निर्धारण गर्ने, चिकित्सा शिक्षाको विषयमा विश्वविद्यालय, प्रतिष्ठान र परिषद्लाई आवश्यकता अनुसार निर्देशन दिनेलगायतका काम गर्दछ ।

यस्तै, आयोगमा योग्य व्यक्तिलाई छान्न डा. गोविन्द केसीले माग गर्दै आइरहेका छन् । डा. गोविन्द केसीले बिहीबार विज्ञप्ति जारी गर्दै आयोगलाई स्वायत्त निकायका रुपमा नेतृत्व गर्न सक्ने व्यक्तिलाई छान्न माग गरेका हुन ।

‘कुनै राजनीतिक प्रभाव, दबाब, प्रलोभन वा स्वार्थको द्वन्द्वमा नपरी आयोगलाई स्वायत्त निकायका रुपमा नेतृत्व गर्न सक्ने व्यक्तिलाई नै छान्नुपर्ने हुन्छ’ केसीले विज्ञप्तिमा भनेका छन्, ‘त्यसका लागि चिकित्सा शिक्षाका क्षेत्रमा कार्यकुशलता प्रमाणित गरेको तथा कुनै पनि स्वार्थ समुहसित कुनै सम्बन्ध नभएको विगतमा कुनै अनियमिततामा नमुछिएको व्यक्तिलाई छान्नुपर्ने हुन्छ । त्यसो नभएमा चिकित्सा शिक्षा आयोगले गत चार वर्षमा स्थापित गरेको साख तथा संस्थागत गरेको सुधार जोखिममा पर्ने हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?