
२१ भदौ, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले तत्कालका लागि वैदेशिक रोजगारको विकल्प नभएको बताएका छन् ।
मन्त्री भण्डारीले वैदेशिक रोजगार पीडादायक भए पनि मुलुकको आर्थिक अवस्था कमजोर भएकोले त्यसको विकल्प नभएको बताए ।
‘वैदेशिक रोजगार बाध्यात्मक अवस्था हो । यसको अर्को विकल्प तत्कालका लागि छैन,’ उनले भने, ‘यो एकदमै पीडादायक अवस्था हो । तर अहिलेको अवस्थामा मुलुकको जुन आर्थिक स्थिति छ । त्यसले गर्दाखेरी तत्काल कुनै चमत्कार हुने अवस्था पनि छैन ।’
बिहीबार प्रतिनिधि सभा बैठकमा आफ्नो मन्त्रालयसम्बन्धि प्रश्नोत्तर कार्यक्रममा उनले वैदेशिक रोजगारमा नागरिकहरु जानुपर्ने बाध्यात्मक अवस्था भएको कारणले सरकारले उनीहरुलाई सम्मानित र मर्यादित ढंगले गन्तव्य मुलुक पठाउने काम गरिरहेको दाबी समेत गरे ।
उनले विदेशमा रहेका श्रमिकलाई स्वदेशमै फर्काएर रोजगारीको अवसर दिलाउने गरी सरकारले आप्रवासन सम्बन्धी राष्ट्रिय नीति ल्याउने गरी आवश्यक काम गरिरहेको बताए ।
मन्त्री भण्डारीले वैदेशिक रोजगार कम्पनीबाट ठगि हुन नदिनका लागि सरकारले श्रम विभागमार्फत अनुगमनको काममा कडाइ गरिरहेको दाबी गरे ।
प्रतिक्रिया 4