
२२ भदौ, सिन्धुपाल्चोक । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको उम्मेदवार छान्ने प्रणाली परिवर्तन गर्नुपर्ने बताएका छन् ।
पार्टीभित्रको गुटको अन्त्य र पार्टीभित्रको विभेद अन्त्यका लागि टिकट वितरणको प्रणाली परिवर्तन गर्नुपर्ने बताए । अहिलेको टिकट वितरण प्रणालीले असन्तुष्टि बढाएको उनको भनाइ छ ।
सिन्धुपाल्चोकमा महिला संघले राखेको कार्यक्रममा बोल्ने क्रममा महामन्त्री थापाले भने,‘वडाको सभापति छान्ने अधिकार विधानले तपाईहरुलाई दिन्छ । त्यही वडाको अध्यक्षको उम्मेदवार छान्न प¥यो भने तपाईको अधिकार खोसिएर त्यो भन्दा माथि जान्छ ।’
सबै अधिकार जब दाइलाई दिनुहुन्छ भने दाइले टिकट भाउजुलाई नै दिने अवस्था बन्ने थापाले बताए । दाइले भाउजुलाई टिकट दिने अवस्था नबन्नका लागि तल्लो तहलाई नै आफ्ना उम्मेदवार बनाउने अधिकार दिनुपर्ने थापाको तर्क छ ।
‘कुनै क्षेत्रको टिकट बाँड्ने माथि बस्ने दाइले होइन । त्यहीँका पार्टी सदस्यहरुले मतदान गरेर छान्नुपर्दछ,’ महामन्त्री थापाले भने ।
८ लाख ६६ हजार क्रियाशील सदस्य भएको पार्टी अहिले अलि शिथिल भएको देखिनुमा पार्टीभित्र अन्याय र विभेद कारण रहेको उनले सुनाए ।
प्रतिक्रिया 4