२२ भदौ, काठमाडौं । म्यानमार विरुद्ध भइरहेको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा अन्जन विष्ट पेनाल्टीमा गोल गर्न असफल भएका छन् ।
दोस्रो हाफमा प्राप्त पेनाल्टीमा गोल गर्न नसक्दा अन्जन नेपालका लागि सर्वाधिक १३ गोल गर्ने कीर्तिमान बराबरी गर्नबाट चुके ।
हरि खड्का र निराजन रायमाझीले नेपालका लागि १३ गोल गर्दै सर्वाधिक गोल गर्ने कीर्तिमान राखेका थिए ।
अन्जन त्यसको नजिक छन् । अन्जनले नेपालका लागि १२ गोल गरिसकेका छन् ।
म्यानमार विरुद्ध पेनाल्टीमा गोल गरेको भए अन्जनले उक्त कीर्तिमान बराबरी गर्ने थिए । ५८औं मिनेटमा अन्जनकै प्रहार म्यानमारका खेलाडीले हातले रोकेपछि रेफ्रीले नेपाललाई पेनाल्टी दिएका थिए ।
उक्त पेनाल्टी अन्जनले नै प्रहार गरे । तर अन्जनको प्रहार म्यानमारका गोलकिपर क्याव जिन फ्योले बचाए । उनले खुट्टाले पेनाल्टी बचाएका थिए ।
जुनमा भारतमा भएको साफ च्याम्पियनसिपमा कुवेत विरुद्ध पहिलो खेलमा ३-१ ले पराजित हुँदा अन्जनले गोल गर्दै नेपालका लागि गोल संख्या १२ पुर्याएका थिए ।
तर भारत विरुद्धको दोस्रो खेलमा घाइते हुँदै मैदान छाडेका अन्जनले पाकिस्तान विरुद्धको खेल चोटकै कारण गुमाए । त्यसपछि अन्जनले यसै खेलबाट नेपालका लागि पुनरागमन गरेका हुन् ।
प्रतिक्रिया 4