+
+

पर्खाल बनाउने सरकारी बजेटबाट उपभोक्ता समितिका अध्यक्षले गरे ३३ लाख रकम हिनामिना

अमृत चिमरिया अमृत चिमरिया
२०८० भदौ २२ गते २०:२६

२२ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिका–३२ स्थित कोटेश्वरमा रहेको एक उपभोक्ता समितिका अध्यक्षले ३३ लाख रुपैयाँ सरकारी रकम हिनामिना गरेको खुलेको छ । शुभकामना मार्ग टोल सुधार समितिको नाममा उपत्यका विकास प्राधिकरणले दिएको रकम समितिका अध्यक्ष भगवान गिरीले व्यक्तिगत रुपमा खर्च गरेर दुरुपयोग गरेको फेला परेको हो ।

काठमाडौं–३२ स्थित शुभकामना मार्गमा रेटेनिङ वाल (पर्खाल) लगाउनुपर्ने भएपछि सो काम गर्ने जिम्मा प्राधिकरणले शुभकामना टोल सुधार समितिमार्फत बनाउने निर्णय गरेको थियो । सो कामको लागत ४८ लाख १० हजार ७ सय ९१ रुपैयाँ अनुमान गरिएको थियो ।

सोही अनुसार २७ भदौ २०७३ मा समितिसँग निर्माण सम्झौता भएको थियो । र, त्यो काम सोही वर्षको १० मंसिरमा काम सम्पन्न गर्नुपर्ने थियो ।

कुल लागतमध्ये उपत्यका विकास प्राधिकरणले ३६ लाख ९८ हजार नगद र २ लाख १२ हजार रुपैयाँ बराबरको प्राविधिक सहायता उपलब्ध गराउने सहमति भएको थियो । स्थानीयको जनसहभागिताबाट ९ लाख रुपैयाँ खर्च बेहोर्ने तय भएको थियो । प्राधिकरणले बेहोर्ने रकममध्ये ३३ लाख ४५१ रुपैयाँ २८ असोज ०७३ मा उपभोक्ता समितिको कृषि विकास बैंकको खातामा जम्मा गरिएको थियो । सो रकम जम्मा भएपछि टोल सुधार समितिनका अध्यक्ष भगवान गिरीले त्यो सम्पूर्ण रकम पेस्कीका रुपमा आफ्नो खातामा सारेका थिए । तर, एकदमै थोरै क्षेत्रमा मात्रै रिटेनिङ वाल बनाएर बाँकी रकम फर्जी बिल बनाएर दुरुपयोग गरेका थिए ।

उक्त सम्पूर्ण रकम समितिको खाता मार्फत सबै रकम अध्यक्ष भगवान गिरीका खातामा ट्रान्सफर भएको देखिएको छ । गिरीले नक्कली बिल खडा गरी श्रमिकको ज्यालामा १८ लाख २७ हजार रुपैयाँ खर्च भएको विवरण पेश गरेका छन् । त्यस्तै रामेछाप हार्डवेयर सेन्टरमा ५ लाख ७४ हजार १४० रुपैयाँ र बालकुमारी रोडा बिक्री डिपो १३ लाख १८ हजार ७ सय रुपैयाँ भुक्तानी भएको बिल पनि पेश गरेका छन् ।

रकम अपचलन गरेको स्वीकारे तर तिरेनन्

अध्यक्ष भगवान गिरीले सरकारी रकम अपचलन गरेको आफैंले स्वीकार गरेका थिए । टोल सुधार समितिको रकम व्यक्तिगत प्रयोजनका लागि दुरुपयोग गरेको भनेपछि ३२ नम्बर वडा कार्यालयले १० चैत २०७८ मा समितिका पदाधिकारी र गिरीबिच छलफल गराएको थियो । वडाध्यक्ष नवराज पराजुली, वडा सदस्य हिरादेवी पोखरेलसहित बसेर उपत्यका विकास प्राधिकरणबाट प्राप्त रकम दुई किस्ता गरेर वडा कार्यालयमा बुझाउने निर्णय भएको थियो । निर्णयमा भनिएको छ, ‘३३ लाख ४५१ मध्ये पहिलो किस्ता वापत ११ लाख रुपैयाँ २० जेठ २०७९ भित्र र दोस्रो किस्ता वापतको रकम २२ लाख ४५१ रुपैयाँ १५ असारभित्र वडा कार्यालयमा बुझाउने ।’ उक्त निर्णयम गिरीले पनि हस्ताक्षर भने गरेका छन् ।

उनले दुई किस्तामा बुझाउने भनेको रकम अहिलेसम्म पनि बुझाएका छैनन् । काठमाडौं–३२ का वडाध्यक्ष नवराज पराजुलीले वडा कार्यालयले समन्वय गरी गिरीसँग रकम फिर्ता गराउने सहमति गराएको जानकारी दिए । ‘अध्यक्ष र समितिबीच विवाद भएपछि वडा कार्यालयमा हामीले सहमति गराएका थियौं, अध्यक्ष गिरिले सो रकम तिर्छु भन्नुभएको थियो । तर, अहिलेसम्म नतिरेको भन्ने सुनेको छु । रकम तिराउने जिम्मेवारी वडाको होइन, हामीले समन्वय गरेका मात्रै हौं,’ पराजुलीले भने ।

यस्तो समितिको वैधानिकतामा नै प्रश्न उठ्ने ठाउँ देखिएको छ । २०७२ सालदेखि स्थापना भएको टोल सुधार समितिले स्थापना कालदेखि अहिलेसम्म नियमित बैठक र वार्षिक साधारणसभा गरेको देखिँदैन । विधान अनुसार अध्यक्षको कार्यकाल दुई वर्ष मात्रै हुनेछ तर अध्यक्ष गिरीले ८ वर्षदेखि आफैं अध्यक्ष भएर काम गरिरहेका छन् ।

टोल सुधार समितिका सदस्यहरुले २८ साउन ०७७ मा जिल्ला प्रशासन कार्यालय, त्यसअघि २२ साउनमा काठमाडौं उपत्यका विकास प्राधिकरणलाई छानबिनको लागि निवदेन दिएका थिए । यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ६ चैत २०७७, १८ असोज ०७८, २९ मंसिर ०७९ र ५ भदौ ०८० मा उजुरी परेको छ । तर अहिलेसम्म अख्तियारले कुनै छानबिन अगाडि बढाएको छैन ।

अध्यक्ष गिरीले भने आफूले सरकारी रकम भ्रष्टाचार नगरेको बताए । ‘८ वर्षअगाडि गरेको कामको भुक्तानी श्रमिकलाई दिएको हुँ, अहिले पैसा चाहिएपछि भुक्तानी भएको छैन भन्न मिल्छ र ?’ उपभोक्ता समितिका अध्यक्ष रहेका गिरीले अनलाइनखबरसँग भने । उनले आफूले ८ वटा सरकारी निकायलाई यससँग सम्बन्धित सबै कागजातहरु बुझाएको बताए ।

आफ्नो खातामा सरकारी रकम किन सार्नुभयो भन्ने प्रश्नमा उनले उपभोक्ता समितिका सदस्यहरुकै सहमतिमा रकम सारिएको दाबी गरे । वडा कार्यालयमा आफूलाई रकम तिर्न भनेर जबरजस्ती हस्ताक्षर गराएको पनि उनले दाबी गरे । उपत्यका विकास प्राधिकरणसँग गरेको सम्झौता अनुसार काम गरिसकेपछि अहिले विवाद निकालेको उनले बताए ।

‘प्राधिकरणसँग जुन सम्झौता उपभोक्ता समितिले गरेको थियो, सोही अनुसार मैले काम गरेको छु,’ उनले भने । काम गरेर भुक्तानी लिएको भन्दै उनले आफूलाई सुनियोजित रुपमा फसाउन खोजेको समेत बताए ।

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?