+
+
सम्झना :

मेरो स्मृति बिम्बभित्र गुरु सुरेश वाग्ले

डा. ऋषि बस्ताकोटी डा. ऋषि बस्ताकोटी
२०८० भदौ २३ गते १२:५७

जीवनको पाठशालामा थुप्रै गुरुबाट ज्ञान प्राप्त भयो । यो ज्ञान प्राप्त गर्ने क्रम अझै जारी छ । विद्यालयमा पनि धेरै गुरुले पढाउनुभयो । जीवनमा ज्ञान दिने सबै गुरुप्रति सम्मान छ । तर, गुरु भन्नासाथ मूलतः मेरो दिमागमा श्रद्धापूर्वक दुई जना गुरुहरूको बिम्ब आउँछ- सुरेश वाग्ले र माधव मरहट्टा । दुवैले मलाई कक्षा ६ देखि १० सम्म जनता माध्यमिक विद्यालय आँपपिपल गोरखामा पढाउनुभएको हो ।

मेरो बुझाइमा उहाँहरू दुई जना अलि फरक तर परिपूरक हुनुहुन्थ्यो । उहाँहरू जनता माविमा क्रियाशील हुँदा यो विद्यालय गोरखाकै एक उत्कृष्ट विद्यालयमा पर्थ्यो । यो लेखमा एउटा विद्यार्थीको हिसाबले मेरो स्मृति बिम्बभित्रबाट गुरु सुरेश वाग्लेको चित्र प्रस्तुत गर्ने प्रयास गरेको छु ।

गाउँको शारदा प्राथमिक विद्यालयबाट पाँच कक्षा उत्तीर्ण गरेपछि म ६ कक्षामा पढ्नको लागि जनता माविमा भर्ना भएँ । पाँच कक्षा उत्तीर्ण गरेका पाँच जनामध्ये दूरीका हिसाबले नजिक भएकोले धेरै जना लमजुङको अल्काटार पढ्न गए । मैले चाहिं आँपपिपल नै रोजें ।

त्यतिवेला आँपपिपलमा वरपरका प्राथमिक र निम्न माध्यमिक विद्यालयबाट मात्रै होइन ! गोरखा, लमजुङ र तनहुँका विभिन्न ठाउँका विद्यार्थी पनि डेरा गरेर पढ्ने गरी आउँथे ।

गाउँको प्राथमिक विद्यालयमा पाँच कक्षामा पहिलो भएर ६ कक्षामा पढ्न गएको मैले आँपपिपलमा थुप्रै विद्यार्थीसँग पढ्नुपर्ने थियो । एउटै तहमा पनि दुई वा तीन सेक्सन, यो भीडभाडमा हराउँछु झैं लागेको थियो । त्यतिवेला आँपपिपल स्कुलमा नयाँ विद्यार्थी आएपछि को कहाँबाट आयो, कसको पढाइ कस्तो छ, अनुशासनमा कस्तो छ, खुब खोजी हुन्थ्यो ।

सकेसम्म विद्यार्थीको क्षमता र सम्भावनालाई हेरेर समूह विभाजन गरी सिकाउने प्रयास गरिन्थ्यो । कक्षा सुरु भएको केही दिनमै म, कृष्ण मरहट्टा, ईश्वरी सापकोटा, सुरेश वाग्ले, माधव मरहट्टा लगायतका गुरुहरूको ‘नोटिस’ मा परें ।

जनता माविमा हामीलाई आदरणीय सुरेश वाग्ले गुरुले विभिन्न कक्षामा नेपाली, संस्कृत, पञ्चायत तथा नागरिक जीवनलगायत विषयहरू पढाउनुभयो । यसका अतिरिक्त उहाँ प्रधानाध्यापक र सहायक प्रधानाध्यापक सँगसँगै विद्यालय व्यवस्थापनमा पनि सक्रिय हुनुहुन्थ्यो । कलिलो बालमस्तिष्कले त्यतिवेला उहाँलाई बुझ्दा र अहिले त्यसलाई विश्लेषण गरी हेर्दा उहाँ सरल मिजासको तर विहङ्गम दृष्टिकोण भएको मानिस हुनुहुन्थ्यो । उहाँ ज्ञानको असीम सागर हुनुहुन्थ्यो ।

माओवादी जनयुद्धमै रहेको बखत वि.सं. २०५६ भदौ २३ गते आफू निशस्त्र अवस्थामा रहेको वेला निर्ममतापूर्वक उहाँको हत्या भयो । उहाँलाई भेट्ने सपना सदाका लागि सकियो । शहीदको पंक्तिमा लामबद्ध उहाँ अब केवल यादहरूमा बाँच्नुभयो

उहाँ व्यवहारमा सौम्य, शिष्ट तर सोचाइमा गम्भीरता र नवीनता भएको व्यक्ति हुनुहुन्थ्यो । विद्यालय जीवनमा पाएको शिक्षाले मानिसलाई कस्तो सामाजिक चेत भएको नागरिक बनाउँछ भन्नेमा महत्वपूर्ण भूमिका खेल्छ । अहिले आफैंले फर्केर हेर्दा लाग्छ कि आफूलाई बुझ्ने र समाजलाई हेर्ने दृष्टिकोण (वर्ल्ड भ्यू) निर्माण गर्न गुरु सुरेश वाग्लेको मलाई धेरै प्रभाव परेको छ ।

किताबको सहारा लिएर अक्षरशः पाठ घोकाउने अभ्यासको विपरीत वाग्ले सरको पढाउने आफ्नै शैली र कला थियो । उहाँ प्रायः पुस्तकको सहारा नलिई पढाउनुहुन्थ्यो । उहाँको कक्षामा बसेर सुन्दा यति श्रुतिमिठास हुन्थ्यो कि कक्षा नै नसकिए हुने झैं लाग्थ्यो । सुरुमा आज के पढ्दैछौं नै थाहा हँुदैनथ्यो, निकै उत्सुकता बोकेर उहाँको कक्षामा बस्दा समय बितेको पत्तै हुँदैनथ्यो । अन्त्यमा भन्नुहुन्थ्यो, ‘ल आज हामीले यो पाठसँग सम्बन्धित छलफल गर्‍यौं, एकपटक तिमीहरू पुस्तक पढ र कस्तो लाग्छ भोलि भन ।’

उहाँको कक्षामा बस्दा अक्षर-अक्षर कहिल्यै पढिएन, तर बुझ्न बाँकी केही राखिएन झैं लाग्थ्यो । हुन त शिक्षण र सिकाइका आ-आफ्नै तरिका र तिनका सबल र कमजोर पक्ष हुन्छन् । अरू साथीलाई उहाँको शिक्षण विधिको प्रभावकारिता फरक लाग्न सक्छ, मलाई भने औधी मनपर्थ्यो ।

वाल्मीकि संस्कृत महाविद्यालयबाट शास्त्री गर्नुभएका सुरेश वाग्लेको व्याकरण सम्बन्धी ज्ञान पनि निकै राम्रो थियो । व्याकरणका नियमहरू मसिनोसित छर्लङ्ग हुने गरी सिकाउनुहुन्थ्यो । त्यतिवेला मेरा केही साथीहरू भन्थे, ‘सुरेश सरले त बोलेकै भरमा शुद्धाशुद्धि थाहा पाउनुहुन्छ !’ यस्तो लाग्छ, उहाँले सिकाएपछि अप्ठ्यारो भनिने व्याकरणको व्यावहारिक ज्ञान निकै सजिलो हुन्थ्यो ।

चिन्तनमा होस् वा लेखनमा, उहाँको सोच परम्पराभन्दा भिन्न थियो । उहाँको प्रश्न हुन्थ्यो, ‘चिठी लेख्ने वेला किन उपरोक्त सम्बन्धमा भनी लेख्नुपर्‍यो र ?’ माथि विषय नै नखुलाई उपरोक्त सम्बन्धमा लेख्नुभन्दा बरु जे विषय हो, त्यही विषय प्रष्ट पार्नु तर श्राद्धमा बिरालो बाँधेको कथा झैं उपरोक्त सम्बन्धमा नलेखे पनि हुन्छ भन्ने उहाँको तर्क हुन्थ्यो ।

तमसुक लेख्दा ‘लिखितम् धनीका नाम’ भन्दै लम्बेतान व्यहोरा लेख्नुभन्दा कसले किन कहिले कोसँग के उद्देश्यले कति रकम लिएको हो ? को-को साक्षी छन् ? त्यति लेखे भइहाल्यो भन्नुहुन्थ्यो ।

अहिले सोच्दा यस्तो लाग्छ परम्पराको घेराभन्दा बाहिर निस्कने उहाँको यो अभ्यास भित्र नवीन चेत र वर्गीय चिन्तन समेत थियो ।

चालीसको दशकमा अहिलेको जस्तो प्रविधिको पहुँच थिएन । पाठ्यपुस्तक बाहेक पुस्तक र पत्रपत्रिका हाम्रा लागि पहुँचका विषय थिएनन्, तर अचम्मको कुरा विद्यालयमा एउटा सानो पुस्तकालय रहेछ । कसको सक्रियतामा यो पुस्तकालय स्थापना भयो मलाई थाहा छैन । यद्यपि यसमा सुरेश वाग्ले गुरुको ठूलो हात थियो होला भन्ने मेरो अनुमान छ ।

उहाँले हामीलाई पुस्तकालयको प्रयोग गर्न सिकाउनुभयो । पाठ्यपुस्तकका अतिरिक्त अन्य पुस्तकहरू पढ्ने बानी बसालिदिनुभयो । गुरुप्रसाद मैनालीको नासो, पूर्णप्रसाद ब्राहृमणको एघार कथा, पारिजातको पर्खालभित्र र बाहिर, राजेश्वर देवकोटाको उत्सर्ग प्रेम, लीलाबहादुर क्षेत्रीको बसाइँ लगायतका पुस्तकहरू मैले त्यतिवेलै पढेको हुँ ।

यी पुस्तक पढ्दा मेरो बाल मनोविज्ञानमा राम्रै असर पर्‍यो नै । पाठ्यपुस्तकभन्दा बाहिरका यी पुस्तक पढेर शब्दभण्डार बढेको महसुस भयो, लेखनको सीप राम्रो भयो । त्योभन्दा पनि बढी (अहिले सम्झँदा लाग्छ) यी पुस्तकहरूले समाजका सवालहरूलाई बुझ्न एवं न्याय र सत्यको पक्षमा उभिन पनि सिकाए ।

एउटा शिष्यको रूपमा मैले सुरेश वाग्लेबाट सायद धेरै हदसम्म प्रभावित भएर संसारलाई हेर्ने दृष्टिकोण सिकें । सोच्ने तरिका सिकें । बोल्न र लेख्न सिकें । विद्यावारिधि गर्ने वेलामा पनि ‘पोलिटिकल इकोलोजी’ (स्रोतमाथि हुने शक्ति संघर्ष)लाई आफ्नो विषय बनाएँ

सुरेश गुरुले वेला-वेलामा काठमाडौं या गोरखा सदरमुकामबाट फर्किंदा मधुपर्क, गरिमा आदि साहित्यिक पत्रिकाहरू लगेर कक्षामा केही रोचक रचनाहरू सुनाउनुहुन्थ्यो । त्यतिवेला उहाँले सुनाउनुभएको व्यङ्ग्य चेतले भरिएको कालीप्रसाद रिजालको कविताको शैलीले मलाई गद्य कवितामा शैली निर्माण गर्न राम्रै प्रभाव पार्‍यो ।

विवेचनात्मक उत्तर लेख्दा होस् वा सप्रसङ्ग व्याख्या गर्नुपर्दा होस्, उहाँले अलि भिन्न र सिर्जनात्मक शैलीमा लेख्न उत्प्रेरित गर्नुहुन्थ्यो । किताबको किरो बन्नुभन्दा पनि उहाँले विद्यार्थीलाई अलि विहङ्गम दृष्टिले हेर्न र आलोचनात्मक हुन सिकाउनुभयो । यसले पाठ घोकेर न्यूनतम उत्तीर्ण हुनुभन्दा पनि फरक र राम्रो नतिजा ल्याउन मद्दत गर्‍यो । यो ज्ञान र सीप तत्वेलामा परीक्षा उत्तीर्ण गर्न मात्रै होइन, सिङ्गै जीवनको परीक्षामा काम लाग्ने व्यवहारमुखी ज्ञान र सीप भएको छ ।

नेपाली विषयलाई सामान्यतया जति गरे पनि राम्रो अंक नआउने विषयको रूपमा हेरिन्थ्यो । न त विद्यार्थीलाई नै राम्रो अंक आउँछ भन्ने आत्मविश्वास हुन्थ्यो न त शिक्षकहरूलाई नै भाषा विषयमा विज्ञान या अन्य विषयमा जस्तो अंक दिन हुन्छ भन्ने मनोविज्ञान थियो ।

तर सुरेश गुरुको विद्यार्थी हुनुको कारणले मेरो आत्मविश्वास के भयो भने- व्याकरणको विषय जान्यो भने अनि सिर्जनात्मक लेखन कलापूर्ण भयो भने भाषा विषयमा पनि राम्रो अंक ल्याउन सकिन्छ । यो कुरा मैले जिल्ला स्तरीय टेष्ट परीक्षामा प्रमाणित गरें । कापी जाँच्ने गुरुले यो कसको विद्यार्थी रहेछ भनेर खोजी गर्नुभएछ । पछि वन विज्ञानमा प्रमाणपत्र तह प्रथम श्रेणीमा प्रथम हुँदा पनि मेरो प्राप्ताङ्क भाषा विषयमा मेरा सहपाठीको भन्दा निकै माथि थियो । यो लेखन कला र सीप मैले आदरणीय सुरेश वाग्लेबाटै धेरै हदसम्ममा सिकें जस्तो लाग्छ ।

हामी माध्यमिक तहको विद्यार्थी हुँदा वेला-वेलामा जिल्लास्तरीय प्रतियोगिताहरू हुन्थे । कहिले वतृत्वकला, कहिले निबन्ध, कहिले हाजिरीजवाफ भइरहन्थे । हाम्रो विद्यालयबाट भाग लिन जानेहरूमा आफ्नो वेलामा प्रायः म, उमेश मरहट्टा, दिनेश वाग्ले लगायत हुन्थ्यौं । उमेश र दिनेश शिक्षकका छोरा हुनाले मलाई भन्दा सायद तयारीका लागि अलि सजिलो थियो होला । मलाई भने परिवारमा सिकाउने मानिस कोही थिएन ।

विद्यालयमा भने जिल्लास्तरीय प्रतियोगितामा जाँदा सुरेश वाग्ले, लोकनाथ वाग्ले लगायतका गुरुहरूबाट विषयवस्तु अनुसारको प्रशिक्षण पाइन्थ्यो । म अझै सम्झन्छु- बक्राङ, भोगटेनीमा वतृत्वकला प्रतियोगिता हुनेभयो । हाम्रो विद्यालयबाट दिनेश र म छनोट भयौं । हामी आठ कक्षामा पढ्थ्यौं । अन्य विद्यालयका प्रतिस्पर्धी प्रायः नौ र दश कक्षाका हुन्थे । यो प्रतियोगिता अप्रत्यक्ष रूपमा शिक्षकहरूको प्रशिक्षणको प्रतियोगिता पनि रहेछ । मलाई नियमित कक्षा सकिएपछि अतिरिक्त समय दिएर सुरेश गुरुले वतृत्वकलामा बोल्ने कला र विषयवस्तुको ‘प|mेमिङ’ गर्ने तरिका सिकाउनुभयो । आत्मविश्वास बढाइदिनुभयो ।

हामी प्रतियोगितामा दोस्रो भयौं । पछि पछिका प्रतियोगिताहरूमा त म धेरैपटक प्रथम भएको छु । सुरुका दिनमा उहाँले बोल्ने कला यसरी नसिकाएको भए सायद मेरो पछिल्लो समयको सफलता सम्भव हुने थिएन होला ।

आँपपिपलमा एसएलसी दिएपछि पहिलो, दोस्रो हुने एक दुई जना विद्यार्थीलाई नतिजा नआउञ्जेलसम्म केही समय पढाउन दिने चलन थियो । विद्यालय र यो अवसर पाउने विद्यार्थी दुवैलाई यसको फाइदा रहेछ । मैले पनि केही समयका लागि यो अवसर पाएँ । यसले मेरो नेतृत्व विकासमा मद्दत पुग्यो ।

त्यही वेला सुरेश गुरु शिक्षण पेशाबाट अलग भएर तत्कालीन जनमोर्चाका तर्फबाट संसदीय चुनावमा उम्मेदवार बन्नुभयो । उहाँको अनुपस्थितिमा अर्को शिक्षक नआउञ्जेल मैले केही दिन उहाँले पढाइ आएका विषय पनि पढाएँ । मैले पढाउँदा मभन्दा पछिल्लो ब्याचका साथीहरू खुशी नै हुनुभयो ।

आफू पढ्ने वेला त बृहत्तर राजनीतिका कुरा धेरै थाहा भएन, तर पछि बुझ्दै गइयो- उहाँलाई व्यवस्था विरोधी भनेर तत्कालीन सरकारले निकै दुःख दिएको रहेछ । अनेक ठाउँमा सरुवा गर्ने, स्थायी हुन नदिने गरेको रहेछ । आफ्नो निष्ठाका कारण उहाँले कुनै शक्ति केन्ऽसँग कहिल्यै सम्झौता गर्नुभएनछ । राजनीतिक विश्वास आफ्नो ठाउँमा थियो, शिक्षकका रूपमा उहाँले विचारका आधारमा कहिल्यै कसैलाई पक्षपात गर्नुभयो जस्तो लाग्दैन । पेशागत मर्यादालाई उहाँले सदा उच्च राख्नुभयो ।

तत्कालीन जनमोर्चाले संसदीय व्यवस्थाको भण्डाफोर गर्न भनेर चुनावमा भाग लिएको थियो । विकास निर्माण उसको एजेन्डा थिएन । सुरेश वाग्ले गोरखा क्षेत्र नम्बर २ बाट उक्त पार्टीको उम्मेदवार बन्नुभयो ।

संसदीय चुनाव स्वच्छ लोकतान्त्रिक अभ्यास भन्दा पनि भित्र भित्र तिकडमको खेल रहेछ । सुरेश वाग्ले जस्तो सादगी मानिसको लागि सुहाउने खेल होइन रहेछ । उहाँ झिनो मतले पराजित हुनुभयो । माओवादी जनयुद्ध सुरु भएसँगै उहाँ पूर्णकालीन रूपमा सहभागी हुनुभयो । भूमिगतकालमा उहाँसँग प्रत्यक्ष भेट हुन पाएन, तर बारम्बार उहाँका लेखहरू भने पढ्न पाइन्थ्यो ।

२०५४ को स्थानीय चुनावमा देखिएको बेथिति र विसंगतिमाथि उहाँले लेख्नुभएको लेख ‘हेर्नुभो चुनाव, देख्नुभो चुनाव’ मलाई अझै याद छ । माओवादी जनयुद्धमै रहेको बखत वि.सं. २०५६ भदौ २३ गते आफू निशस्त्र अवस्थामा रहेको वेला निर्ममतापूर्वक उहाँको हत्या भयो । उहाँलाई भेट्ने सपना सदाका लागि सकियो । शहीदको पंक्तिमा लामबद्ध उहाँ अब केवल यादहरूमा बाँच्नुभयो ।

एउटा शिष्यको रूपमा मैले सुरेश वाग्लेबाट सायद धेरै हदसम्म प्रभावित भएर संसारलाई हेर्ने दृष्टिकोण सिकें । सोच्ने तरिका सिकें । बोल्न र लेख्न सिकें । विद्यावारिधि गर्ने वेलामा पनि ‘पोलिटिकल इकोलोजी’ (स्रोतमाथि हुने शक्ति संघर्ष)लाई आफ्नो विषय बनाएँ । सुरेश वाग्लेले रोपिदिएको दृष्टिकोण मेरो व्यक्तिगत र प्राज्ञिक जीवनमा झ्यांगिंदै गएको हो झैं लाग्छ ।

एउटा शिष्यका आँखाबाट उहाँलाई हेर्दा र उहाँका राजनीतिक सहयात्रीहरूको मूल्यांकन सुन्दा यस्तो लाग्छ- उहाँ एक निष्ठावान मानिस हो । आफ्नो सिद्धान्त र आदर्शभन्दा बाहिर गएर उहाँले कहिल्यै सम्झौता गर्नुभएन । व्यक्तिगत र पारिवारिक सुखभन्दा देश र दुनियाँको हित नै उहाँको प्राथमिकतामा रहे । आफ्ना समकालीन साथीहरूले आफ्नो ‘कम्र्फट जोन’ छोड्न नसकेका वेलामा पनि उहाँले विचारका लागि निकै जोखिम मोल्नुभयो ।

बेथितिका विरुद्ध उहाँको पातलो शरीर धारिलो विचार इस्पात समान थियो । उहाँ र उहाँ जस्तै निष्ठावान र आदर्श व्यक्तिहरूको निस्वार्थ उत्सर्गले व्यवस्था बदलियो । उहाँहरूको सपना साकार पार्दै अवस्था बदल्नुपर्ने बाटो भने अझै अल्मलिएको छ । यो बाटो पहिल्याउनु उहाँका अनुयायीहरूको कर्तव्य हो ।

(जनता मावि आँपपिपल, गोरखाका पूर्वविद्यार्थी रहेका लेखक हाल नर्थ क्यारोलाइना (अमेरिका) सरकारको वातावरण विभागमा कार्यरत वरिष्ठ वातावरण विज्ञ हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?